काठमाडौं । बाँकेको नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि देशभरको लकडाउनमा कडाइ गरिएको छ । थप जोखिम नबढोस् भनेर लकडाउन कडाइ गरिएको हो ।
लकडाउन केही खुकुलो हुने अनुमान गरिए पनि नेपालगन्जमा १५ जनामा संक्रमण देखिएपछि चुनौती बढेको भन्दै थप कडाइ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) नीरज शाहीले बाह्रखरीलाई जानकारी दिए । “सीमाबाट हुनसक्ने घुसपैठमा कडाइ गर्छौं । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ गर्छौं,” उनले भने, “बढ्दो जोखिमबारे नागरिक आफैं सचेत हुन जरुरी छ ।”
उनले कोरोना संक्रमण भए सबैभन्दा पहिले आफ्नै परिवार जोखिममा पर्नेतर्फ सबैले सोच्नुपर्ने बताए । यस्तै काठमाडौं उपत्यकामा पनि लकडाउनमा कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । उनले काठमाडौं भित्रिने नाकामा समेत उच्च निगरानी राखिएको जानकारी दिए ।
डीआईजी पोखरेलले भने, “तुलनात्मक हिसाबले काठमाडौं सुरक्षित देखिएको छ । अब यहाँ भित्रिने नाका बिरामी र अत्यावश्यक कुराको यकिन गरेर मात्रै प्रवेश गर्न दिन्छौं । पासको सही सदुपयोग भएको छ कि छैन पनि यकिन गर्छौं ।”