Home / Feature Breaking news / विशेष महाधिवेशन गरौं : पौडेल
Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS

विशेष महाधिवेशन गरौं : पौडेल

काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोसिस भएको बताएका छन् । उनले अधिवेशननै अन्योलमा पर्ने स्थिति भएकाले बाँकी रहेको अवधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

महाधिवेशन र विशेष महाधिवेशनबारे आफ्नै भनाइ भनेर बङ्याएर प्रचार भएको बताउँदै पौडेलले सोमबार ट्वीटरमार्फत स्पष्ट पारेका हुन्। उनले गत महासमितिको बैठक देखिनै पार्टीमा अधिवेशनको कार्यतालिका बनाएर सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं भन्दै आएको धारणा राखेका छन् । ‘विधान अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ ।

असाधारण परिस्थिति परेको खण्डमा केन्द्रीय कार्यसमितिले बढीमा एक वर्षसम्म अवधि बढाउन सक्नेछ भनिएको छ ।’ पौडेलले लेखेका छन्– ‘जसअनुसार विधानतः आउँदो फागुन उता यो समिति कायम रहने आधार समाप्त हुँदैछ ।’ उनले अधिवेशननै टार्ने, नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी बचाउन सकिने धारणा राखे ।

‘वर्तमान नेतृत्वको नियत हेर्दा अधिवेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोसिस देखिन्छ । किनभने एकै महिनामा सम्पन्न हुनसक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराइएको छैन ।’ पौडेलले भनेका छन्– ‘समायोजन नै नभएपछि क्रियाशील नवीकरण र वितरण त्यसै रोकिएर बस्ने भयो । पौडेलले कोरोना महामारीका कारण महाधिवेशन प्रभावित हुन नदिन अहिलेकै क्रियाशील सदस्यताबाट अधिवेशनमा जान सकिने विकल्प सुझाएका छन् ।

उनले फागुनमा कुनै पनि हालतमा महाधिवेशन हुनुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यताकै कारण महाधिवेशन सार्ने काम स्वीकार्य नहुने धारणा राख्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि पौडेल समूहले ३ वटा विषयमा असन्तुष्टि जनाएको छ ।

सभापति देउवाले नेपाल विद्यार्थी संघ, तरुण दललगायत ९ भातृसंस्थाको समयावधि नौ महिना थपेका छन् । त्यस्तै क्रियाशील सदस्यता वितरणमा पनि पारदर्शिता नअपनाएको आरोप पौडेल समूहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*