Home / Feature Breaking news / भारतमा एकैदिन १३०० संक्रमित
भारतको राजधानी नयाँदिल्लीमा कीटाणुनाशक रसायन छर्किँदै तस्बिर स् रोयटर्स

भारतमा एकैदिन १३०० संक्रमित

नयाँदिल्ली — भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएको छ ।

योसँगै आइतबार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करिब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् । पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको छ । स्वास्थ्य मन्त्रालले आइतबार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण उच्च देखिएपछि सोमबार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्नेरनगर्नेमा अन्योल देखिएको छ । मन्त्रालयले उक्त निर्णय संक्रमण दर उच्च रहेका क्षेत्रमा लागू नहुने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताएका थिए । त्यहीअनुसार भारतको गृह मन्त्रालयले छुट पाउने क्षेत्र र व्यवसायलाई समेटेर निर्देशिका जारी गरेको थियो । तर आइतबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले त्यस्तो छुट संक्रमणको जोखिम नरहेका क्षेत्रमा मात्र लागू हुने जनाएको छ ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आइतबार नै लकडाउनमा तत्काल कुनै छुट नदिने बताएका छन् । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि लकडाउन खुकुलो बनाउने योजना नरहेको बताएका छन् ।

यसैबीच भारत सरकारले कोभिड–१९ को संक्रमण देशव्यापी रूपमा फैलनमा दिल्लीको निजामुद्दिनमा अघिल्लो महिना भएको इस्लामिक भेला जिम्मेबार रहेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले शनिबारसम्ममा पहिचान भएका कोरोना भाइरसका केसमध्ये करिब ३० प्रतिशत उक्त भेलासँग सम्बन्धित रहेको दाबी गरेका हुन् ।

अग्रवालले तमिलनाडुका ८४ प्रतिशत, तेलंगनाका ७९ प्रतिशत, दिल्लीका ६३ प्रतिशत, उत्तरप्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशका ६१ प्रतिशत कोभिड–१९ का केस निजामुद्दिन भेलासँग सम्बन्धित रहेको बताए । साथै दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि इस्लामिक भेलाका कारण दिल्लीमा संक्रमण धेरै फैलिएको बताएको भारतीय सञ्चार माध्यले जनाएका छन् । ‘दिल्लीको जनसंख्या २ प्रतिशत मात्र भए पनि देशभरि पहिचान भएका केसमध्ये १२ प्रतिशत दिल्लीमा हुनुका पछाडि सोही भेला हो,’ केजरीवाललाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ ।

थप ३ नेपाली संक्रमित

उत्तरप्रदेश राज्यको बागवत जिल्लास्थित खेखडा पुगेका तबलिगी समुदायका नेपालीमध्ये थप तीन जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यसअघि उनीहरूमध्ये ६५ वर्षीय एक वृद्धामा मात्र भाइरस देखिएको थियो ।

स्थानीय प्रहरीका अनुसार तबलिगी समुदायको सदस्य रहेका २८ जना नेपाली मुसलमान अघिल्लो महिना खेखडा पुगेका थिए । तीमध्ये चार जनामा संक्रमण पुष्टि भएको हो । प्रहरी उपरीक्षक प्रतापगोपेन्द्र यादवले थप तीन जनामा भाइरस देखिएको कान्तिपुरलाई बताए । ‘पहिले एक जनामा मात्र कोरोना भाइरस पुष्टि भएकामा पछि थप तीन जनामा पनि संक्रमण देखिएको छ,’ यादवले भने ।

भारतका विभिन्न राज्यमा पहिचान भएका बिरामीहरू सबैजसो तबलिगी भेलाका सहभागी भएको खुलेपछि भारतको गृह मन्त्रालय र मातहतका निकायले उक्त भेलाका सबै सहभागीको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले अप्रिल १ मा उत्तरप्रदेशको बागवत जिल्लामा पर्ने खेखडाको मस्जिदबाट २८ जना नेपाली मुसलमानलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरू पहिले दिल्लीको इस्लामिक भेलामा सहभागी भएको भनिएकामा अनुसन्धानमा उनीहरू खेखडालगायतका ठाउँका विभिन्न स्थानीय मस्जिदको भेलामा मात्र सहभागी भएको प्रहरीले बताएको छ ।

उपरीक्षक यादवका अनुसार उनीहरूसँगै खेखडाकै भेलामा सहभागी हुन नेपालबाट आएका हुन् । ‘अहिलेसम्मको अनुसन्धानमा उनीहरू दिल्ली गए पनि निजामुद्दिनको इस्लामिक भेलामा सहभागी भएको देखिएको छैन । उनीहरू यहीँकै जमात ९भेला० का लागि आएको देखिएको छ,’ यादवले भने । तर अनुसन्धानमा उनीहरूले दिल्ली ओहोरदोहोर गरेको र त्यही बेला अरूसँगको सम्पर्कबाट संक्रमणको आंशका गरिएको यादवले बताए ।

प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरू सबै मार्च ११ र १९ मा खेखडा पुगेको खुलेको थियो । तीमध्ये अधिकांश सुनसरी जिल्लाका र केही सप्तरी निवासी भएको प्रहरीको भनाइ छ । प्रहरीले नियन्त्रण लिएपछि सबैलाई क्वरेन्टाइनमा पठाइएको थियो । भोलिपल्ट उनीहरू सबैको स्वाब संकलन गरेर स्वास्थ्य परीक्षणका लागि पठाइएको थियो । सुरुमा कोरोना भाइरस पुष्टि भएका एक जनालाई खेखडाकै स्थानीय अस्पतालमा राखिएकामा पछि सबै संक्रमित नेपालीलाई मेरठको कोभिड–१९ संक्रमितका लागि छुट्याइएको अस्पतालमा राखिएको समेत यादवले बताए । उनका अनुसार हाल उनीहरूको अवस्था सामान्य छ ।

यसअघि दिल्लीको निजामुद्दिनमा भएको तबलिगी भेलामा सहभागी अर्का एक नेपालीमा पनि कोरोना संक्रमण देखिएको थियो । दिल्लीको भेलामा सहभागी भएर अन्य सात जना नेपालीसहित हरियाणाको अम्बाला पुगेका पर्सा निवासी ६६ वर्षीयमा पनि संक्रमण पुष्टि भएको थियो । उनी अम्बालाकै सिटी अस्पतालमा दस दिनको उपचारपछि निको भइसकेका छन् ।

नयाँदिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका पर्सा निवासी ती नेपालीलाई २ अप्रिलमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनलाई तत्कालै अम्बालाकै सिटी अस्पतालमा राखिएको थियो । संक्रमित बिरामी इस्लामिक भेलाकै सहभागी अन्य सात जना नेपालीसहित अम्बला पुगेका थिए । उनीहरू अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । त्यही क्रममा प्रहरीले उक्त मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो ।

त्यसपछि उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वरेन्टाइनमा पठाएको थियो । क्वरेन्टाइनमा पठाइएका नेपालीहरूमध्ये एक जनामा मात्र संक्रमण देखिएको थियो । अन्य सात नेपाली पनि पर्साकै हुन् ।

खेखडामा संक्रमण पुष्टि भएका थप तीन जनासहित भारतमा कोभिड–१९ संक्रमित नेपालीहरूको संख्या १५ पुगेको छ । तीमध्ये १० जना भारतमा काम गर्न बसेका नेपाली हुन् । बाँकी पाँच जना इस्लामिक भेलाका लागि नेपालबाट आएकाहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*