Home / Feature Breaking news / पुरानै अवस्थामा फर्केला त कोइलाबास ?

पुरानै अवस्थामा फर्केला त कोइलाबास ?

लिलाधर वली

दाङ, २७ असोज । ठूला–ठूला व्यापारीक भवनका भग्नावशेष देखिन्छन् । आधा भत्किएको कोइलावासको तत्कालिन प्रहरी चौकी । पक्की कालोपत्रे सडकको छेउमै भग्नावशेष अवस्थामा रहेको तत्कालि कोइलावास भन्सार कार्यालय । जस्लाई हेर्दा अहिले पनि विगतको कोइलावास नाकाको अनुमानित लगाउन सकिन्छ ।

भन्सार राजश्व उठाउने सवालमै नेपालको सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सार थियो । त्यसपछिको दोस्रो ठूलो नाकाका रुपमा रहेको कोइलाबास नाका । दुई दर्जनजति कर्मचारीलाई भ्याइँ–नभ्याइँ हुन्थ्यो, कोइलाबास भन्सारमा ।

तर अहिले तीनजना मात्रै भन्सार कर्मचारी छन् । अधिकृतस्तरका कर्मचारीले सम्हालको त्यो भन्सार नाका फेरि व्यूँझेला ? होला त त्यतिबेलाको कोइलाबास ? यही दोधारमा छन्, कोइलाबासबासीहरु । यद्यपि हुलाकी पक्की सडकमार्गले छोएपछि भने कोइलाबासको आशा फेरि बौरिएको छ ।

अजम्वरीलगायतका झारहरुले ढाकेर भग्नावशेष अवस्थामा पुगेको कोइलावास नाकामा पक्की सडक पुगेपछि कोइलावासमा चलह–पहल केही बढेको छ । दिउँसो एक्लै हिँड्नै डराउनुपर्ने अवस्थामा पुगेको कोइलावासमा मानिसहरुको चहल–पहल बढेसँगै कोइलावासमा पक्की घरहरुसमेत निर्माण हुन थालेका छन् ।

जसले गर्दा नेपाल–भारत सीमा नाकाको मुख्य नाकाका रुपमा रहेको कोइलावास क्षेत्रमा विस्तारै चहल–पहल बढ्न थालेको छ । राप्तीद्वारका रुपमा रहेको कोइलावास नाका पुग्नका लागि लमही–कोइलावास सडकअन्तर्गत रहेको ३४ किलोमिटर सडक फराकिलोसँगै कालोपत्रे भएपछि कोइलावासमा जान आउन सहज भएको बनेको छ ।

करिब ३५–४० बर्ष पहिले व्यावसायिक दृष्टिले नेपालकै प्रमुख नाकाहरुमध्येका रुपमा गनिन्थ्यो । त्यो समयमा कोइलावास नाकामा राम्रै राजश्वसमेत संकलन हुने गरेको थियो ।

तर कोइलावास नाका जोड्ने गढवा–कोइलावास सडकको स्तरोन्नति नहुनका साथै कोइलावास नाकाको विकल्पका रुपमा रुपन्देहीको कृष्णनगर र बाँकेको रुपैडियामा नाका सञ्चालनमा आएसँगै कोइलावास नाका ओझेलमा पर्दै गयो । विकल्पका रुपमा खुलेका अन्य नाकाहरु सहजसँगै उक्त क्षेत्रमा राम्रो व्यवसाय हुन थालेपछि कोइलावास क्षेत्रमा रहेका व्यवसायीहरुले विस्तारै–विस्तारै बसाई सार्दै गए ।

त्यहीमध्येका कतिपय व्यवसायीहरु लमही, घोराही र तुलसीपुरसम्म आए । त्यसैमा सरकार–माओवादीबीच चलेको दश बर्षीय सशस्त्र द्वन्द्वका क्रममा कोइलावासमा भएका सरकारी कार्यालयहरु पनि हटेपछि एक समय कोइलावास सुनसानजस्तै भएको कोइलावासमा होटल व्यवसाय गर्दै आएका लल्लु कुरेसी बताउँछन् । समग्रमा पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै कोइलाबास नाका विस्तारै सुक्न थालेको हो ।

व्यापार व्यवसाय पनि नहुने र त्यसैमा भएका सरकारी कार्यालयहरु पनि हटेपछि कोइलावासमा बस्दै आएका मानिसहरुले घर छोड्दै अन्यत्र जाने गरेको उनी सम्झन्छन । ‘यहाँ बस्दै आएका मानिसहरुले घर छाड्दै जान थाले, जान नसक्नेहरु मात्र यहाँ बस्ने अवस्था आएको थियो’, ६५ बर्षीय कुरेसीले भने– ‘त्यो समय यो ठाउँमा दिउँसो हिँड्डुल गर्न पनि डराउने जस्तो देखिन्थ्यो, तर अहिले फेरि विस्तारै कोइलावास परिवर्तन हुँदै आएको छ ।’

पहिले कोइलावासमा भएका ठूला–ठूला संरचनाहरु भत्किएर खण्डरजस्तै भए पनि अहिले पिच भएको सडक, गाउँमै आएको विद्युत, सञ्चारसँगै पछिल्लो समय बढेको चहल–पहलले कोइलावासलाई पुरानै अवस्थामा फर्काउँछ कि भन्नेजस्तो लाग्ने गरेको उनी बताउँछन् । कोइलावासमा रहेको रामजानकी मन्दिरका साथै पहाडी क्षेत्रमा हेर्नका लागि मानिसहरु आउने गरेको उनले बताए ।

उनको जस्तै अनुभव छ हकिम सिद्धिकीको पनि । उनी पछिल्लो समय कोइलावासमा भएको विकाससँगै कोइलावास–लमही सडकखण्ड पक्की भएपछि खण्डर अवस्थामा पुगेको कोइलावास पुरानै अवस्थामा फर्कन्छ कि भन्नेमा आशमा छन् ।

‘कोइलावासको मुख्य समस्याका रुपमा रहेको लमही–कोइलावास सडक कालोपत्रे भएपछि अहिले कोइलावास आउने मानिसहरु बढेका छन्’, सिद्धिकीले भने– ‘जसले गर्दा आजभोलि कोइलावासमा दिनहुँ चहल–पहल हुने गरेको छ ।’

नेपालको पुरानो नाकाका रुपमा रहेको कोइलावास नाकासँगै यहाँ प्राकृतिक, सांस्कृतिकसँगै भौगोलिक अवस्था हेर्नका लागि मानिसहरु आउने गरेको उनले बताए । नेपालकै दोश्रो ठूलो रामजानकी मन्दिर, झोलुङ्गे पुलसँगै पहाडी क्षेत्रमा अवलोकनका लागि नेपाल तथा भारतबाट मानिसहरु आउने गरेको उनले बताए ।

कोरोना भाइरस नेपालमा प्रवेश नगर्दासम्म भारततिरबाट पनि धेरै मानिसहरु आउने गरे पनि कोरोना भाइरसका कारण भारतले नाकाबन्द गरेका कारण अहिले भारतबाट मानिसहरु आउन नपाएको उनले बताए । ‘लकडाउनअघि नेपालतिरबाट भन्दा भारतीय मानिसहरु धेरै कोइलावास घुम्न आउने गरेका थिए’, उनले भने– ‘तर लकडाउनका कारण सिमानाका बन्द भएपछि भारतबाट मानिसहरु आउन बन्द रहेकोसमेत उनले बताए ।

कोइलावासमा चहल–पहलसँगै लामो समयदेखि सुनसानजस्तै भएको नाका फेरि पुरानै अवस्थामा फर्कने आशामा रहेका उनी बताउँछन् । ‘सडक निर्माणसँगै यहाँ चहल–पहल हुन थालेपछि कोइलावासमा सम्पत्ति भएका मानिसहरु आएर आफू बसेको ठाउँ हेर्न आउने गरेका छन्’, उनले भने– ‘कोइलावासमा चहल–पहल बढ्न थालेपछि यहाँबाट छोडेर गएका मानिसहरु आउन सक्छन् ?’

कोइलावास नाका पुग्ने मुख्य सडकका रुपमा रहेको लमही–कोइलावास सडक कालोपत्रेसँगै व्यापारिकरुपले नाका सञ्चालन हुन सके उनीहरु जस्तै धेरै कोइलावासका मानिसहरु कोइलावास पुरानै अवस्थामा फर्कन्छ कि भन्ने आशामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*