Home / समाचार / भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

चितवन — उपचारका लागि अस्पताल पुगेर सोमबार मृत्यु भएका चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनीहरुको स्वाब संलकन गरेर परीक्षणका लागि पठाएकोमा सोमबार राति नतिजा आउँदा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा.जगन्नाथ तिवारीका अनुसार सोमबार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा उनीहरु तीन जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको हो । ‘अस्पतालको आकस्मिक कक्षमा नै उहाँहरु तीन जनाको निधन भयो,’ डा.तिवारीले भने । अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि उनीहरुलाई भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुको भनाई छ ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो । ‘कोभिडको लक्षणसहित निधन भएका कारण स्वाब संकलन गरेर द्रुत तरिकाले नतिजा निकालेको हो । उहाँहरुमा संक्रमण पुष्टि भयो,’ डा.तिवारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*