Home / Feature Breaking news / फोक्सोको क्यान्सर पीडित ७४ वर्षका वृद्धले पनि जिते कोरोना

फोक्सोको क्यान्सर पीडित ७४ वर्षका वृद्धले पनि जिते कोरोना

चितवन, ५ असार ।

चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।

भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ बर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको हुनु खुशीको खबर भएको बताए ।

उनले भने, ‘एकातिर वृद्ध उमेर, त्यसमाथि फोक्सोको क्यान्सर र केमोथेरापी अर्कोतिर कोरोना भाइरसको संक्रमण यो त अति जोमिखयुक्त अवस्था थियो, तर हामीले उहाँलाई संक्रमणमुक्त बनाएर जोगाउन सक्यौं ।’

फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो ।

उनकी ७३ बर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । उनले श्रीमतीसँगै झण्डै १ महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । श्रीमान श्रीमती दुबैजना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका अस्पतालका चिकित्सक डा. पौडेलले बताए ।

‘श्रीमान यसै पनि उच्च जोखिममा हुनुहुन्थ्यो, उहाँको श्रीमतीमा पनि सुगर, प्रेसर, वाथको समस्या थियो, पछि डायरिया भयो, तर अहिले स्वस्थ हुनुहुन्छ’ डा. पौडेलले भने ।

क्यान्सर रोगी वृद्धले पाँचपटक केमोथेरापीसमेत लिएका थिए । उनको एक पटकको केमोथेरापी बाँकी छ । केमोथेरापी लगाउँदा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने चिकित्सकहरू बताउँछन् । यस्तो बेला अन्य रोगको समेत संक्रमणको खतरा हुन्छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ थोरासिक सर्जन डा. विनय ठाकुरले फोक्सोका क्यान्सर रोगी वृद्धले कोरोना जित्नु ठूलो उपलब्धी भएको बताए ।

उनले भने ‘यस्ता केसहरुमा कोरोनो जोखिम अति नै बढी हुन्थ्यो, तर उहाँले जित्न सफल हुनुभएको छ, उपचार गर्ने अस्पताल, उहाँको आफ्नै पनि क्वालिटी अफ लाइफले कोरोना जित्नुभयो,यो नेपालकै पहिलो अनौठो परिघटना हुनुपर्छ ।’

संक्रमति वृद्धवृद्धाका छोरा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

शुक्रबार वृद्धलाई अस्पतालले फूल दिएर विदाइ गरेको थियो । त्यस क्रममा वृद्धले कोरोनासँग संघर्ष गर्न आफ्नो मनोबल उच्च बनाउन  आग्रह गरे ।

‘मैले डेन्जर रोग क्यान्सरसँग पैठोजोरी खेल्दै आइरहेको छु , यहाँ आएपछि कोरोनासँग पनि संघर्ष गर्नुपर्‍यो । यो संघर्षमा आज मैले विजय प्राप्त गरेँ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*