Home / Feature Breaking news / रुकुम घटनाः ‘आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं’

रुकुम घटनाः ‘आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गर्‍यौं’

१ असार, काठमाडौं । मल्ल थरकी युवतीलाई बिहे गर्न गत १० जेठमा पश्चिम रुकुमको सोती गाउँमा गएका जाजरकोटका नवराज विक उनका पाँचजना साथीहरुसँगै भेरी नदीमा मारिए । १२ जना घाइते भए । यो घटनाको अनुसन्धानपछि प्रहरीले आइतबार ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

घटनालगत्तै नेपालगञ्जस्थित संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत एसएसपी पोषराज पोखरेललाई गृहमन्त्रालयले जेठ १३ गते अनुसन्धानका लागि रुकुम पठायो । १४ गतेदेखि नै एसएसपी पोखरेल प्रमुख अनुसन्धान अधिकृतका रुपमा पश्चिम रुकुममा खटिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय चासोको विषय बनेको उक्त घटनाको अनुसन्धान प्रहरीले कसरी गर्‍यो ? एसएसपी पोखरेलसँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले रुकुम पश्चिममै पुगेर गरेको कुराकानी :

घटना हुनुअघि केटा र केटीको सम्बन्ध कस्तो पाउनुभयो ?

केटा र केटीको बीचमा २०७५ फागुनदेखि औपचारिकरुपमा प्रेम सम्बन्ध रहेको बुझिन्छ । उनीहरु फेसबुक हुँदै फोन सम्पर्कमा पुगेका थिए ।

केटीले मोवाइलका चारवटासम्म सीम बोकेको देखिन्छ । पहिलेका सीम केटीले नष्ट गर्दै, फाल्दै गरेको पाइएको छ । जुन कुरा अभिभावकलाई पनि थाहा थिएन । केटीले पछिल्लो समयमा भाइको नम्बरबाट केटालाई सम्पर्क गरेको देखिन्छ । पछिल्लो समय अर्को नम्बरबाट पनि फोन गरेको देखिन्छ । त्यसको ल्याब टेस्ट भइरहेको छ ।

नवराज पनि केटीको घरतर्फ घटना भएको दिनसहित चारपटक पुगेको देखिन्छ । केटी पनि दुईपटक केटाको घर पुगी रात नै बिताएको खुलेको छ । एकपटक नवराजकी आन्टीकी छोरीको बर्थ डेमा र अर्को पटक पनि गएको पाइएको छ ।

केटा र केटीको प्रेम सम्बन्धबारे घर वरिपरिका मानिसलाई पनि थाहा भएको देखिन्छ । केटीले चौरजहारीमा कोठा लिएर पढ्न बसेको पनि खुल्छ । हामीले केटीलाई हिरासतमा नराखी केटीकी आमाछोरीलाई छुट्टै कोठामा राखेर अनुसन्धान गरेका छौँ ।

गाउँमा यति ठूलो हताहतीको घटना कसरी भयो ?

नवराज विकले १० जेठमा १९ जना साथीहरु लिएर केटीलाई बिहे गर्न हिँडेको अवस्था हो । एकजना बाटैबाट फर्किएपछि १८ जना केटीको गाउँ सोती पुगेछन् ।

केटीको घरनेर पुगेपछि आमाले जातिवाचक गाली गरेपछि उनीहरु फर्केर मध्यपहाडी लोकमार्गमा बसे । त्यहीबेला तीनतिरबाट गाउँलेहरु आएर घेरे । नवराजको समूह केटीको घरमा पुगेर फर्किएको ४५ मिनेटको अवधिमा गाउँले तल आएर लखेट्न भ्याएको देखिन्छ ।

मध्यपहाडि लोकमार्गको दुबैतिरबाट गाउँलेले लखेटेपछि उनीहरु भेरीतर्फको मकैबारीमा झरेका छन् । त्यसपछि उनीहरु छिन्न–भिन्न हुन्छन् । कोही भेरीको डिलसम्म पुग्छन् । कोहीले नदी पार गरेको देखिन्छ । नदीको किनारै किनार पनि लखेटेको देखिन्छ

घटनामा के–कस्ता हतियार प्रयोग भएको देखिन्छ ?

लासमा चोट देखिन्छ । लखेट्दा माथिबाट ढुंगाले हानिएको छ । हामीले घटनास्थलमा भाँचिएका लाठीहरु भेटाएका छौँ । गाउँलेका हँसिया प्रयोग भएका छन् ।

घटनामा कति मानिसहरु संलग्न थिए ?

सोती निकै ठूलो क्षेत्र छ । तर, सोतीका प्रायः सबै गाउँबाट घटनामा संलग्न भएको देखिन्छ । घटनामा सोतीका चार गाउँको प्रत्यक्ष संलग्नता देखिन्छ । कोही मान्छे हेर्न पनि आएका छन् । सोतीको जिउला भन्ने स्थानबाट घटना सुरु भएको छ । त्यस चार गाउँमा ६० भन्दा बढी घर छन् । नदी तरेपछि पनि सोतीबाट फुटबल खेल्नका लागि भेरी पारि गएका ११ जना केटाहरुले पनि आक्रमण गरेको देखिन्छ ।

यो घटनामा स्थानीय जनप्रतिनिधि र प्रहरीको भूमिका कस्तो पाइयो ?

वडाअध्यक्षको प्रत्यक्ष संलग्नता खुलेको छ । नवराजको समूहलाई केटीकी आमाले गाली गरेपछि उनले आफ्ना श्रीमानलाई फोन गरेको देखिन्छ । श्रीमानले वडाअध्यक्षलाई फोन गरेका रहेछन् । र, वडाअध्यक्षले वरिपरिका सबैलाई बोलाएको देखिन्छ । हामीले कल ट्रेसिङ पनि गरेका छौँ । यसमा केटीका बा, वडाअध्यक्षदेखि पक्राउ परेका थुप्रै मानिसको ‘कनेक्सन’ देखिन्छ ।

घटना केटापक्षले लकडाउन उल्लङ्घन गरेका कारणले भएको हो भन्ने तर्क पनि सुनियो, अनुसन्धानले के देखायो ?

कतिपय अवस्थामा घटना एकातिर र कुरा अर्कोतर्फ गैरहेको भेटिन्छ । केटाहरु जाजरकोटबाट सोती गाउँमा आउँदा लकडाउन उल्लङ्घन गरे भने वडाअध्यक्षको समूहले पनि लकडाउन उल्लङ्घन नै गरेको देखिन्छ ।

घटनाको कारणचाहिँ अन्तरजातीय विवाह र त्यो विवाहलाई केटीपक्षले स्वीकार गर्न नसक्दाको कारणले नै घटेको हो । तर, हामीले यसमा भन्दा पनि घटना कसरी घटाइयो भन्नेमा अनुसन्धान गरिरहेका छौँ । विभेदको विषयमा विज्ञ टोलीले अनुसन्धान गर्छ ।

प्रहरी समयमै घटनास्थलमा नपुगेको, रमिते बनेको र दोषीलाई उन्मुक्ति दिएको जस्ता गुनासा पनि सुनिएका छन् । घटनास्थलमा जाने प्रहरीहरु पनि अनुसन्धानमा तानिएका छन् कि ?

शुरुमा जाजरकोटका चारजना प्रहरीहरु घटनास्थलमा पुगेका छन् । पारिबाट सिठी पनि बजाएको छ । समयमा प्रहरी नआएको भए हामी सबैलाई मार्थे भनेर घाइतेहरुले नै वयान दिएका छन् । शुरुमा पीडित, पीडक र प्रहरीको बीचमा ‘कन्ट्याक ग्याप’ देखिन्छ । प्रहरीले यस घटनाबारे थाहा पाउन नै समय लागेको छ । प्रहरी कार्यालयमा पनि कम प्रहरी थिए । कतिपय प्रहरीहरु क्वारेन्टिनमा पनि खट्नुपर्ने अवस्था थियो ।

नवराजको समूह स्वयंलाई पनि हामीमाथि आक्रमण हुँदैछ र मारिँदै छौँ भन्ने अलिकति पनि गुञ्जायस नभएको देखिन्छ । चौरजहारी प्रहरी कार्यालयका इन्स्पेक्टरको टोली २० किलोमिटरको दुरी पार गरेर त्यहाँ गएको छ । प्रहरीले के बुझ्यो, कतिबेला खबर भयो ? हामी यसको पनि सुक्ष्म अनुसन्धान गरिहेका छौँ ।

कुनै शवको मुख कुच्चिको छ, कसैको कान छैन, कसैको टाउकोमा चोट लागेको छ, कसैको घाँटी कसिएको त कसैको अण्डकोषसम्म सुन्निएको छ । यो सब हेर्दा हत्या गरेर भेरीमा बगाइदिएको हो कि ? अनुसन्धानले के देखाएको छ ?

यसको जानकारी हामीले भन्दा पनि पोस्टमार्टम रिपोर्टले भन्ने हो । हो, मृतकको शरीरमा चोट देखिन्छ । हामीले मुचुल्कामा फोटो र भिडियो पनि संकलन गरेका छौँ । नवराज, सञ्जु, लोकेन्द्रको अगाडि भागमा चोट छ । कतिको अगाडि र पछाडि दुवैतर्फ चोट लागेको छ । पाँच÷छ दिनपछि लास भेट्दा गलेको अवस्था पनि छ । कतिपय लासको लुगा पनि खोल्न सकेनौँ । हामीले लुगा पनि अनुसन्धानका लागि पठाएका छौँ ।

कर्तव्य ज्यानमा जाहेरी आएकाले हामी त्यसैको सेरोफेरोमा अनुसन्धान गर्ने हो । मान्छे कसरी मारियो, घटना योजनावद्ध थियो वा थिएन भन्ने कुरा चाहिँ अहिल्यै भन्ने अवस्थामा छैनौँ ।

यस घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो छ । अनुसन्धान प्रभावित होला कि भन्ने आशंका पनि छ । तपाईंहरुले कसरी अनुसन्धान गर्नुभयो ?

प्रवाहित हुने भनेको पोलिटिकल र पीडितबाट प्रभावित हुने भन्ने हो । मलाई कसैले पनि फोन गर्नुभएको छैन । मेरो कल डिटेल हरे पनि हुन्छ । मैले रिपोर्टिङ गर्ने अफिसर बाहेक कसैको फोन आएको छैन । कल डिटेल हेर्दा पनि हुन्छ ।

आरोप स्वभाविक हो । तर, हामीले दिलोज्यान दिएर अनुसन्धान गरेका छौं ।

आइजी साहेबसम्मले विशेष चासो देखाएर अनुसन्धानका लागि मलाई यहाँ पठाउनुभएको हो । सीआइबीको टोली पनि बोलायौँ । पाएका सबै प्रमाणहरुलाई ल्यावमा टेस्ट गर्न पठायौँ । र, अनुसन्धानबाट सही निश्कर्ष निस्कन्छ भन्नेमा हामी ढुक्क सुरुदेखि नै ढुक्क थियौं ।

अनलाईनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*