Home / Feature Breaking news / प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

बुटवल, २० असार ।

कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

आत्महत्या गर्नेहरुमा गाउँका २ सय ६६ जना तथा शहरका १ सय १४ रहेका छन् । प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेहरुमा ग्रामीण क्षेत्रका किसान, विपन्न परिवारका गृहिणी, दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने र बेरोजगार बढी छन् ।

लकडाउन शुरु भएयता १ सय ७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला मजदुरी गर्ने श्रमिक तथा ३६ जना बेरोजगारले आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी लकडाउन अवधिमा २९ जना विद्यार्थी र अन्यले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा पुरुषभन्दा महिलाको संख्या केही बढी छ । एक सय दिनको अवधिमा १ सय ९८ महिला र १ सय ८२ जना पुरुषले आत्महत्या गरेका छन् ।

चैत, बैशाख र जेठमा भन्दा असार महिनामा आत्महत्या गर्ने दर झन् बढेको प्रहरी वरिष्ठ उपरक्षिक बैदवारले बताए । ‘चैतमा ५२ जना, वैशाखमा एक सय जना र जेठमा १ सय २ जनाले आत्महत्या गरेका छन्,’ बैदवारले भने, ‘जबकि असार महिनाको १८ दिनमा मात्रै १ सय २६ जनाले आत्महत्या गरेका छन् ।’

आत्महत्याको मुख्य कारणमा एक्कासी आवेशमा आउनु देखिएको प्रवक्ता बैदवारले खुलाए । एक्कासी आवेशमा आएर १ सय ४६ जनाले आत्महत्या गरेका उनले बताए । यस्तै घर झगडाका कारण आत्महत्या गर्नेको संख्या ७२ जना छ ।

उमेर समूहका आधारमा आत्महत्या गर्नेहरुमा युवाहरुको संख्या बढी देखिएको बैदवारले बताए । लकडाउन अवधिमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १ सय १६ जना, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका १ सय १० जना, ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका ५८ जना, ४६ देखि ६० वर्षसम्म उमेर समूहका ५२ तथा ६० वर्षदेखि माथिका २८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा २० जना बालबालिका समेत छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ६६ जना दीर्घ रोग, २४ जना गरिबी र २२ जना माया प्रेमका कारण आत्महत्या गरेका छन् । व्यवसायिक असफलताका कारण ६ जना र प्रेममा असफल भएका कारण ६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लामो समयको लकडाउनले आम्दानी बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको र मान्छेहरु चाहेको बेला चाहेको ठाउँमा जान नपाउँदा आत्महत्याका घटनामा वृद्धि भएको समाजशास्त्रका विद्यार्थी एवं अधिवक्ता खुमाकान्त पौडेलले बताए । ‘लकडाउन अझै लम्बिंदै गए यसको असरले यस्ता घटना अझै बढ्ने सम्भावना छ, सम्बन्धित निकायले समुदायमा मनोपरामर्शका प्रशिक्षणहरु चलाउन जरुरी भैसकेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*