Home / Feature Breaking news / प्रतिष्ठानको गेटमै क्वारेन्टाइनमा बसेकाहरुको नाराबाजी

प्रतिष्ठानको गेटमै क्वारेन्टाइनमा बसेकाहरुको नाराबाजी

दाङ, ८ असार ।

कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई गरेको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रिपोर्ट दिन ढिलाई गरेको भन्दै प्रतिष्ठानको गेटमै आन्दोलन गरेका थिए ।

घोराही उपमहानगरपालिका–१८ स्थीत रझेनामा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरु स्वाव संकलन गरेको दुई हप्ताबढि समय वित्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएको भन्दै सोमवार साँझ करिव ६ बजेतिर आन्दोलन गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटसम्म पुगेका थिए ।

प्रतिष्ठानको गेटमा पुगेका उनीहरुले कोरोना परीक्षणको रिपोर्ट दिन ढिलाई गरेको भन्दै नारावाजी गरेका थिए । भारतबाट फर्किएको महिनादिन भन्दा बढी समय क्वारेन्टाइनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नदिएको भन्दै ४० देखि ५० जनाको समूह आन्दोलन गर्दै प्रतिष्ठानको गेटसम्म आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

रझेना स्थीत क्वारेन्टाइनबाट निस्केर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट आइपुगेका उनीहरुलाई प्रहरीले सम्झाई बुझाई गरेर पुनः क्वारेन्टाइनमा पठाएको समेत उनले बताए ।

‘क्वारेन्टाइनबाट स्वाव संकलन गरेको दुई हप्ता बढि समय भैसक्दा पनि रिपोर्ट नआएपछि रझेना क्वारेन्टाइनमा बसेकाहरु रिपोर्ट खोज्दै प्रतिष्ठानसम्म आएका रहेछन्’–प्रहरी नायव उपरिक्षक खड्काले भने–‘प्रतिष्ठानको गेटमा जम्मा भएका उनीहरुलाई प्रहरीले पुनः क्वारेन्टाइनमा पठाएको छ ।’

आन्दोलना उत्रिएका उनीहरुले ‘कि हामीलाई रिपोर्ट दे, कि घर जान दे’,‘मान्छेलाई पशु सरह व्यवहार नगर’,‘क्वारेन्टाइनलाई व्यवस्थीत गर’,‘समस्या समाधानका लागि वडा अध्यक्ष पहल गर’भन्दै नारावाली समेत गरेका थिए ।

तर घोराही उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष भरतमणि अर्यालले उनीहरु आन्दोलन गर्न नभई रिपाृेर्ट परिक्षण किन ढिलाई भएको छ भनेर बुझ्न गएको बताए ।

क्वारेन्टाइनमा आफुले सम्झाई बुझाई गरेपनि उनीहरु नमानेर प्रतिष्ठान गएको वडा अध्यक्ष अर्यालले बताए । ‘क्वारेन्टाइन बसेको महिना दिन पुरा भएको र स्वाव संकलन गरेको पनि दुई हप्ता बढी भैसक्दा पनि रिपोट नआएपछि हामी बुझ्न जान्दै भनेर प्रतिष्ठान गएका हुन’–वडा अध्यक्ष अर्यालले भने–‘क्वारेन्टाइनमा बसेकाहरु समयमै रिपोर्ट नआउँदा आक्रोसित भएका छन, मैले नजानुहोस भन्दा पनि मानेनन् ।’

आक्रोसित उनीहरुलाई सम्झाउदा समेत नमानेको उनले बताए । तर वडा अध्यक्ष अर्यालले अहिले उनीहरु फर्किएर क्वारेन्टाइनमा बसेको समेत बताएका छन् ।

प्रतिष्ठानमा अझै परिक्षणको प्रक्रियामा तीन हजार ४ सय ९२ स्वावहरु रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् । प्रतिष्ठानमा दुई वटा पिसिआर मेसिन सञ्चालनमा आएपनि ल्यावमा काम गर्ने जनशक्ति विरामी भएको हुदाँ कोरोना परिक्षणमा ढिलाई भएको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*