Home / Feature Breaking news / नेतृत्व,क्षमता विकाससँगै सामाजिक सेवा जेसीजको मुख्य लक्ष्य हो : अध्यक्ष भुसाल

नेतृत्व,क्षमता विकाससँगै सामाजिक सेवा जेसीजको मुख्य लक्ष्य हो : अध्यक्ष भुसाल

 

दाङ महिला जेसीज यतिवेला सप्ताहव्यापी कार्यक्रममा रहेको छ । महिलाहरुको नेतृत्व,क्षमता विकाससँगै विभिन्न सामाजिक कार्य गर्दै आएको महिला जेसीजले अहिले सप्ताहव्यापी कार्यक्रम संचालनका क्रममा रहेको छ । यसअघि महिला जेसीजले हरेक बर्ष बैशाखमा अभियान चलाउँदै आएकोमा यसबर्ष कोरोनाको कहरका कारणले गर्दा असोजको १८ गतेदेखि शुरु गरिएको छ । दाङ महिला जेसीजले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रम र महिला जेसीजको उद्देश्यमा रहेर पत्रकार बिमला घर्तीले दाङ महिला जेसीजका अध्यक्ष जीवा भुसालसंग गरेको कुराकानीको संम्पादित अंश ..

दाङ महिला जेसीज कस्तो संस्था हो ?

दाङ महिला जेसीज भनेको १८ बर्षदेखि ४० बर्षसम्मका युवाले नेतृत्व गर्ने संस्था हो । महिला जेसीजमा रहेर महिलाहरुले आफ्नो व्यक्तित्व विकासका साथै नेतृत्व गर्ने क्षमताको विकास गर्नुहुन्छ । यसका साथै यो सामाजिक संस्था हो । समाजलाई समुन्नत बनाउन महिला जेसीजले भूमीका खेल्छ । यो सन् २००८ मा स्थापना गरिएको हो ।

महिला जेसीजले खासगरी के काम गर्ने गरेको छ ?

सामाजिक कामको साथ युवाहरुको क्षमता विकासको लागि काम गर्ने गरेको छ । क्षमता विकास भन्नाले विभिन्न किसिमका तालिमहरु समय समयमा संचालन गर्ने गरेका छौँ । बिभिन्न क्षेत्रमा स्थापित हुनका लागि क्षमताको आवश्यकता पर्छ, नेतृत्व गर्ने क्षमताको आवश्यकता पर्छ । त्यो क्षमताको विकास गर्ने काम महिला जेसीजले गर्छ ।

यसमा कस्ता महिलाहरु सहभागि हुन पाउछन् ?

महिला जेसीजमा १८ बर्षदेखि ४० बर्ष उमेरका युवाहरु सहभागि हुन पाउनुहुन्छ । यसमा उमेरको हदबन्दी बाहेक अरु कुनै योग्यता अथवा मापदण्डको तोकिएको हुँदैन् ।

तपाईको कार्यकाल कहिलेबाट सुरु भयो ?

जेसीज कार्यकाल एक बर्षको हुने गर्छ । र,यो अग्रेजी महिना जनवरीवाट सुरु हुन्छ भने डिसेम्बरमा सकिन्छ । मेरो कार्यकाल यो चलिरहेको बर्ष २०२० का लागि हो ।

कार्यकाल सुरु भएपछि के–के काम गर्नुभयो ?

कार्यकालमा बिभिन्न सामाजिक काम भएका छन् । जेसीज नेतृत्व सुरु भएसंगै एक बर्षका लागि कार्ययोजना बनेका हुन्छन् । ती कार्ययोजना अनुसारका काम गर्नुपर्छ । मेरो कार्यकालमा कार्ययोजनासंगै कार्ययोजना बाहिरका काम समेत भएका छन् ।

कार्यकाल सुरु भएको महिना जनवरीमा घोराही–१३ स्थित बराह क्षेत्रमा लाग्ने मेलामा स्वास्थ्य शिविर संचालन गरियो । यो प्रत्येक बर्ष गर्दे आएको कार्यक्रम हो । जेसीज सेवा त्यहीवाट सुरु हुने गरेको छ भन्दा पनि हुन्छ । त्यसपछि दाङ भ्याली क्याम्पस, तथा बराह क्षेत्र बनगाउँ स्कुलमा लागु औषध दुर्वेसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरियो ।

परिवर्तनका लागि युवा नेतृत्व विकास भन्ने शिर्षकमा अन्तर्रक्रिया कार्यक्रम, नारी दिवसको अवसरमा दुई जना मजदुर, दलित जनजातिका जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम, घोराही ८ मा कोभिडको समयमा सचेतनामुलक ब्यानर स्थापना, मास्क वितरण गर्ने काम भए ।

यसका साथै बेलुवामा ३४ विपन्न परिवारका लागि ७० हजार रुपैँया बरावरको खाद्यान्न वितरण, मातातिर्थ औँसीका दिन घोराही स्थित बृद्धाश्रममा १५ बोरा चामल, १५ केजी दाल, २० लिटर तेल, ५० केजी नुन लगायतका खाद्यान्न सहयोग गर्ने काम भयो ।

लकडाउनका समयमा ४६ वटा संस्थालाई मल्टी च्याप्टर तालिम प्रदान गरिम । जसमा ३ सय ५६ जना सहभागि हुनुभएको थियो । यो एकदमै प्रभावकारी भयो । साथै रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, सुचनाको हक समबन्धि तालिम, बिद्यार्थीलाई उत्प्रेरित गर्ने काम भए । यीसंगै अन्य धेरै कार्यक्रमहरु भएका छन् ।

महिला जेसीजका बिभिन्न कार्यक्रम संचालन गर्नका लागि आयस्रोत कहाँबाट जुटाउनुहुन्छ ?

जेसीजका गतिबिधि तथा क्रियाकलाप गर्नका लागि सबै सौजन्य तथा सहयोगवाट खर्च जुटाइन्छ । यसका साथै आवश्यकताका समयमा संस्था भित्रका पदाधिकारीवाट पनि आफै संकलन गरेर काम गर्ने गरेका छौँ ।

कार्यकालमा गरिएका काम मध्ये कुन काम गर्दा सन्तुष्टि मिल्यो ?

कार्यकालमा भएका सबै कामहरु महत्वपुर्ण थिए । कार्यक्रमहरु आवश्यक थिए । तर कोभिडका कारण भएको लकडाउनका समयमा भने विपन्न बर्गलाई खाद्यान्न लगायतका सामग्री सहयोग गर्न पाउदा अत्यन्तै खुसी लागेको थियो । काम गरी खाने विपन्न बर्गका परिवारहरुको छाक बस्ने स्थिति थियो । यो समयमा उहाँहरुको घरमा चुलो बाल्नका लागि सहयोग गर्न पाउदा खुसी लाग्यो ।

बाँकी कार्यकालमा के काम गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ?

महिला जेसीज एउटा सिक्ने ठाउँ हो । निखारता ल्याउने ठाउँ हो । पदाधिकारी निर्वाचित भएसंगै कार्ययोजना बनाउने गरिन्छ । त्यही कार्ययोजना अनुसारका काम गर्ने हो ।

तर यसपटक मेरो कार्यकालमा कोभिडका कारण कार्ययोजना बाहेकका काम तथा क्रियाकलाप पनि भए । यसमा अवसर र चुनौती दुवै थियो । मेरा लागि अवसरको कुरा पनि थियो । अव दुई महिना बाँकी रहेको छ । यो समयमा कार्ययोजना अनुसारका सामाजिक तथा नेतृत्व विकास सम्बन्धि काम गर्ने योजना छ ।

तपाईको कार्यकालमा कुन काम गर्दा अलि अप्ठ्रो महशुस भयो ?

काम सबै अप्ठ्यरा हुन्छन्, सजिला हुँदैनन् । तर काम रमाएर गर्ने हो, रमाएर गर्ने हो, केही सिक्ने आँटका साथ काम गर्ने हो । सबैको सहयोग तथा सहकार्यले मेरो कार्यकालका कामहरु सहज तरिकाले भए ।

तर कोभिडको समयमा राहात वितरणको कुरामा केही अप्ठ्रो लागेको थियो । त्रिभुवन नगर जेसीज लगायतका अन्य जेसीजले राहत बाड्नुभएको थियो । हाम्रो पनि योजना थियो । तर कसरी गर्ने भन्ने थियो । रकम थिएन, रकम विना राहात बाड्ने कुरा संभव थिएन् ।

तर पछि सहयोगका लागि बिभिन्न व्यक्तिहरुलाई आग्रह गरियो । उहाँहरुको सहयोगले राहत वितरणको काम भयो । यसमा चुनौती थियो । तर पछि वितरण भैसकेपछि भने खुसी लाग्यो ।

संस्था चलाउन कति गाह्रो रहेछ ?

कुरा गर्न सजिलो हुन्छ । तर काम गर्न गाह्रो हुन्छ । एउटा संस्था चलाउन समन्वयको आवश्यकता पर्छ । सबैको सहयोग तथा समन्वयका कारणले गर्दा मलाई संस्था चलाउन त्यती गाह्रो लागेन् । आफ्नो जिम्मेवारी पुरा गर्ने हो ।

संस्था हामि सबैको हो भन्ने महशुस हुनुपर्छ । एउटाले राम्रो काम गरेको अवस्थामा राम्रो गर्नुभयो भन्ने र नराम्रो भएको अवस्थामा सच्चिनका लागि सुझाव दिनपर्छ । अपनत्वको महशुस र इमान्दारीता भए संस्था चलाउन गाह्रो रहेनछ ।

महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरर्गत के कार्यक्रम भए ?

दाङ महिला जेसीजले हरेक वर्ष जस्तै यस वर्षपनि सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । एक साताभरका लागि बिभिन्न कार्यक्रमहरुको तय गरिएको थियो । त्यही अनुसारका कार्यक्रम भएका छन् । भने हुन बाँकी रहेका छन् ।

अहिले सम्म जेसीजले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन १८ गते आइतवार सामुदायिक वन महासंघको हल भएको जग्गामा वृक्षारोपण कार्यक्रम गरि सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको छ । त्यसैगरि दोश्रो दिन १९ गते घोराहीमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम, २० गते घोराही उपमहानगरपालिकामा शारिरीक अपाङ्ग तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यक्रम सम्पन्न भएका छन् ।

अब के–के कार्यक्रम गर्न बाँकी रहेका छन् ?

सप्ताहव्यापी कार्यक्रम अन्तर्रगत २१ गते घोराही–१५ मा रहेको घरेलु तथा तरकारी विक्री केन्द्र स्थित अमृत टोलमा सामाजिक मनोपरामर्श तथा निशुल्क मास्क वितरण गर्ने कार्य गरिसकेका छौ ।

अव २२ गते दाङ महिला जेसीजको सचिवालयमा सन्देशमुलक साहित्यिक रचना वाचन, २३ गते प्लाष्टिकका झोलाहरु हटाउने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले घोराही उपमहानगरपालिका वडा नं. १७ को वडा कार्यालयमा सीपमुलक सपिङ व्याग बनाउने तालिम गर्ने र २४ गते घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रमको समापन गर्ने कार्यक्रमहरु रहेका छन् ।

जेसीजलाई महंगो संस्थाका रुपमा मानिन्छ । महिलाहरुलाई सजिलो त पक्कै छैन् होला ?

बुझइमा फरक पर्छ, जेसीज महंगो संस्था होइन । समाजमा चिनिने मौका जेसीजले प्रदान गर्छ । जेसीजमा लागि सकेपछि व्यक्तिलाई फाइदा हुन्छ । व्यक्तिको नेतृत्व गर्ने क्षमताको विकास हुन्छ । भने सबै संग समन्वय गर्ने क्षमताको विकास हुन्छ ।

दाङ महिला जेसीजमा जिल्ला भरका महिला आवद्ध हुन सकिन्छ ?

हजुर महिला जेसीजमा जिल्ला भरका महिलाहरु आवद्ध हुन सक्नुहुन्छ ।

जिल्लाका अन्य जेसीज संस्थासंग कस्तो सम्बन्ध छ ?

महिला जेसीजको अन्य जेसीज संस्था संग आत्मिय सम्बन्ध रहेको छ । विभिन्न कार्यक्रमहरु गर्दाका समयमा सबै संग समन्वय गरेर कार्यक्रम तथा क्रियाकलाप हरु गर्ने गरेका छौँ । जेसीज भनेको आत्मियता बढाउने संस्था हो ।

अन्त्यमा केही भन्नु छ ?

धेरै धेरै धन्यवाद । हामिलाई जिल्लाको पत्रपत्रिका तथा संचार संस्थावाट धेरै सहयोग मिलेको छ । बिभिन्न कार्यक्रम गर्दाका समयमा संचार संस्थावाट सहयोग गर्नुहुन्छ । हामिले काम गर्छाे त्यो बिषयमा प्रचार गरिदिनुहुन्छ । यसले हामिलाई हौसला प्रदान गर्ने काम गरेको छ ।  तपाईहरुलाई धेरैधेरै धन्यवाद आउदा दिनहरुमा पनि सहयोगको अपेक्षा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*