Home / Feature Breaking news / बंगुर पालेरै लाखौं आम्दानी गर्दै टोपबहादुर (भिडियोसहित )

बंगुर पालेरै लाखौं आम्दानी गर्दै टोपबहादुर (भिडियोसहित )

दाङ, ९ असोज । विद्यार्थी नेता टोपबहादुर बुढाथोकीको पछिल्लो दैनिकी बदलिएको छ । विद्यार्थी संगठनसँगै पार्टीको काममा हिँड्ने टोपबहादुर पछिल्लो समय बंगुरपालनमा व्यवसायमा व्यस्त हुने गरेका छन् ।

राजनीतिसँगै व्यवसाय शुरु गरेका उनले मेहनत गरे आफ्नै ठाउँमा सजिलै आम्दानी गर्न सकिन्छ भन्ने देखाएका छन् । उनले लगानी कटाएर बार्षिक ५÷६ लाख रुपैयाँ मुनाफा गर्ने गरेका छ । स्वदेशमा केही गर्न सकिँदैन भनेर विदेिशने युवाहरुका लागि उनी उदाहरणसमेत बनेका छन् ।

घोराही उपमहानगरपालिका–७ राजपुरमा उनले ५ कठ्ठा जमिनमा बबई बहुउद्देशीय कृषि तथा पशुपंक्षीपालन फर्म स्थापना गरी बंगुर पालन गर्न थालेको दुई बर्ष भएको छ । दुई बर्ष पहिले ८ लाख रुपैयाँ लगानी गरेर २७ वटा बंगुरका पाठा किनेर व्यवसाय शुरु गरेका थिए ।

ल्याण्डरेस र डुरोक जातका बंगुरपालन गर्दै आएका छन् । शुरुमा पाठापाठी बिक्री गर्ने योजना बनाएर कामको थालनी गरेका उनले अहिले मासुका लागिसमेत बंगुर पाल्न थालेका छन् ।

बंगुरपालन गर्दै आएका बुढाथोकी आफ्नो व्यवसायमा सन्तुष्ट रहेको बताउँछन् । ‘शुरुमा व्यवसाय गर्दा क्षेत्रीको छोराले किन यो काम गर्ने, बरु अरु काम गरे हुन्छ नि भन्नेहरु धेरै थिए, तर मलाई बंगुरपालन व्यवसाय गर्ने रुचि भएकाले मैले बंगुरपालन नै गर्न शुरु गरेँ’, बुढाथोकीले भने– ‘पहिले नगर भन्ने मान्छे नै अहिले हेर्न आउँछन् र राम्रो गरेस् भनेर जान्छन् ।’

समाजशास्त्रमा स्नातक गरेका बुढाथोकी नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्षसमेत हुन् । ‘स्कुल कलेज लागेको भए, संगठन विस्तारमा पनि लाग्नुपर्ने थियो, तर अहिले कोरोनाका कारण कतै जानुपरेको छैन’, उनले भने– ‘जसले गर्दा आजभोलि बिहान उठेदेखि बंगुरको स्याहारबाटै दिनको शुरुवात हुन्छ ।’

बुढाथोकीले दुई बर्षको अवधिमै १३ लाख बढी रुपैयाँ लगानी पुु¥याएका छन् । घोराही बजारदेखि नजिकै रहेकाले पनि आफूलाई बंगुर पालनमा सहज भएको उनी बताउँछन् । ‘बंगुर पालन मेरा लागि नयाँ व्यवसाय थियो, त्यसैले शुरुमा के हुने हो भन्ने थियो’, उनले भने– ‘तर घरपरिवारको सहयोगसँगै बंगुरलाई दाना पनि सजिलै उपलव्ध हुने भएपछि सहज भएको हो ।’

काम गर्ने भावना मनबाटै जगाउन सक्नु नै ठूलो कुरा भएको बताउने उनले हरेक युवाहरुमा सकारात्मक सोचको विकास हुन आवश्यक रहेको बताउँछन् । ‘स्वदेशमै केही गर्न चाहने युवाहरु उत्पादनमा जोडिन आवश्यक छ, त्यसका पनि राजनीति गर्ने मानिसहरु कुनै न कुनै व्यवसायमा जोडिनैपर्छ’, उनले भने– ‘यो त्यो जात र वर्गले गर्ने पेसा हो भनेर कसैले भन्न हुँदैन ।

मनदेखि इच्छाशक्ति देखाएर काम गर्नुपर्छ ।’ उनलाई अहिले बंगुर पालन व्यवसायमा दाजु र भाउजुले सहयोग गर्दै आएका छन् ।

कम मेहनतसँगै छोटो समयमै बंगुर पालनबाट उत्पादन लिन सकिने र अन्य व्यवसायको तुलनामा जोखिमसमेत कम हुने भएकाले व्यवसाय गर्न सहज भएको उनको भनाइ छ । व्यवसाय शुरु गरेको करिब डेढ वर्षमा आम्दानी लिन सकिने उनको भनाइ छ ।

व्यवसायबाट राम्रै आम्दानी भइरहेकाले कुनै क्षति नभए अबको दुई वर्षमा बैंकबाट लिएको सबै ऋण तिरिसक्ने उनी बताउँछन् । आफूले उत्पादन गरेको बंगुर स्थानीय बजारमा २५ प्रतिशत खपत हुने र बाँकी बुुटवल नै जाने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*