Home / Feature Breaking news / वैशाख १५ सम्म लकडाउन, १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

वैशाख १५ सम्म लकडाउन, १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनकाअनुसार लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ । त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ ।

सरकारले अन्तिमपटक थपेको लकडाउनको समयावधि बुधबार सकिँदै थियो । मुलुकभित्र कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले थप १२ दिन बढाइएको हो । सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो ।

चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले आठदिन थपेर चैत २५ गतेसम्म पुर्‍याएको थियो । उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा एकसाथ तीनजनामा सङ्क्रमित फेला पर्दै कोरोना नयाँ चरणमा प्रवेश गरेपछि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले थप आठदिन थपेर वैशाख ३ गतेसम्म कायम गरिएको थियो ।

सोमबारसम्म कोरोना सङ्क्रमितको संख्या १६ जना पुगेको छ । पछिल्लो नौ दिनसम्म नयाँ सङ्क्रमित फेला परेका थिएनन् ।  आइतबार एकैदिन तीनजना र सोमबार दुईजना नयाँ सङ्क्रमित थपिएका हुन् । आइतबार थपिएका तीनैजना नागरिक भारतीय हुन् ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा तीनजनामा कोरोना आशंका गरिएको थियो । मंगलबार ती मध्ये दुईजनामा सङ्क्रमण पुष्टि भएको छ । ती एकाघरका सदस्य हुन् । हालसम्म प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित फेला परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*