Home / Feature Breaking news / संसद बैठकलाई शुभकामना: पत्रकारिता क्षेत्रलाई पनि सुनियोस्- उपाध्यक्ष पोख्रेल

संसद बैठकलाई शुभकामना: पत्रकारिता क्षेत्रलाई पनि सुनियोस्- उपाध्यक्ष पोख्रेल

दाङ, २७ वैशाख ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले उत्पन्न सङ्कट र लकडाउनकाबीच सङ्घीय संसदको बैठक हिजाे शुक्रवारदेखि शुरु भएको छ । यो बजेट अधिबेशन पनि हो । त्यसैले धेरै क्षेत्रका आआफ्नै अपेक्षा हुनु स्वभाविक छ ।
कोरोना सङ्क्रमणको प्रतिकुल अवस्थाकाबीच अन्य क्षेत्रले जस्तै पत्रकारिता एवम् सञ्चार क्षेत्रले पनि यो बजेट अधिवेशनबाट खास अपेक्षा राखिरहेको छ ।

पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघले अर्थमन्त्रीलाई पत्र लेखेरै पत्रकारिता क्षेत्रलाई विशेष रुपमा सम्बोधन गर्न आग्रह गरिसकेको छ ।
बजेट अधिवेशन शुरु भएको सन्दर्भमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले शुभकामना व्यक्त गर्दै यो अधिवेशनले पत्रकारिता क्षेत्रलाई पनि समेट्न सकाेस् भन्ने अपेक्षा व्यक्त गर्नुभएकाे छ ।

साथै पत्रकारितालाई पनि सम्बाेधन गर्नु अनुराेध गर्नुभएकाे छ । पत्रकारिता क्षेत्रका लागि राज्य तहबाट विशेष प्याकेज र दीर्घकालीन योजना आउन जरुरी रहेकोमा उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।
महासंघका उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘कोरोनाको सङ्कटले धेरै कुराहरुमा नयाँ ढङ्गले सोच्ने, योजना बनाउने र बजेट बिनियोजन गर्नुपर्ने अवस्था देखिएको छ । नेपालको पत्रकारिता क्षेत्रले पनि यो सङ्कटको समयमा नयाँ र कठिन अनुभव हासिल गरेको छ । ती अनुभवका आधारमा पत्रकारिता क्षेत्रका लागि पनि फरक ढङ्गले सोच्नुपर्ने देखिन्छ ।’
‘राज्य तहबाटै तत्कालका लागि विशेष प्याकेज र दीर्घकालका लागि योजनाहरु आउन जरुरी देखिएको छ । जनताको आवाज मुखरित हुने संसदमा यो विषयमा पनि छलफल होस् र सरकारले आउँदो बजेटमा पत्रकारिता क्षेत्रलाई पनि विशेष ढङ्गले सम्बोधन गरियोस्’ उहाँको आग्रह छ ।
पत्रकारिता क्षेत्रका लागि बजेटमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल अब तत्काल शुरु हुनै पर्नेमा पनि उहाँले जोड दिनुभएको छ । पत्रकार महासंघले आफ्ना धारणा लिखित रुपमा सरकारलाई बुझाई सकेको र थप छलफल आवश्यक परेमा त्यसका लागि तयार रहेको पनि उहाँले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*