Home / Feature Breaking news / संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १८ जेठ

प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट भएको छ । यसलाई अंग बनाउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव उचित छ । यसको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

बुधबार संसदमा पेश गर्ने तयारी पनि थियो । तर अघिल्लो दिन बसेको सर्वदलीय बैठकमा कांग्रेसले समय मागेको भन्दै बुधबार संसदको कार्यसूचीमा राखिएको थिएन ।

 

कांग्रेस बैठकले छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मधेस केन्द्रीय दलहरुको माग सम्बोधन गर्न दर्ता गरेको तर संसदबाट अस्वीकृत भएको विधेयकलाई नै फेरि दर्ता गर्ने निर्णय भएको हो ।

‘यसका लागि संसदीय दललाई निर्देशन दिइएको हो । दलले उपयुक्त समयमा संशोधन दर्ता गर्छ, एक नेताले भने ।

शनिबार बसेको कार्यसमिति बैठकमा तराई मधेसका केन्द्रीय सदस्यहरुले मधेसको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने बताएका थिए । तराई मधेसका दलहरुले हालै मात्र कांग्रेस सभापति देउवालाई भेटेर निशान छाप परिर्माजनका लागि संविधान संशोधन गर्दा मधेसको मुद्दा पनि संशोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*