Home / Feature Breaking news / सम्बन्ध नवीकरणमा दाङ कांग्रेस

सम्बन्ध नवीकरणमा दाङ कांग्रेस

संक्राम (तुलसीपुर), १४ असोज । नेपाली कांग्रेस दाङले सम्बन्ध नवीकरण अभियानका क्रममा मंगलवार तुलसीपुर उपमहानगरपालिका–१९ को संक्राममा पार्टी कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१९ इकाई समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले पार्टीलाई मजबुत बनाउन भावनात्मक एकताको आवश्यकता औंल्याएका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले प्राविधिक कारणले नेपाली कांग्रेसले गएको निर्वाचनमा हार भोग्नुपरेको औल्याउँदै विगतको अवस्थालाई समीक्षा गरेर संगठनलाई बलियो बनाउन सबै नेता कार्यकर्ताहरु लाग्नुपर्ने बताएका छन् ।

‘विगतमा जसले हामीलाई मत दिएनन्, उनीहरुलाई पनि आफ्नो पक्षमा तानेर इमान्दारिताको राजनीति गर्नुपर्ने अवस्था आएको छ’, कार्यकर्तालाई सम्बोधन गर्दै सभापति खड्काले भने– ‘एकले अर्काको खुट्टा तान्ने प्रबृत्तिको अन्त गर्न आवश्यक छ ।’ साथै उनले कांग्रेसविना समावेशिता र समानुपातिक विकास असम्भव भएको बताउँदै वर्तमान सरकार भ्रष्टाचार र निरंकुशताको पराकाष्ठा भएको बताए । हरेक क्षेत्रमा कांग्रेसका पराजित उम्मेदवारहरुले नेकपा सरकारले गरेका अनियमितताको भण्डाफोर गर्न पनि उनको सुझाव थियो ।

कार्यक्रममा प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति तथा विशिष्ट अतिथि डिल्लीबहादुर चौधरीले पद पाएपछि नजिक र पद नपाउँदैमा कांग्रेसको आदर्श र सिद्धान्तबाट टाढा रहने प्रवृत्ति त्याग्न पनि कार्यकर्तालाई सुझाव दिए । नेपाली कांग्रेस दलित, आदिवासी, जनजातिलगायत सबै जातजाति अटाउने पार्टी भएकाले सबैलाई सम्मान गर्ने नेपाली कांग्रेसको आदर्शमा आउन पनि उनको आग्रह थियो ।

‘यो एकले अर्काको खुट्टा तान्ने समय होइन, आत्मीयता बढाउने समय हो, त्यसैले विकास निर्माणका हरेक क्षेत्रमा अनियमितता भएको छ भने तपाईहरुले खवरदारी गर्नुस्’, चौधरीले भने । ‘हामीले बहुमत नल्याए पनि संसदमा विकासका मुद्दामा सधै बहस गरिरहने भन्दै यहाँ भएका समस्यालाई बताइदिनुहोला, बजेटका लागि हामीले सहजीकरण गर्नेछौं’, चौधरीले भने । अरु बेला आफूहरुलाई जति गाली गरे पनि मत दिने बेला माया गरेर पार्टीले टिकट दिएका उम्मेदवारलाई विजयी बनाउन पनि उनको आग्रह थियो ।

सम्बन्ध नवीकरण कार्यक्रममा अर्का विशिष्ट अतिथि तथा संविधानसभा सदस्य राजु खनालले विगतमा भएको जीत–हारको अवस्थालाई बिर्सेर राष्ट्र, राष्ट्रियता र विकास निर्माणका मुद्दालाई अघि बढाउन पनि कांग्रेसका तल्लो तहदेखि माथिल्लो तहसम्म लाग्नुपर्ने बताए ।

‘यो सरकार स्थानीय तहदेखि केन्द्रीय तहसम्मै नीतिगत भ्रष्टाचारमा लागिरहेको छ, सबै तहमा भए÷गरेका अनियमितताका विषयमा सामूहिक रुपमा भण्डाफोर गर्दै जनतामाझ जाऔं’, विशिष्ट अतिथि खनालले भने । उनले अबको निर्वाचनमा कांग्रेस बलियो बन्ने आधार नेकपा सरकार आफैले जुटाइदिएको उल्लेख गर्दै विकास निर्माणका मुद्दा सम्बोधन गर्ने र जनताको जनजीवन उकास्न कांग्रेसको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका–१९ का इकाई सभापति नरबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति भूपबहादुर डाँगी, निर्वाचन क्षेत्र २ ख का सभापति कमल गौतम, क्षेत्रीय सदस्य होमबहादुर शेरचन, सल्लाहकार रामकुमार डाँगी, शिक्षक संघका सूर्यबहादुर बस्नेत, साविक बिजौरी इकाई सभापति हिमबहादुर डाँगी, महिला नेतृ देवा डाँगी, क्षेत्रीय प्रतिनिधि विनोद बस्नेत, भर्खरै नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका चन्द्रबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्षका प्रत्यासी पदमबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण साविक बिजौरी इकाई सचिव रविराज गौतमले गरेका थिए । कार्यक्रममा स्थानीय युवा नेता चन्द्रबहादुर खड्काको नेतृत्वमा आधा दर्जन बढी युवाहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*