Home / Feature Breaking news / रुपन्देही र बाँकेमा संक्रमित भेटिएपछि गाउँ र सीमामा विशेष निगरानी

रुपन्देही र बाँकेमा संक्रमित भेटिएपछि गाउँ र सीमामा विशेष निगरानी

बुटवल, नेपालगन्ज — रूपन्देहीको सीमावर्ती गाउँमा कोभिड–१९ का संक्रमित फेला परेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । संक्रमित युवक फेला परेको कोटहीमाई गाउँपालिका–१, सिपवा र पुनर्हवा गाउँमा विशेष निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

‘संक्रमित युवकको परिवारका सात जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ,’ उनले भने, ‘रिपोर्ट आएपछि थप निर्णय गर्छौं ।’

सिपवाका २५ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको गाउँ भारतसँगको सीमानजिकै छ । १५ दिनअघि भारतको राजधानी नयाँदिल्लीबाट घर आएका उनलाई घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो । उनलाई क्वारेन्टाइनमा पुर्‍याउने उनका दाजु गाउँमा डुलेकाले स्थानीयमा त्रास बढेको छ । सिपवा गाउँमा झन्डै १ सय ५० घरधुरी छन् ।

कोटहीमाई–१ का वडाध्यक्ष रामजन जैसवालले सबै टोल र गाउँमा युवा परिचालन गरेर पूर्ण निगरानी गरिएको बताए । गाउँ प्रवेश गर्ने सडक नाकामा बाँस र मुढा राखेर सवारीसाधन चल्न रोक लगाइएको छ ।

सीमा क्षेत्रमा निगरानीका लागि साविकको भन्दा धेरै संख्यामा सुरक्षाकर्मी खटाइएका छन् । तर भारतबाट लुकेर आउने क्रम रोकिएको छैन । अधिकांश सीमामा खेत र जंगल क्षेत्र छ । त्यहाँबाट ओहोरदोहोर भइरहेको स्थानीयले बताए ।रूपन्देहीमा मात्र झन्डै ६० किलोमिटर खुला सीमा क्षेत्र छ । त्यहाँबाट दिनमा चार सयसम्म पैदलै हिँडेर छिर्ने गरेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्र शुक्लले बताए । ‘बिहीबार राति पनि दिल्लीदेखि हिँड्दै आएका एक जनालाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेका छौं,’ उनले भने ।

सीमा सिल गरेपछि पनि प्रदेश ५ भर २५ हजारदेखि ३० हजारसम्म भारतबाट आएको प्रदेशको सामाजिक विकास मन्त्रालयकै अनुमान छ । रूपन्देहीमा मात्र २ हजारभन्दा बढी भित्रिएको आशंका छ । तीमध्ये रूपन्देहीमा झन्डै ३ सय र प्रदेशभर १ हजार ६ सय मात्र क्वारेन्टाइनमा छन् । अन्यका बारे केही अत्तोपत्तो छैन । लुकेर आउनेको खोजी गर्न र विवरण तयार गर्न प्रदेश सरकारले वडा तहसम्म निर्देशन दिएको छ । तर, वडाबाट विवरण नै उपलब्ध हुन सकेको छैन । प्रदेश सरकारले कोभिड–१९ ट्रेसिङ एप पनि ल्याएको छ । शुक्रबारसम्ममा १ हजार १ सय जनाले उक्त एप डाउनलोड गरेको प्रदेश सूचना तथा सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले बताए ।

सर्त राखेर स्वाब संकलन

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ स्थित ६० वर्षीय वृद्धलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बस्ती सिल गरिएको छ । स्थानीयलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । संक्रमित व्यक्ति दिनहुँ मस्जिदमा नमाज पढ्न आउजाउ गर्थे । थप संक्रमण फैलन नदिन नेपालगन्ज–८ को अन्सारी टोलमा शनिबार स्वाब संकलनका लागि स्वास्थ्यकर्मी पुगेका थिए । बिहान ११ बजे बस्तीमा पुगेका स्वास्थ्यकर्मी, प्रशासन र सुरक्षाकर्मीको समूहले स्वाब संकलनमा सहमति जुटाउन संघर्ष गर्नुपर्‍यो ।

सुरुमा स्थानीयलाई महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राख्ने प्रशासनको योजना थियो । जसको स्थानीयले विरोध जनाए । रोजा (व्रत) बस्नुपर्ने भएकाले घरमै बस्न पाउनुपर्ने उनीहरुको सर्त थियो । स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति नरेश श्रेष्ठले स्थानीय सहमत नभएपछि गाउँलाई क्वारेन्टाइन बनाउनुपरेको बताए । सर्वसाधारणले कोरोना भाइरसको प्रकृति, सुरक्षा र गम्भीरता नबुझिदिँदा सहजै काम गर्न नसकिएको उनले गुनासो गरे । उनका अनुसार शनिबार अपराह्नसम्म संक्रमितका परिवारका सदस्यसहित स्थानीय ९० जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

स्थानीयले बस्ती छिर्ने चोक र गल्लीमा बाँसको तगारो राखेका छन् । प्रहरीले वडा सिल गरिएको जनाए पनि थप सतर्कता नअपनाएको स्थानीयको गुनासो छ । ‘प्रहरीले गर्ने काम समुदाय मिलेर गरेका छौं,’ स्थानीय जमालुद्दिन अन्सारीले भने, ‘अहिलेसम्म टोललाई सेनिटाइज पनि गरिएको छैन, भोलि थप जोखिम बढ्यो भने के गर्ने ?’ संक्रमण फैलिन नदिन वडा कार्यालयले पनि खासै वास्ता नगरेको उनले बताए ।

स्थानीय नासिर अन्सारीका अनुसार संक्रमित व्यक्तिको घाँटीमा समस्या थियो । लामो समयदेखि सास फेर्नसमेत कठिनाइ हुने गरेको बताउँथे । ज्वरो, रुघाखोकी केही समस्या थिएन । नेपालगन्ज–८ का अध्यक्ष सुरेन्द्र गुप्ताका अनुसार संक्रमित व्यक्तिले मदरसामा पढाउनेबारे आफूलाई जानकारी नभएको बताए । अन्सारी टोलमा १ सय ५० घरधुरी छन् । यस वडामा १/१ वटा मस्जिद, मदरसा र मन्दिर छन् ।

बर्दियामा निषेधाज्ञा

बर्दियामा निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलेसीमा बन्द गरिएको पुष्टि गरे । उनका अनुसार सीमामा प्रहरीका अलावा पालिकाहरूले युवाहरूलाई स्वयंसेवकका रूपमा खटाएका छन् । ‘शनिबारदेखि अझ कडाइ गरेका छौं । बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका मुख्य नाका पूर्णरूपमा बन्द छन्,’ उनले भने, ‘लकडाउनको अवधिसम्म जिल्लामा निषेधाज्ञा लगाइएको छ ।’

सीमामा नेपाली सेना पनि परिचालन गरिएको छ । जिल्लामा एम्बुलेन्स, स्वास्थ्यकर्मी, सञ्चारमाध्यमका सवारीसाधनबाहेकका आवतजावत पूर्णरूपमा निषेध गरिएको छ । तरकारी, खाद्यान्न र कोइला बोक्ने सवारीसाधनलाई पनि रोक लगाइएको बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले बताए ।

‘नेपालगन्ज सीमासँगै जोडिएको क्षेत्रमा जोखिम बढेको छ । त्यसैले बढी सतर्कता अपनाएका हौं,’ उनले भने । यसअघि छिमेकी जिल्ला कैलालीमा कोरोनाको संक्रमण देखिएपछि पश्चिम सीमा बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*