Home / समाचार / बिहीबारदेखि वैशाख १८ गतेसम्म उल्का वर्षा सक्रिय हुने
तस्बिरः नेपाल एस्ट्रोनोमिकल सोसाइटी

बिहीबारदेखि वैशाख १८ गतेसम्म उल्का वर्षा सक्रिय हुने

काठमाडौं :

यो वर्षको पहिलो उल्का वर्षा (वीणा) बिहीबार रातिबाट सक्रिय भएको छ।

बिहीबार राति आठ बजेबाट सक्रिय भएको उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।

यसको उत्कर्ष रूप वैशाख ९ र १० गते राति साढे दस बजेपछि बिहान सूर्योदय अघिसम्म हेर्न सकिने बताइएको छ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

‘थ्याचर नामक पुच्छ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गर्छ,’ उनले भने, ‘थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ।’

उल्का वर्षा बिस्तारै सक्रिय हुँदै सक्रियताको मध्य समयतिर अत्यधिक सक्रिय हुन्छ भने विस्तारै घट्दै जान्छ।

के हो उल्का वर्षा?

पुच्छ्रेतारा वा धुमकेतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कणहरु छोड्ने गर्छन् जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छ।

यसरी फैलिएका धुलोका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धुलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भनिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*