Home / Feature Breaking news / ८० दिनमा भारतीय समूहद्वारा १७ पटक सशस्त्र प्रहरी टोलीमाथि आक्रमण

८० दिनमा भारतीय समूहद्वारा १७ पटक सशस्त्र प्रहरी टोलीमाथि आक्रमण

काठमाडौं ।

सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा शुक्रबार मात्रै सशस्त्र प्रहरीेको टोलीमाथि भारतीय समूहले आक्रमण गर्‍यो । आक्रमणमा तीन प्रहरी घाइते भए । हतियार नै भारतीय समूहले लुटेपछि सशस्त्र प्रहरी बलको टोली गोली चलाउन बाध्य भयो ।

एकजना भारतीय नागरिकको ज्यान गयो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रवीण श्रेष्ठका अनुसार भारतीय तस्करलगायतको समूह प्रहरीमाथि जाइलागेको थियो । सुरुमा हवाई फायर भएको थियो । तर हतियारै खोसेपछि गोली चल्यो । उनीहरू जबरजस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । भारतीय सञ्चारमाध्यममा अनुसार गोली लागेर विकेश यादवको मृत्यु भएको थियो ।

यसअघि सर्लाहीको फेनहारामा पनि भारतीय समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । अवैध सामान ओसारपसार नपाएको निहुँमा उनीहरूले आक्रमण गरेको सुरक्षा निकायको निष्कर्ष छ ।

२२ वैशाखमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका भूजहवास्थित सशस्त्र प्रहरीको स्थायी पोस्टमा आक्रमण भएको थियो ।  २५ जेठमा पनि नवलपरासीको प्रतापपुर गाउँपालिका ५, बसहिया चेकपोस्टमा सशस्त्र प्रहरीमाथि आक्रमण भयो । भारतीयको आक्रमणमा परेर ६ सशस्त्र प्रहरी घाइते भए । कतिपय घटनामा सशस्त्र प्रहरी बलको टोलीले हवाई फायर गर्नुपरेको थियो ।

सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार चैत ११ देखि जेठ ३० गतेको सर्लाही घटनासम्मलाई जोड्ने हो भने ८० दिनमा भारतीय पक्षबाट १७ पटक सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको छ । जसमा केही साना र केही ठूला घटना छन् । कतिपय स्थानमा सयौंमा संख्यामा आएर आक्रमण गरिएको छ भने कतिपय स्थानमा सानो समूहमा पनि । कुनै पनि देशका लागि सीमा सुरक्षा संवेदनशील र सुरक्षाका हिसाबले पनि महत्त्वपूर्ण विषय हो । भारतीय पक्षबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भए पनि नेपाली पक्षबाट भने भारतीय सुरक्षाकर्मीमाथि त्यस्ता प्रकारका कुनै घटना भएका छैनन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता श्रेष्ठका अनुसार भारतसँग जोडिएका सीमामा १२७ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) राखिएको छ । इन्सपेक्टरको कमान्डमा बीओपी हुन्छ । बीओपीको मुख्य काम अवैध घूसपैठ रोक्न, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट र लकडाउनको समय भएकाले सरकारले सीमासम्बन्धी र दुई देशका नागरिकको आवतजावतसम्बन्धी गरेको निर्णयलाई कार्यान्वयन गराउनु हो । कोरोना भाइरस नियन्त्रणका लागि बीओपीबाहेक अवैध घुसपैठ रोक्न १२ सय बढी स्थानमा अस्थायी चेकपोस्ट पनि राखिएको प्रवक्ता श्रेष्ठले बताए ।

“सीमा सुरक्षा हाम्रो प्रमुख दायित्व हो । नेपाली भूमिमा हुने कुनै पनि अवरोध हामी सहँदैनौं । सीमामा खटिएका सुरक्षाकर्मीमाथी भारतीय पक्षबाट हुने आक्रमण दुःखद हो । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,” डीआईजी श्रेष्ठले भने ।

उनका अनुसार भारतीय पक्षबाट आक्रमण हुनसक्ने स्थानको पहिचान गरी जनशक्ति थप, गस्ती, जाँचलगायत कुरालार्ई प्रभावकारी बनाइएको छ भने सतर्क रहन निर्देशनसमेत दिइएको छ ।

नेपाल–भारत खुला सीमा भएकाले पनि कतिपय अवस्थामा व्यवहारिक कठिनाइ पनि पाइएको छ । प्रवक्ता श्रेष्ठ भन्छन्, “कतिपय भारतीयको खेतीपाती नेपालमा छ । नातागोता पनि छ । यसले उनीहरू नेपाल प्रवेश गर्न खोजेको पनि देखिन्छ । तर धेरैजसो स्थानमा तस्करले उक्साएर आक्रमण गराएको हाम्रो ठहर छ । कुनै पनि देशका सुरक्षाकर्मीमाथि अर्को मुलुकका नागरिकले आक्रमण गर्ने कुरा सामान्य भने होइन ।”

नेपाल–भारत सीमामा देखिएका समस्याका विषयमा दुई देशका अधिकारीबीच पनि निरन्तर संवाद हुने गरेको डीआईजी श्रेष्ठ बताउँछन् ।

बाह्रखरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*