Home / Feature Breaking news / क्वारेनटाइनबाटै भाग्छन् संक्रमीत

क्वारेनटाइनबाटै भाग्छन् संक्रमीत

बाँके, ११ जेठ

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनबाट शुक्रबार १३ जना संक्रमित भागेका छन् । संक्रमण पुष्टि भएको खबर सुनेसगै उनीहरू भागेका हुन् । कोही भागेर रुखमा चढेर लुकेका थिए भने कोही कुलोमा गएर सुतेका थिए । स्थानीयका अनुसार केही व्यक्ति दशगजाको खाल्डोमा गएर बसेका थिए । छिटो आइसोलेसन सेन्टरमा पुर्‍याउनु पर्ने संक्रमित भागेको खबरले जिल्लाभरिकै अवस्था तनावपूर्ण बनेको थियो ।

संक्रमित भगाउन परिवार र स्थानीय एकजुट भएका थिए । प्रहरीका अनुसार आसपासका गरेर एक हजारभन्दा बढी स्थानीय व्यक्ति क्वारेन्टाइन घेर्न पुगेका थिए ।

उनीहरूले शुक्रबार साँझ नेपालगन्जबाट संक्रमितलाई लिन पुगेको एम्बुलेन्स पनि घेराउ गरेका थिए । स्थानीयले सुरक्षाकर्मीसँग विवाद गर्न थालेपछि संक्रमित भाग्न सफल भएका थिए । रातभरि सम्पर्कविहीन भएका संक्रमितको खोजीका लागि नेपालगन्जबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार बिहान मात्र उनीहरू भेटिए । यसअघि मंगलबार नरैनापुरका ५७ जना कोरोना संक्रमितले नेपालगन्जस्थित आइसोलेसन सेन्टरमा आउन मानेका थिएनन् । त्यसबेला पनि संक्रमित रहेको क्वारेन्टाइन वरिपरि करिब पाँच सय स्थानीय जम्मा भएर नेपालगन्ज लैजान नपाउने अडान राख्दै विरोधमा उत्रिएका थिए । जसका कारण संक्रमित २४ घण्टा क्वारेन्टाइनमै बसे । परिवारले घर लैजाने अडान राखेपछि सुरक्षाकर्मीले क्वारेन्टाइन घेरा हालेर बस्नु परेको थियो । शनिबार यही गाउँपालिकामा २७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूलाई ल्याउँदा तनाव हुने देखेर सुरक्षा सतर्कता अपनाइएको छ ।

नरैनापुरका संक्रमितहरू उपचार गराउन छोडेर क्वारेन्टाइनबाट भाग्नुमा अनेक कारण छन् । ‘कोरोना संक्रमित व्यक्तिहरू मानसिक रूपमा तनावमा छन् । परिवारका सदस्य क्वारेन्टाइन पुगेर रुन्छन् । यहीं उपचार होस् भन्ने चाहन्छन् । स्थानीय भावनामा बगेर विरोधमा उत्रिन्छन्,’ गाउँपालिकाका अगुवा युवा विनय दीक्षितले भने, ‘गाउँमा भ्रम पनि फैलिएको छ । नेपालगन्ज लगेपछि खान दिइन्न । कोठामा थुनेर राखिन्छ । किड्नी पनि झिक्न सक्ने भन्दै अनावश्यक अफवाह फैलाइएको छ ।’

उनका अनुसार संक्रमित व्यक्तिलाई ल्याउन एम्बुलेन्स पुगेपछि परिवारका सदस्यहरु क्वारेन्टाइन छेउछाउ पुुगेर रोइकराइ गर्छन् । स्थानीयको भीड लाग्छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अवरोध पुग्छ । स्थानीयले नरैनापुरमै आइसोलेसन नबनाएसम्म संक्रमितलाई लैजान नदिने अडान दोहोर्‍याउँदै आएका छन् । तर, उक्त पालिकामा बिजुलीबत्ती छैन । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनाको एमबीबीएस डाक्टरको दरबन्दी भए पनि अहेब र नर्सहरूका भरमा स्वास्थ्य संस्था चलेको छ । नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्यले स्थानीय स्तरमै आइसोलेसन वार्ड नबनाएसम्म समस्या समाधान नहुने बताए । ‘पालिकामै आइसोलेसन वार्ड बनाइएको भए परिवारले टाढैबाट भए पनि देख्न र कुराकानी गर्न पाउँथे । उनीहरूको मन बुझ्थ्यो,’ उनले भने, ‘नेपालगन्ज लैजाँदा विवाद भइरहेको छ । आइसुलेसन वार्ड बनाएको भए संक्रमित व्यक्ति भाग्ने दिन आउने थिएन ।’

गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले स्थानीय नेताले ‘भ्रम’ फैलाएका कारण कोरोना संक्रमितले क्वारेन्टाइनबाट भाग्ने प्रयास गरेको बताए । ‘जान्ने बुझ्नेहरू पनि भ्रम फैलाइरहेका छन् । कोरोनामा पनि राजनीति भयो । किड्नी झिकिन्छ भन्ने अफवाह फैलाउने काम भइरहेको छ,’ उनले भने, ‘यस्ता भ्रम फैलाउनेलाई प्रशासनले किन कारबाही गर्दैन ? संक्रमित भगाउनेलाई किन संरक्षण गरिएको छ ?’

कोरोना संक्रमण फैलिरहेका बेला पनि राजनीति हुनु दु:खद भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए । संवेदनशील समयमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । ‘संक्रमितलाई उपचारका लागि नेपालगन्ज ल्याउँदा पनि विरोध हुनु राम्रो होइन । यस्तो संकटका बेला सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘काम गर्ने वातावरण छैन । यस बेला बल प्रयोग गर्नु पनि उपयुक्त हुँदैन ।’

उक्त पालिकामा क्वारेन्टाइन नै कोरोना भाइरसको ‘इपी सेन्टर’ बनेको छ । व्यवस्थित क्वारेन्टाइन नहुँदा र त्यहाँ बस्ने व्यक्तिले दूरी कायम नगर्दा संक्रमण बढेको हो । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, ०७६ अनुसार क्वारेन्टाइन व्यवस्थापन र त्यहाँ बस्ने व्यक्तिले आचारसंहिता कार्यान्वयन नगर्दा संक्रमण बढेको भेरी अस्पतालका कन्सलटेन्ट प्रमुख फिजिसियन तथा मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*