Home / Feature Breaking news / बृद्धाश्रमबाट घर फर्किइन् माता

बृद्धाश्रमबाट घर फर्किइन् माता

लिलाधर वली
दाङ  । चार बर्षदेखि बृद्धाश्रममा बस्दै आएकी माता जैशी बिहीवार घर फर्किएकी छिन् । अमेरिकाबाट घर फर्किएका छोरा बृद्धाश्रममा रहेकी आमालाई लिन आएपछि २०७२ सालदेखि घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित बृद्धाश्रममा बस्दै आएकी जैशी बिहीवार छोरा गंगा जैशीसँगै घर फर्किएकी हुन् ।

बाजुरा जिल्ला जगतनाथ गाउँपालिका–१ डिमरगाउँ निवासी जैशी २०७२ साल असोज २७ गतेदेखि बृद्धाश्रम बस्न थालेकी थिइन् । ‘घरमा नमिल्ने र म अमेरिका जाने भएपछि आमा बृद्धाश्रममा आउनुभएको थियो’, छोरा गंगा जैशीले भने–‘म टाढा भए पनि आमासँग फोनमा कुरा भैरहन्थ्यो, अब म नेपाल बस्ने गरी फर्किएपछि आमालाई लिन आएको हुँ ।’ अमेरिकाबाट गएको चैत ११ गते फर्किए पनि लकडाउनका कारण आमालाई लैजान ढिलाई भएको उनले बताए ।

आफूलगायतको परिवार काठमाडौं बस्ने र टाढा जानका लागि गाडी नचल्दा समस्या भएको बताए । ‘स्थायी घर बजुरा भए पनि अहिले काठमाडौं बस्ने गरेको छु, लकडाउनका कारण काठमाडौं जान–आउन समस्या हुँदा आमालाई भेट्न समेत पाएको थिएन’–छोरा गंगाले भने–‘दुई दिन पहिले आश्रमै आएर आमालाई भेटेको थिए, आज सबै प्रक्रिया पूरा गरेर आमालाई लैजान थालेको छु ।’ चार बर्षदेखि टाढा भएको छोरा आमालाई लिन आश्रममा आएपछि आमा खुशी भएकी थिइन् । आश्रमबाट विदाई भएर जान थालेकी जैशीले जीवनको अन्तिम क्षणसम्म छोरा र नातिसँग बस्ने इच्छा पूरा भएको बताएकी थिइन् । ‘आश्रममा बस्दा छोरा र नातिको धेरै याद आउने गरेको थियो, आज छोरा आउँदा खुशी भएकी छु, अब छिट्टै नातिसँग भेट हुनेछ’, उनले भनिन् ।

आमालाई लिन छोरा आएपछि आश्रमले चार बर्षदेखि आश्रममा बस्दै आएकी माता जैशीलाई छोराको जिम्मा लगाएको थियो । जेष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरीले माता जैशी र छोरालाई अबिर टीकासँगै दोसल्ला ओढाएर आश्रमबाट विदाई गरेका थिए । त्यस अवसरमा आश्रममा बस्दै आएका अन्य बृद्धवृद्धाहरुले समेत उनलाई अविर–टीका लगाए विदाई गरेका थिए ।

‘विगत चार बर्षदेखि माताजी आश्रममा बस्दै आउनुभएको थियो’, अध्यक्ष गिरीले भने–‘अहिले छोरा आएर आमालाई लिन चाहेपछि हामीले आमालाई छोराको जिम्मा लगाएका हौैं ।’ आमालाई छोराको जिम्मा लगाउन पाउँदा निकै खुशी लागेको उनले बताए । ‘धेरैले आमाबुबालाई आश्रममा लिएर छोड्ने तर पछि सम्पर्क नगर्ने गर्नुभएको छ’, अध्यक्ष गिरीले भने– ‘तर उहाँले आमालाई सम्झिएर आउनुभयो, यो अत्यन्त राम्रो कुरा हो ।’ २०६२ सालमा स्थापना भएको तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा २०६४ सालदेखि बृद्धबृद्धाहरु राख्दै आएको छ । अहिले आश्रममा १३ जना बृद्धबृद्धाहरु बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*