Home / Feature Breaking news / पर्व सुरक्षा योजना : यौनजन्य हिंसा रोक्न ‘सेफ्टी पिन’

पर्व सुरक्षा योजना : यौनजन्य हिंसा रोक्न ‘सेफ्टी पिन’

काठमाडौँ — महानगरीय प्रहरी कार्यालयले महिला/बालबालिकामाथि हुने यौनजन्य हिंसा र दुर्व्यवहार नियन्त्रण गर्न उपत्यकाका तीनवटै जिल्लामा ‘सेफ्टी पिन अभियान’ अन्तर्गत सादा पोसाकका प्रहरीलाई सक्रिय बनाएको छ ।

बलात्कार र महिला हिंसाजन्य अपराधका घटना एकपछि अर्को सार्वजनिक हुन थालेपछि प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई ठाउँको ठाउँ पक्रन यस्तो अभियान चलाएको हो । अभियानअन्तर्गत बढी भीडभाड हुने र एकान्त स्थलहरूमा महिला प्रहरी अधिकृतको नेतृत्वमा सादा पोसाकका प्रहरी खटाइएको छ । सार्वजनिक सवारीसाधनमा हुने भीडभाडदेखि रुख/झाडीका छेउछाउ, सार्वजनिक स्थल, पैदल र सवारी रुटलाई केन्द्रित गरेर प्रहरी परिचालन गरिएको छ ।

पछिल्लो पटक भक्तपुरमा एक युवतीमाथि बसभित्रै बलात्कारको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अभियान चलाएको हो । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले औपचारिक रुपमा सुरु गरेको यो अभियानअन्तर्गत सार्वजनिक सवारी, पार्क, मन्दिरलगायत स्थानमा सर्वसाधारणसँगै सादा पोशाकका प्रहरी सहभागी हुनेछन् । त्यसक्रममा कसैले अवाञ्छित गतिविधि गरे तत्कालै पक्राउ गरिनेछ । यो अभियानअन्तर्गत यौनजन्य हिंसाका अलावा आर्थिक गतिविधि हुने स्थानहरूमा पनि यो अभियान चलाइएको छ । दिनदहाडै हुने लुटपाटका घटना नियन्त्रणमा पनि सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । सुपरमार्केट, वित्तीय संस्था, भीडभाड हुने स्थलमा यस्तो टोलीलाई छड्के रुपमा खटाइएको छ ।

दसैं/तिहार, छठ, नेपाल सम्बतलगायत प्रमुख चाडपर्व नजिकिएसँगै उपत्यका भित्रिने नाकासहित बस बिसौनी, टिकट काउन्टर, बैंक/बित्तीय संस्था, एटिएम बुथ, सपिङ सेन्टर, मुख्य तथा सहायक मार्ग, मन्दिरलगायत शक्तिपीठ, बजारलगायत मानिसको भीडभाड बढी हुने क्षेत्रलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीले आ–आफ्ना क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरेका छन् । चाडपर्व नजिकिएसँगै उपत्यकाबाट स्थायी थातथलो जानेको चाप दैनिक १८ देखि २२ हजारसम्म छ । त्यतिमात्र होइन, राजधानी भित्रिनेको चाप पनि दैनिक १५ हजारभन्दा माथि छ । बस छुट्ने स्थान र टिकट काउन्टरमा भीडभाड बाक्लिँदै गएको छ ।

महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनुसार पर्व सुरक्षा योजना ६६ स्थानमा चेकप्वाइन्ट राखेर निगरानी थालिएको बताए । यस्तै कलंकी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, बल्खु, जोरपाटीलगायत १४ स्थानमा स्थानीय प्रहरी, टोलसुधार समिति, ट्राफिक, यातायातका प्रतिनिधि रहने गरी नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलगायत अपराध नियन्त्रण गर्न महाशाखाले पीडित सहायता युनिट (भीएसयु) बाट सादा पोशाकका जनशक्ति चोकचोकमा परिचालन गरेको छ । कोरोना महामारीका कारण सिट क्षमताको आधा मात्रै यात्रु बोक्नुपर्ने नियम सरकारले ल्याएको छ । यसको पालना भए/नभएकोमा पनि कडा अनुगमन भइरहेको महाशाखाले जनाएको छ ।

‘चाडपर्व नजिकिएसँगै आमनागरिकको चहलपहल पनि त्यहीअनुसार बढेको छ, उपत्यका भित्रिने र बाहिरिनेको चाप पनि क्रमिक रुपमा बढ्दो क्रममै देखिन्छ,’ एसएसपी ढकालले भने, ‘यसलाई मध्यनजर गरेर टिकटमा हुने कालोबजारी नियन्त्रण, मादक पदार्थ सेवन गरे/नगरेको जाँचदेखि लामो दूरीका सवारीमा अनिवार्य रुपमा दुईजना चालक राख्नुपर्ने व्यवस्था पालना भए/नभएको अनुगमन तथा निगरानी राख्न सादा पोसाकसहितका ट्राफिकलाई विशेष रुपमा परिचालन गरेका छौं ।’ टिकट काउन्टरमा बसेका कर्मचारीलाई अनिवार्य रुपमा परिचयपत्र बोक्न पनि ट्राफिक प्रहरीले निर्देशन दिएको छ । पछिल्लो एक साताको अवधिमा काठमाडौं प्रहरीले ९७ जनालाई बिचौलिया र ठगी कसुरमा पक्राउ गरेको छ । यो अवधिमा बढी भाडा असुल्ने एक दर्जनभन्दा बढी काउन्टरका सञ्चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सबारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन उनले सर्वसाधारणसँग अपील गरे । पर्व सुरक्षालाई ध्यानमा राखेर महानगरीय प्रहरी परिसर काठमाडौंले चोरी, डकैती र लुटपाट, सांघातिक आक्रमण, सबारी भाडामा ठगीलगायतका अपराध नियन्त्रण गर्न ३ हजार ७ सयभन्दा बढी सुरक्षाकर्मीलाई नियमित गस्ती, मोबाइल गस्ती र आवश्यकताअनुसार सादा पोशाकमा परिचालन गरेको छ । सुनचाँदी पसल, बैंक/बित्तीय संस्था तथा सडकमा ओहोरदोहोर गर्ने नागरिकको सुरक्षाका लागि काठमाडौं परिसरले सादा पोसाकका सुरक्षाकर्मीको तैनाथी बाक्लो बनाएको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । टिकट काउन्टरमा दलाली गर्ने ९७ जनालाई परिसरले एक साताको अवधिमा पक्राउ गरेको छ ।

‘चाडपर्वमा आर्थिक अपराधका घटना बढी हुने जोखिम रहन्छ, त्यसलाई मध्यनजर गरेर बढी जोखिम भएका स्थानमा नियमित सुरक्षाबाहेक सादा पोशाकका जनशक्तिलाई पनि खटाएर निगरानी बढाएका छौं,’ एसएसपी ज्ञवालीले भने । उनका अनुसार काठमाडौं प्रहरीले एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा सुरक्षा योजना कार्यान्वयन भए/नभएको निगरानी र अनुगमन गर्न तथा डीएसपी सुधीर शाहीलाई कार्ययोजना लागू गर्ने सम्बन्धमा अन्य युनिटसँग समन्वयका लागि फोकल पर्सन तोकेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पर्वका बेला अपराधजन्य गतिविधि रोक्न नियमितबाहेक करिब ७ सयभन्दा बढी प्रहरीलाई विभिन्न जिम्मेवारी दिएर खटाइएको बताए । एसएसपी राईले बैंक/बित्तीय संस्था, सुनचाँदी व्यवसायी र सपिङ सेन्टरका प्रतिनिधिलगायतलाई जोखिमका बेला अपनाउनुपर्ने सुरक्षा सावधानी अपनाउन भनिएको बताए ।

‘कोरोना महामारीका कारण सबैले मास्क लगाउने भएर अपराधीको पहिचान गर्न पनि अरु बेलाभन्दा केही कठिन हुनसक्छ, हामी आफ्नो जिम्मेवारी त निर्वाह गरिहाल्छौं,’ राईले भने, ‘यसका अलावा किनमेल, बैंकिङ कारोबार, सुनचाँदी व्यवसायजस्ता काममा स्वयं नै बढी चनाखो हुनुपर्छ, यस्तो बेला कस्तो किसिमको सुरक्षा उपाय अपनाउने भन्ने कुरा सम्वन्धित व्यक्ति वा कारोबार गर्ने संस्था पनि उत्तिकै सावधानी हुन जरुरी छ, कोही/कसैका गतिविधि शंकास्पद लागेमा तुरुन्तै प्रहरीमा खबर गर्न आग्रह गरेका पनि छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*