Home / Feature Breaking news / जानकी मन्दिरका महन्थ भन्छन्– प्रधानमन्त्रीलाई भगवानले सद‍्बुद्धि दिऊन्

जानकी मन्दिरका महन्थ भन्छन्– प्रधानमन्त्रीलाई भगवानले सद‍्बुद्धि दिऊन्

जनकपुरधाम, ३० असार ।

हिन्दू धर्माम्बलीले मान्दै आएको भगवान रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालमै रहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादास्पद अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर भगवान रामको ससुराली जनकपुरधाम तरंगित बनेको छ ।

जनकपुरधाममा प्राचीन जानकी मन्दिर छ । जानकी अर्थात् सीता, जसले रामसँग विवाह गरेकी थिइन् । त्रेतायुगमा तत्कालीन मिथिला राज्यकी राजकुमारी सीता र तत्कालिन अयोध्या राज्यका राजकुमार रामबीच मिथिलापरम्परा अनुसार विवाह भएको पौराणिक मान्यता छ । सोही आधारमा जनकपुर–अयोध्याबीवीच सांस्कृतिक सम्बन्ध रही आएको छ ।

राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक बर्ष जनकपुरधाममा भव्य तरिकाले विवाहपञ्चमी मनाइँदै आएको छ । जसमा औपचारिकरुपमै भारतको अयोध्याबाट जन्तीका साथै साधु, महन्थसमेत आउने गर्छन् ।

प्रधानमन्त्रीलाई भगवानले सद‍्बुद्धि दिऊन्

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री केपी ओलीलाई सद‍्बुद्धि दिनका लागि भगवानसँग प्रार्थना गरेका छन् ।

प्रधानमन्त्रीजस्तो व्यक्तिले आध्यात्मकलाई राजनीतिसँग जोडेपछि दुःख लागेको महन्थले बताए । ‘प्रधानमन्त्रीलाई भगवानले सद‍्बुद्धि दिऊन्, राजनीतिलाई अध्यात्मसँग नजोड्नका लागि’ उनी भन्छन्, ‘यसो गर्दा धेरै राम्रो हुन्थ्यो । उहाँका लागि पनि र समाजका लागि पनि ।’

‘मलाई प्रधानमन्त्रीज्यूको यस्तो सम्बोधनपछि दर्जनौं मानिस भेट्न आएका छन्’ उनले भने ।

मनुश्यपिच्छे भाव, भेद, रसभेद फरक पर्ने कुरा तुलसी दासले रामायणमै लेखेको उनको भनाइ छ । महन्थ दासले अनलाइनखबरसँग भने, ‘जति मान्छे छन्, त्यति उसको भेद छ । भाव छ । जति वस्तु छ, त्यसको आ–आफ्नै रंग छ र स्वाद छ । प्रधानमन्त्रीज्यूको भाव, भेद र रसभेद आफ्नै छ ।’

उनी मिथिलाको प्राचीन संस्कृति रहेको र जुन संस्कृति अन्तर्गत भगवान रामलाई अहिले पनि दुलाहा अर्थात् बेहुलाको रुपमा मान्दै आएको बताउँछन् ।

‘यसमा कुनै आँच आउन दिनुभएन’ उनी भन्छन्, ‘तपाईंको आमाबुबालाई र तपाईं, जसलाई धेरै पूजनीय मान्ने व्यक्ति र इष्टदेवलाई कसैले प्रहार गरे आत्मामा चोट लाग्नु स्वभाविकै हो । यस्तो चोटबारे कसैले बोल्दैनन् । तर, हृदयमा त कष्ट हुन्छ नि !”

प्रधानमन्त्रीले अवधलाई अयोध्या त ठान्नुभएन् ?

महन्थ दास नेपाल र भारत देश पछि बनेको बताउँछन् । योभन्दा अगाडि त मिथिला, अयोध्या, विराट, अवधसहितका बिभिन्न राज्य रहेको बताए उनले ।

नेपालको मुख्य केन्द्र काठमाडौं भए झैं त्यसबेला मिथिलाको प्रमुख केन्द्र जनकपुरधाम रहेझैं राजा दशरथको राज्य अयोध्या र प्रमुख केन्द्र पनि अयोध्या नै थियो ।

पहिला मिथिला राज्यको सीमा गंगादेखि उत्तर, हिमालयबाट दक्षिण, कोशीबाट पश्चिम र नारायणीबाट पूर्व थियो ।

नारायणी पश्चिम भने अवध राज्य थियो । प्रधानमन्त्रीले त्यहीँ भन्नुभएको हुन सक्छ’ महन्थ दास भन्छन्, ‘यद्यपि प्रधानमन्त्रीले अयोध्या नै भनेकाले अयोध्या राजा दशरथको भवन भारतकै अयोध्या हो । यो राज्यको क्षेत्र कसैले नेपालमा थियो भन्छन् भने त्यसलाई मान्न सकिँदैन ।’

अयोध्यामै राम जन्भूमिको सयौं बर्षदेखि झगडा चल्दै आएर अहिले निकास पाएको बताउँदै दासले यदि नेपालमा भएको भए ग्रन्थहरुमा पनि सोही तरिकाले उल्लेख गरिएको हुनुपर्नेमा त्यस्तो केही नभएको बताउँछन् ।

उनी थप दृष्टान्त देखाउँदै भन्छन्, ‘कसैले यो जनकपुरधाम होइन भनेर हुन्छ ? यहाँ कमला छ । दूधमति छ । ७२ सरोबर छ । ५२ वटा कुप छ । त्यसैले यो जनकपुरधाम हो ।’

प्रत्येक वर्ष भारतको अयोध्याबाटै किन आउँछन् जन्ती र साधु ?

अहिले तत्कालीन मिथिला क्षेत्रको जनकपुरसहित केही भू–भाग नेपालमा परेको छ भने केही भू–भाग भारतमा परेको छ । तर, अयोध्या भने भारतमै छ । राम सीताकै सम्बन्धलाई लिएर नेपाल–भारतवीच पुरानो सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । अयोध्यामा रामको मन्दिर र जनकपुरमा सीताको मन्दिर त्रेतायुगकै झल्को दिनका लागि निर्माण गरिएको छ ।

‘यो कुनै नयाँ कुरा होइन’ जानकी मन्दिरका महन्थ दास भन्छन्, “तुलसी दासले ५ सय बर्षअघि लेखेको रामचरितमानसलाई पढ्दा हुन्छ । नेपालमा भएको कुनै कृति छ ?”

सीताको माइती जनकपुरधामलाई र रामको राज्य अयोध्यालाई मानिँदै आएको छ परापूर्वकालदेखि नै । त्यही भएर सीताको माइती जनकपुरधाममा रामायणमा उल्लेख गरिएझैं तरिकाले विवाहपञ्चमी महोत्सव मनाइँदै आएको छ ।

‘विवाहपञ्चमी रामायणमा उल्लेख गरिएकै आधारमा सात दिवसीय रुपमा मनाउँदै आएका छौं’ महन्थ रामतपेश्वर भन्छन्, “जन्ती र साधुसन्त त अहिले पनि त्यहींबाट आइरहेका छन् ।”

राजा जनकको समयमा २ महिना जन्ती बसे पनि अहिले दुई दिनसम्म जन्तीलाई बसाइने गरिएको छ यहाँ ।

रामले धनुष तोडेपछि राजा जनकलाई जन्ती ल्याउन आग्रह गर्दै त्यस बेला हजाम अर्थात् ठाकुरलाई सन्देश दिएर पठाइए झैं अहिले पनि त्यसरी नै गर्दै आएको दास बताउँछन् । ‘धनुष यज्ञमा तपाईंको छोरा विजयी भएको छ जन्ती लिएर आउनुहोला भन्दै अहिले पनि अयोध्यामा सन्देश पठाउने गरेका छौं’ उनले भने, “त्यसपछि अन्य प्रकृया शुरु गर्‍छौं ।”

त्यहाँबाट स्वीकृति आएपछि यहाँ विवाहपञ्चमीको तयारी सुरु हुन्छ । मंसीरको कृष्ण पञ्चमीदेखि नै मंगल गान सुरु हुन्छ र त्यस बीचमा अपटन लगाइन्छ र बेसार कुट्ने प्रकृया सुरु गर्छन् यहाँका महिलाले ।

विवाहपञ्चमीको नजिक समय आएपछि पहिलो दिन नगर दर्शन हुन्छ । किनभने त्रेतायुगमा राम यहाँ आएपछि नगर घुम्न निस्केका थिए ।

दोस्रो दिन पुष्पबाटिकामा फुलबारी लिला हुन्छ । राम गुरुको फुल लिन त्यहाँ पुगेको र सीता पनि साथीसँग त्यहाँ पुग्दा दुबैबीच देखादेख भएको रामायणमा उल्लेख गरिएकाले यो प्रकृया पनि गरिन्छ विवाहपञ्चमीमा ।

तेस्रो दिन धनुष यज्ञ हुन्छ ।

चौथो दिन तिलक महोत्सव गरिन्छ । यस दिन भारतबाट आउने जन्ती, सन्त महात्मा र विशिष्ट व्यक्तिलाई राम मन्दिरमा राखिन्छ । ‘त्यसपछि हामी यहाँबाट तिलक लिएर जान्छौं र रामलाई तिलक लगाउँछौं’ महन्थ दास भन्छन्, “पाँचौ दिन बिहान गंगासारमा मटकौर हुन्छ । सीताले कोरेर ल्याएको माटोले चुल्हो बनाई धानको लाबा बनाइन्छ ।”

यसको बिहान विवाहोत्सव हुन्छ । राम मन्दिरबाट जन्ती निस्किन्छन् अनि जानकी मन्दिरका अहन्थको अगुवाईमा सीता पक्षका व्यक्तिहरु स्वागत गर्न जान्छन् । रंगभूमी अर्थात् धनुष यज्ञ भएको ठाउँमा सबै एकीतृत भई नगरपरिक्रमा गराई केहि बेरको बिश्रामपछि खाना खुवाएर रातभरि वैदिक विधी अनुसार विवाह हुन्छ ।

विवाह भएको बिहान जन्ती पक्षलाई बोलाएर उनीहरुलाई स्वजन भोजन गराइन्छ । जसलाई साधुको भाषामा रामकलेबा भनिन्छ । खाना खुवाउँदै मजाकको हिसाबमा गाली समेत गर्ने गरिएको प्रचलन रहेको दासले बताए । यसपछि जन्तीको विदाई गरिएपछि विवाहपञ्चमी महोत्सव सकिन्छ ।

‘त्यही अयोध्याबाट जन्ती त्रेतायुगदेखि नै आइरहेका छन्’ महन्थ दासले भने, “बरु प्हिलाको क्रमलाई परिवर्तन गर्दै २०६१ सालदेखि त दर्जनौं गाडीसहित जन्ती आउन थालेका छन् ।”

‘अयोध्या भारतमै रहेको इतिहास रामायण हो । ५ सय बर्ष पहिला नै लेखिएको छ । योभन्दा ठूलो इतिहास कहाँ छ ?” दासले भने ।

२०६१ भन्दा केहि पहिलासम्म भारतको छपरा, बलियाका मान्छेहरु पैदलै विवाहपञ्चमीमा आउने गरेको उनले बताए ।

उनका अनुसार जनकपुरधाममा रहेको तिरहुतिया गाछीमा दरभंगातिरबाट आउने तिरहुत ब्राम्हणहरु बस्थे । अहिलेको नगरपालिका अगाडि पहाडीया गाछी अर्थात् यहाँ सिन्धुलीतर्फका मान्छे आएर बस्थे । पगलाबाबा गाछी भने साधुहरुलाई बस्ने ठाउँ हुन्थ्यो ।

रंगभूमिमा ५० भन्दा बढी हात्ती, सयौं घोडा र उँटहरु पनि लिएर भारतीयहरु यहाँ विवाहपञ्चमीमा आएको दासको स्मरण छ ।

‘त्यस्ता दृश्यहरु हराउँदै जाँदा अयोध्या पक्ष, दुबै देशका राजनीतिक दलका नेता र नेपालका तत्कालीन राजालाई भनेर औपचारिक रुपमै जन्ती ल्याउने प्रकृया शुरु गराइएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*