Home / Feature Breaking news / नेपालसँग जोडिएका भारतीय राज्यमा संक्रमण बढेको भन्दै सतर्क रहन सरकारको आग्रह

नेपालसँग जोडिएका भारतीय राज्यमा संक्रमण बढेको भन्दै सतर्क रहन सरकारको आग्रह

सरकारले नेपालसँग जोडिएका चार वटा भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भारतमा संक्रमित संख्या १६ लाख पुगेको र नेपालसँग सीमा जोडिएका प्रदेशहरूमा पनि संक्रमण बढेको भन्दै सतर्क रहनु पर्ने बताएका छन्।

डा. गौतमले भने, ‘उत्तराखण्ड, उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा केसहरू बढिरहेको छ। हामी सतर्क रहनुपर्छ।’

पछिल्लो समय वीरगन्ज, विराटनगरलगायत ठाउँमा संक्रमण बढेको भन्दै त्यहाँका स्थानीय सरकारले भारतसँगको सीमा कडाइ गर्न माग गरेका छन्। खुला सीमाका कारण मानिसहरू लुकिछिपी प्रवेश गरेको र त्यसले संक्रमण समुदायमा फैलिने जोखिम बढेको भन्दै सीमा प्रवेशमा रोक लगाउन भनिएको हो।

वीरगन्ज, राजविराज र विराटनगरमा त्यहाँका स्थानीय तहहरूले संक्रमण समुदायमै फैलिएको बताएका छन्।

संक्रमण समुदायमै फैलिएको भन्दै विराटनगरमा त शनिबारबाट दुई साताको लागि फेरि लकडाउन घोषणा गरिएको छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायमा फैलिएको भन्दै लकडाउन गर्नु परेको बताएका छन्।

‘विराटनगरमा मात्र सयभन्दा बढी संक्रमित छन्। त्यसमा पनि ६१ जना संक्रमितको कुनै ट्राभल हिस्ट्री छैन। त्यसैले संक्रमण समुदायमा फैलिसकेको छ,’ उनले भने।

भारतमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमित दिनदिनै हजारौंको संख्यामा बढिरहेका छन्।

शुक्रबारमात्रै त्यहाँ ५५ हजार मानिसमा संक्रमण पुष्टि भएको छ। भारतमा अहिलेसम्म १६ लाख ४३ हजार मानिसमा संक्रमण देखिएको छ भने तीमध्ये ३५ हजार ७ सय ४७ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*