Home / Feature Breaking news / माहुरी जोनमा १ करोड लगानी

माहुरी जोनमा १ करोड लगानी

अमरराज आचार्य
दाङ, ९ साउन । भर्खरै सम्पन्न आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा माहुरी तथा माहुरीजन्य सामग्री खरिदमा १ करोड बढी लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना योजना कार्यान्वयन इकाई कार्यालय मौरीजोन घोराही तथा कृषकहरुको गरेर त्यो रकम लगानी भएको हो ।

माहुरी जोन र कृषकको गरी एक वर्षमा १ करोड ५ लाख ४० हजार ६ सय ९७ रुपैयाँ लगानी भएको हो । जसमा माहुरी जोनबाट अनुदान ४२ लाख १३ हजार २ सय ६९ रुपैयाँ र कृषकको ६३ लाख २७ हजार ४ सय २८ रुपैयाँ लगानी भएको मौरी जोन इकाई कार्यालयका प्रमुख कला बुढाले बताइन् ।

अनुदान तथा कृषकको लगानी थपिएसँगै माहुरी तथा माहुरीजन्य उत्पादन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अनुदान तथा कृषकहरुले लगानीमा माहुरीजन्य सामग्री ढुवानी गर्नका लागि सवारीका साथ खरिद, रानी उत्पादन, मह संकलन प्रशोधन गरी महको गुणस्तरमा समेत वृद्धि हुने उनको भनाइ छ ।

माकुरी जोन इकाई कार्यालयले सनराइज बि किपिङ सेन्टर घोराही १९ र राईजिङ बि एपियरी घोराही–१५ लाई गाडी खरिद गर्नका लागि १०÷१० लाख रुपैयाँ अनुदान दिएको छ भने कृषकहरुले १३ लाख ३९ हजार लगानी गरेको बुढाले बताइन् । यस कार्यले माहुरीचरण तथा मौरीजन्य सामग्री बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मह संकलन तथा प्रशोधन गरी महको मूल्य तथा गुणस्तर वृद्धि गर्ने उद्देश्यले बिशाल मौरी फर्म तुलसीपुर–६ लाई १७ लाख ६३ हजार २ सय ४१ रुपैयाँ अनुदान दिएको छ । गुणस्तरीय रानी उत्पादन गर्नेका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मुनामदन बी कन्सर्नलाई २ लाख ५० हजार अनुदान दिएको छ । जसमा कृषकले २ लाख ६२ हजार ६ सय स्वलगानी गरेका छन् ।

गुणस्तरीय रानी उत्पादन गर्नका लागि घोराही उपमहानगरपालिका वडा नं. ४ मा बी एण्ड बी मौरी फर्मलाई २ लाख ५० हजार अनुदान प्रदान गरिएको छ भने स्वलगानी ३ लाख १० हजार १ सय गरिएको छ ।

मौरी आरक्षको निर्माण गरी मौरीलाई प्रतिकुल मौसमबाट बचाइ गुणस्तरीय मह उत्पादन गर्नका लागि घोराही–१८ मा रहेको प्राकृतिक एपिकल्चर सेन्टरलाई २ लाख रुपैयाँ अनुदान दिएको छ । जसमा कृषक २ लाख २ सय ४८ रुपैयाँ लगानी गरिएको प्रमुख बुढाको भनाइ रहेको छ ।

कार्यालयले दाङ जिल्लामा चरणका अफ सिजन भएको समयमा अन्य जिल्लामा माहुरी चरणमा जाँदा लाग्ने लागतमा समेत सहयोग गरेको छ । कार्यालयका अनुसार २९ जना कृषकहरुले सहयोग पाएको कार्यालयले जनाएको छ ।

यसका लागि ५ लाख ९ हजार ७ सय २ रुपैयाँ रकम प्रदान गरिएको उनको भनाइ छ । जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा माहुरी जोेन कार्यक्रम लागू भएको छ । यसले कृषकहरुलाई माहुरीपालन गर्दा आइपर्ने समस्याको समाधान तथा प्राविधिक सहयोग, सामग्रीमा अनुदान तथा अन्य सहयोग गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*