Home / Feature Breaking news / भारतीय सीमा क्षेत्रबाट काेराेनाकाे जोखिम

भारतीय सीमा क्षेत्रबाट काेराेनाकाे जोखिम

नयाँदिल्ली — नेपालमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउनलगायतका उपाय अवलम्बन गरिए भारतका सीमावर्ती राज्यहरूमा बढ्दो कोरोना संक्रमण र कमजोर स्वास्थ्य सेवासम्बन्धी पूर्वाधारका कारण नेपालमा भाइरसको संक्रमणको जोखिम लामो समयसम्म रहने देखिन्छ ।

नेपाल र भारतबीच एक हजार ८ सय ८० किलोमिटर लामो सीमा छ । त्यो सीमा भारतका उत्तरखण्ड, उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र सिक्किम राज्यसँग जोडिन्छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले संक्रमणको सघनताको आधारमा भारतका ४२४ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको छ ।

संक्रमण उच्च भएका १३० जिल्लालाई रातो, संक्रमण सीमित भएको र पछिल्ला दिनमा बृद्धि नदेखिएका २८४ लाई सुन्तला र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई हरियो क्षेत्र निर्धारण गरिएको छ । यो वर्गीकरणमा उत्तरप्रदेश, बिहार र पश्चिम बंगालका सीमावर्ती जिल्लाहरूलाई पनि जोखिमयुक्त क्षेत्र निर्धारण गर्दै रातो र सुन्तला रङ दिइएको छ । संक्रमण फैलिने क्रम विद्यमान रहेकाले ती जिल्लाहरूलाई जोखिमयुक्त भनिएको हो ।

उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमितको संख्या २७ सय नाघेको छ भने बिहारमा ५१७ जनामा संक्रमण पुष्टि भएको छ । उत्तरप्रदेशका नेपालसँग जोडिएका पिलिभित, लखिमपुर खेरी, बहराइज, श्रवस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जलाई जोखिमयुक्त क्षेत्र (सुन्तला रङ) तोकिएको छ ।

जसमध्ये सबैभन्दा बढी बहाराइचमा १४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी महाराजगन्जमा ६, लखिमपुरी खेरीमा ४ र पिलिभितमा २ दुईजनामा संक्रमण पुष्टि भएको छ । बिहारको कुरा गर्दा भारतको केन्द्र सरकारले नेपालसँग सीमा जोडिएका पूर्वी चम्पारम, मोतिहारी, सितामढी, मधुवनी, सुपौल, अररिया र किसनगन्ज सबै जिल्लालाई जोखिमयुक्त क्षेत्र भनेको छ ।

त्यसैगरी पूर्वी नेपालको सीमावर्ती भारतीय राज्य पश्चिम बंगालमा पनि विगत केही दिनयता संक्रमणको विस्तार उच्च छ । पछिल्लो दुई दिनमा मात्र दुई सय जना संक्रमित थपिएका छन् । पश्चिम बंगालको पनि दार्जिलिङ नेपालीहरूको बाक्लो आउजाउ हुनेमा पर्छ ।

तर, त्यही जिल्लालाई भारत सरकारले उच्च जोखिममा रहेको भन्दै रातो क्षेत्र तोकेको छ । पश्चिम बंगालमा सोमबार बिहानसम्म नौ सयभन्दा बढी संक्रमण देखिएको छ । जसमध्ये नेपाली भाषी बहुल क्षेत्रहरू दार्जिलिङमा ४ जनामा, जलपाईगुडीमा ५ र कालिम्पोङमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालको भारतसँगको सीमामा अधिकांश भाग उत्तरप्रदेश र बिहार राज्यअन्तर्गत पर्छ । र, दुवै प्रदेश उच्च जनघनत्व भएका राज्यमा पर्छन् । उत्तर प्रदेशको मात्रै करिब २३ करोड जनसंख्या छ भने बिहारको जनसंख्या १२ करोड हाराहारी छ । तर, स्वास्थ्य पूर्वाधारका हिसाबले यी दुई राज्य अन्यको तुलनामा निकै पछाडि मानिन्छन् । उत्तर प्रदेशमा २३ करोड जनसंख्याका लागि कोरोना भाइरसको परीक्षणका लागि सरकारी र निजीसमेत गर्दा २३ वटा प्रयोगशाला मात्र छन् । त्यसैगरी बिहारमा त त्यस्तो सुविधा सातवटामा मात्र छ । पश्चिम बंगालमा १७ वटा प्रयोग शाला छन् । जबकि पश्चिम बंगालको जनसंख्या नौ करोडभन्दा बढी छ । उत्तराखण्डमा पाँच वटा प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण हुने गरेको छ ।

नेपालसँग सीमा जोडिएका यी भारतीय राज्यहरूमा एकातिर संक्रमण बढिरहेको छ भने परीक्षण दर पनि निकै कमजोर छ । विज्ञहरूले यी राज्यमा जनसंख्याको तुलनामा संक्रमितको संख्या कम हुनुका पछाडि परीक्षण कम हुनुलाई नै प्रमुख कारण ठानेका छन् । पछिल्लो तथ्यांक अनुसार बंगाल, बिहार र उत्तर प्रदेशमा भारतको औषत भन्दा निकै कम मात्र परीक्षण भइरहेको छ । भारतको परीक्षण हाल औसत हाल ८ सय ५० बढी छ ।

त्यसमाथि स्वास्थ्य क्षेत्रको पूर्वाधार पनि निकै कमजोर मानिन्छन् । बिहार र उत्तरप्रदेश त भारतका अन्य राज्यहरूको तुलनामा स्वास्थ्य क्षेत्रका पूर्वाधारका हिसाबले पनि सबैभन्दा कमजोरमध्येमा पर्छन् । बिहारमा मात्र २७ प्रतिशत जनसंख्यामा शुलभ शौचालय उपयोग गर्छन् ।

त्यसैगरी उत्तरप्रदेशमा पनि ४७ प्रतिशतसँग मात्रको पहुँच छ । यी दुवै सरसफाइ र सार्वजनिक स्वास्थ्यको हिसाबले भारतका अन्य राज्यहरूको तुलनामा सबैभन्दा पुछारमा पर्छन् । ग्रामीण क्षेत्रको अवस्था त झनै नाजुक छ । बिहारमा १८ प्रतिशत र उत्तरप्रदेशमा करिब २९ प्रतिशतसँग मात्र शौचालयको पहुँच छ । अस्पतालको बेडको उपलब्धता पनि निकै न्यून छ । भारतमा प्रति हजारका लागि औसत ०.५५ शय्या रहेकोमा बिहार र उत्तरप्रदेशमा त्योभन्दा निकै कम छ । बिहारमा त एक हजारका लागि ०.११ मात्र शय्या छ ।

तीन वर्ष उत्तरप्रदेशको गोरखपुरको एउटा सरकारी अस्पतालमा अक्सिजन समयमा उपलब्ध नहुँदा एक साताभित्रै ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो । जबकि गोखरपुर स्वास्थ्य पूर्वाधारका हिसाबले उत्तरप्रदेशका अन्य जिल्लाको तुलनामा राम्रो मानिन्छ । तर गोरखापुरमै त्यस्तो घटना हुनुले राज्यका अन्य जिल्लाहरूको अवस्था कति दयनीय छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

भारत सरकारले अघिल्लो बुधबारदेखि लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका प्रवासी कामदारहरूको आउजाउ खुला गरेपछि यी दुई राज्यमा कोरोनाको संक्रमण बढ्ने सक्ने आशंका गरिएको छ । भारत सरकारले अलपत्र परेका कामदारहरूलाई आआफ्नो गाउँ फर्किनका लागि विशेष रेल सेवा नै सुरु गरेको छ ।

बिहार र उत्तरप्रदेशबाट रोजगारीका लागि महाराष्ट्र, दिल्ली, कर्नाटक, तमिलनाडु, गुजरातमा बढी जाने गरेका छन् । र, लकडाउनका कारण तिनै राज्यमा प्रवासी कामदारहरू अलपत्र परेका छन् । ती राज्यहरूमा नै कोरोनाको संक्रमण उच्च देखिएको हुँदा उनीहरू आआफ्नो घर फर्किँदा संक्रमण ल्याउने जोखिम पनि त्यत्तिकै रहेको देखिन्छ ।

भारतका यी सीमावर्ती राज्यमा कोरोना संक्रमणको नियन्त्रण र रोकथाममा कस्तो प्रगति हुन्छ त्यसले नै नेपाललाई पनि प्रभाव पार्ने निश्चित छ । किनभने संक्रमणलाई रोक्न सीमा बन्द गरिए पनि लुकिछिपी बिहार र उत्तरप्रदेशबाट नेपाल छिर्ने क्रम रोपिएको छैन । पछिल्लो समय उदयपुर, नेपालगन्ज र भैरहवामा पुष्टि भएको संक्रमण यिनै सीमावर्ती राज्यबाट लुकिछिपी जानेहरूबाट फैलिएको देखिन्छ । त्यसैले भारतका सीमावर्ती राज्यमा कोरोना पूर्णत: नियन्त्रणमा नआउन्जेलसम्म मानिसहरूको आउजाउमाथि कडा निगरानी राख्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*