Home / Feature Breaking news / नेपाली पत्रकारिता : संकट र सिकाइ
bipul

नेपाली पत्रकारिता : संकट र सिकाइ

विपुल पोख्रेल

कोभिड – १९ को महामारीले सिंगो संसार प्रभावित भएको समयमा पत्रकारिता क्षेत्र पनि अपवाद हुने कुरै भएन । नेपाली पत्रकारितासँगै विश्व पत्रकारिताका लागि पनि यो महामारी एउटा चुनौती भएर उभिएको छ भने यसले केही सिकाइ छाडेर अनि केही प्रवृत्तिलाई तलमाथि पारेरमात्र हामीबाट बिदा हुनेछ । यस चुनौतीको बेलैमा सामना गर्न नसक्ने र उपयुक्त रणनीतिका साथ सम्बोधन गर्ने सामथ्र्य नराख्नेहरु पत्रकारिताको परिधिभन्दा बाहिर थकेलिने छन् र नयाँ पुस्ता अनि नयाँ व्यवस्थापनले यो महासंकटको ओरालो लाग्ने क्रमसँगै पत्रकारितामा आफ्नो ‘स्पेस’ बनाउन आरम्भ गर्नेछन् ।

दुईवटा विश्व युद्धपछिको सिकाइ, तेस्रो मुलुकका पत्रकारिताका विज्ञ र क्रियाशील पत्रकारहरुको सम्मेलन अनि त्यो सम्मेलनको निष्कर्ष, संयुक्त राष्ट्र संघ स्थापनापछिको पत्रकारिताजस्ता विश्व परिघटनासँगै पत्रकारिताका आयाम र प्रवृत्तिमा फेरबदल भए । तेस्रो मुलकका समाचार पनि शक्तिशाली मुलुकका सञ्चारमाध्यमका लागि सामग्री बन्न थाले । राष्ट्रिय, स्थानीय, क्षेत्रीय, महाद्विपस्तरीय अन्य कतिपय चुनौती र घटनाक्रमले त्यस सेरोफेरोको पत्रकारिताका आयाम र प्रवृत्तिमा पनि फेरबदल भएका प्रशस्त उदाहरण पाइन्छ । नेपालकै सन्दर्भ कोट्याउँदा २०१७ अघिको पत्रकारिता, पञ्चायतकालीन पत्रकारिता, बहुदलीय शासन कालको पत्रकारिता, निरंकुश कालको पत्रकारिता र गणतन्त्रकालीन पत्रकारिताका पनि कतिपय प्रवृत्ति त फेरिएका छन् नै यसको अभ्यासमा सहज असहज सबै अवस्था नेपाली पत्रकारिताले भोगेको छ । यी भोगाइ नेपाली पत्रकारिताका पुँजी हुन् ।

त्यस्तै विश्वव्यापीरुपमा देखिएको यो संकटसँगै विश्व पत्रकारिताले पनि यो संकटबाट पार पाउँदै गर्दा केही सिकाइ ग्रहण गर्ने नै छ । माथि उल्लेख गरिएका पुराना सन्दर्भका आधारमा हामीले यसो हुने विश्वास गर्न सक्छौंँ । त्यस्तै, पुराना सन्दर्भको अध्ययन र आजको संकटका बीचमा हामीले निरन्तरता दिइराखेको पत्रकारिताकाको अभ्यास दुवैका आधारमा निर्धक्कसँग भन्न सकिने कुरा के हो भने जस्तोसुकै संकट आउँदा पनि केही पत्रकार विस्थापन होलान्, केही संस्था डुब्लान् तर पत्रकारिता मर्दो रहेनछ । यो समाजको एउटा अभिन्न अंगका रुपमा जोडिएर निरन्तर अगाडि बढ्दो रहेछ ।
हो ! यही विश्वासको जगमा उभिएर नै संकटका समयमा पत्रकारिताका समस्या तथा चुनौतीको पहिचान गरेर अगाडि बढ्ने संकल्प गर्न सकिन्छ । आज हामीले भोगिरहेका समस्यालाई केही बुँदामा हेरौँ –

१. पत्रकारहरु वैकल्पिक पेसा खोज्न बाध्य भएको देखिन्छ ।

२. सञ्चारकर्मीले खाइपाई आएको तलब सुबिधामा भारी कटौती गरिँदै छ । काम छाड्न बाध्य पार्ने उद्देश्यका साथ कटौती गरिएको सन्देह गर्न सकिने अवस्था देखिँदै छ । यस्तो समस्यामा रहेका पत्रकारहरुले मौखिकरुपमा पत्रकार महासंघमा उजुरी गरिरहेका छन् ।

३. संचार माध्यमहरु आर्थिकरुपमा समस्यामा जाँदै छन् । उनीहरु बलियो हुनै पर्छ र कामदारको रोजीरोटीलाई ती संस्थाले प्राथमिकतामा राख्नुपर्छ ।

४. सूचना प्रवाहमा र संकलनमा समस्या देखिएको छ । नागरिकका लागि राज्यप्रदत्त सेवा सुविधा विभेदपूर्ण, लापरवाहीपूर्ण र प्रभावहीन छन् । यसको खबरदारी गर्ने पत्रकारिता क्षेत्र आवश्यक सुरक्षा सामग्री र राज्यबाट संरक्षित हुन नसक्दा कमजोर बन्दै जाने खतरा देखिएको छ ।

५. पत्रकारिता क्षेत्रबाट आग्रह गरिएको र अपेक्षा गरिएको विशेष परिस्थितिमा विशेष सम्बोधन पाउन सकेको छैन । अग्रपंक्तिमा रहने (फ्रन्टलाइनर)को सूचीमा पत्रकारिता क्षेत्रलाई राज्यले राखेको छैन । उल्टो जिम्मेवार तहवाट लाञ्छित गरिरहेको पाइएको छ ।

उल्लेखित सन्दर्भहरुले नेपालको पत्रकारिता क्षेत्रको अवस्था चिन्ताजनक बन्दै गएको देखाउँछन् । लगानीकर्ताहरुको दाबीअनुसार यो क्षेत्रमा ५ वर्ष अगाडि नै १५ अर्ब रुपियाँ लगानी भइसकेको छ भने यस क्षेत्रले ५० हजारको आसपास प्रत्यक्ष परोक्ष रोजगारीको अवसर उपलब्ध गराउन सकेको छ । पाँच वर्ष यता अनलाइन मिडियामा थुप्रो लगानी भएको छ । रेडियो, टेलिभिजनहरु पनि थपिएका छन् । यस आधारमा लगानी १६ अर्बको हाराहारीमा पुगेको र रोजगारीको अवसरमा पनि वृद्धि भएको अनुमान लगाउन सकिन्छ । त्यसकारण देशको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण ‘स्टेक होल्डर’ मिडिया क्षेत्र पनि भएको देखिन्छ । लगानी परिचालन गरेर र राष्ट्रिय उत्पादनलाई प्रोत्साहित गरेर तथा अर्थसम्बन्धी बहसहरुका माध्यमबाट मिडियाले राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको हुन्छ । तसर्थ, यस क्षेत्रलाई जोगाउने दायित्व राज्यको पनि हुन्छ ।

पछिल्लो समयमा राज्य मिडियाप्रति अनुदार छ । अभिभावक बन्न सकेको छैन राज्य यस क्षेत्रको । देशको अर्थतन्त्रको एउटा हिस्साका रुपमा स्थापित मिडिया क्षेत्रले राज्यको कृपा वा बक्सिस खोजेको हैन । अर्थतन्त्रमा योगदान दिने र लोकतन्त्रलाई जीवन्त बनाउने क्षेत्रलाई बचाउन नीतिगत सम्बोधनको स्वाभाविक अपेक्षामात्र मिडियाको रहेको छ ।

पत्रकारिता क्षेत्रसँग अब नागरिक अपेक्षा बढ्छ । संकटले राज्य कमजोर बन्छ, नागरिकका अपेक्षा उस्तै हुन्छन् । अनी राज्यसँगको गुनासो बढ्छ र मिडिया त्यो गुनासो पोख्ने फोरम हुन्छ । यस्तो बेला राज्यले आफ्नो आलोचना गर्ने फोरमका रुपमा मात्र मिडियालाई बुझेर थप दमन र असहयोग गर्ने खतरा पनि रहन्छ । तर, त्यसले लोकतन्त्र नै कमजोर बन्नेछ । यतिबेला पत्रकारको सुरक्षाको सवालमात्रै हैन सञ्चार माध्यमको निरन्तरताको हकमा पनि ठूलो समस्या देखिँदैछ । सरकार निजी क्षेत्रका स्वतन्त्र मिडिया मरुन् र आफ्नो गुनगान गाउनेमात्र रहुन् भन्ने चाहनामा हुन्छ । यस्तो अवस्था राज्यका लागि त्यही चाहना पूरा गर्ने अवसर बन्ने खतरा छ । तसर्थ सबै गंभीर हुन आवश्यक छ ।

यति हुँदाहुँदै पनि हामीले गर्व गर्ने थुर्पै कुराहरु पनि छन् । यतिबेला पनि पत्रकारिता चलिरहेकोछ र हरेक क्षेत्रको सूचना प्रवाह गर्न सक्षम रहेको सन्देश नेपाली पत्रकारिता क्षेत्रले दिएको छ । पत्रकारिता क्षेत्रप्रतिको नागरिक गुनासो कम हुँदै गएको प्रेस काउन्सिलको तथ्यांकले देखाउँछ । अनलाइन मिडियाप्रतिको गुनासो पनि मेटिँदैछ । यो नेपाली पत्रकारिताको विशेष अवस्थाको जिम्मेवारी बोधसहितको प्रस्तुतिका कारण सम्भव भएको हो ।

संकटका बेलामा नागरिकको आत्मबल कमजोर हुन नदिन र उनीहरुलाई कोरोनाभाइरसको संक्रमणबाट जोगिने उपाय सुझाउन नेपाली पत्रकारिताले उल्लेख्य भूमिका खेलेको छ । आजकल सञ्चारमाध्यमका ८० प्रतिशत मुख्य समाचार कोभिड –१९ सँग सम्बन्धित रहेको र तीमध्ये झन्डै ९० प्रतिशत यो भाइरसका प्रवृत्ति बुझाउने तथा त्यस आधारमा सचेत हुन मद्दत पुग्ने खालका पाइएको एउटा तथ्यांङ्कले देखाएको छ ।

(दाङ जिल्लाका मिडियाहरुको २० दिनको सामग्रीहरुको अध्ययन र विश्लेषणका आधारमा ।)  यस्तो बेलामा कोरोनाभाइरसविरुद्धको राज्यको लडाइँको एउटा महत्त्वपूर्ण मोर्चा पत्रकारिताले सम्हाली दिएकोमा दुईमत नहोला । यस्तो समयमा राज्यले भावनात्मक ‘इमोसनल्ली’ र व्यवहारगत ‘प्राक्टिकल्ली’ मिडिया क्षेत्रलाई सम्बोधन गर्नुपर्ने थियो तर गरेन । मिडियाकर्मीलाई ‘फ्रन्टलाइनर’ भनिएन । भनिएको भए इमोसनल्ली सम्बोधन हुन्थ्यो । संकटको समयमा सम्बोधन गर्ने कार्यक्रम ल्याइएन । सुरक्षाको कुनै प्रबन्ध गरिएन । स्वास्थ्य परीक्षणको दायरामा पनि उल्लेख्य ढंगले समावेश गरिएन । पत्रकार महासंघलगायतका संस्थाले भनेबमोजिमका ‘प्याकेज कार्यक्रम’ ल्याइएन । यति गरेको भए ‘प्राक्टिकल्ली’ सम्बोधन हुन्थ्यो । राज्यको भूमिका नदेखिँदा पत्रकारिता क्षेत्रले संकटमा राज्य हाम्रो अभिभावक बन्न सकेन भन्ने गुनासो गर्नु परिरहेको छ ।
संकटले हामीलाई केही सिकाइहरु दिएर जाने निश्चित छ । केही सिकाइहरु हामीले सूचीकृत गर्न सक्नेगरी परिपक्व भइसकेका पनि छन् :

१. नीति बनाउने बेलामा ठूला लगानी तथा साना लगानीका मिडियाका लागि अलगअलग व्यवस्था आवश्यक रहेछ ।

२. लगानी जतिसुकै भए पनि मिडिया व्यवस्थापन कमजोर रहेछ भने त्यसलाई उकास्न रणनीति चाहिँदो रहेछ ।

३. सफ्ट लोनजस्ता कल्याणकारी योजनाको खोजी र कार्यान्वयन आवश्यक रहेछ ।

४. पत्रकारहरुका लागि रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक रहेछ । कामबाट बाहिरिए पनि उनीहरुले काम गर्ने ठाउँको सुनिश्चितता आवश्यक रहेछ ।

५. साना लगानीका मिडिया प्रबद्र्धनका लागि स्थानीय सरकारको भूमिकालाई अझ स्पष्टसँग परिभाषित गर्नपर्ने रहेछ ।

उल्लेखित सिकाइहरु यो संकटले हामीलाई दिएको छ । यसको निर्मूल हुने अवस्थासम्म अझै धेरै सिकाइहरु हाम्रा माझ आउने छन् । ती सिकाइलाई आगामी दिनका लागि रणनीति बनाउँदा आधार मान्न सके भोलिका दिनमा पत्रकारिता अझै बलियो हुनसक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*