Home / Feature Breaking news / प्रदेशसभा स्थापनाकालागि सभामुख देउखुरीमा

प्रदेशसभा स्थापनाकालागि सभामुख देउखुरीमा

दाङ, १४ कार्तिक । लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको छ । प्रदेश सरकार र प्रदेशसभाले सयुक्त रुपमा यो तयारी थालेका हुन् ।

यो तयारीले आगामी दुई महिनापछि हुने प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा सञ्चालन हुने अधिक संम्भावना औल्याइएको छ । स्थायी राजधानीमा हिउदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप शुक्रवार प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलगायतले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन गरेका छन् ।

साथै उनीहरुले स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेशसभा सञ्चालनका लागि उपयुक्त भएको बताए । ‘यदि राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुन सके प्रदेश सभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन स्थायी राजधानीबाटै चलाउन सकिन्छ’–प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने–‘त्यसका लागि भौतिक पूर्वाधारको व्यवस्थापनको प्रकृया तत्कालै थालिनु पर्छ ।’ प्राविधिक शिक्षालयका ३५ वटा भवन छन् भने २८ विघा जग्गा एकै कम्पाउण्डमा छ ।

राप्ती प्राविधिक शिक्षालयको भवन प्रदेशसभाका लागि प्रयोगमा ल्याइए प्राविधिक शिक्षालयलाई देउखुरी गढवाको गोबरडिहामा रहेको सामुदायिक बिद्यालय वा लालमटिया स्थित आदर्श माविमा स्थानान्तरण गर्ने गरी तयारी थालिएको छ ।

शुक्रबार प्रदेशसभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेशसभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्था बारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने छन् ।

यसअघि प्रदेश पूर्वाधार बिकास प्राधिकरणको टोलीले भने स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्था बारे अनुगमन गरिसकेको छ भने प्रदेशका प्रमुख सचिव र अर्थ सचिवले पनि भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*