Home / Feature Breaking news / कोरोना भाईरसः प्रदेश ५ मा ६ अस्पताल बनाउने, लकडाउनको विश्लेषण गर्ने जिम्मा सीडीओलाई

कोरोना भाईरसः प्रदेश ५ मा ६ अस्पताल बनाउने, लकडाउनको विश्लेषण गर्ने जिम्मा सीडीओलाई

दाङ, ८ चैत

कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि प्रदेश ५ सरकारले ६ वटा आइसोलेसन वार्डयुक्त अस्पताल बनाउने भएको छ । कोरोना रोकथाम तथा उपचारका लागि र्‍यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको प्रदेश ५ सरकारले लकडाउनको अवस्था विश्लेषण गर्ने जिम्मेवारी सीडीओहरुलाई समेत तोकेको छ ।

कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीमा ३, बाँकेमा २ र दाङमा एउटा अस्पताल बनाउने निर्णय गरेको हो ।

अस्पताल बनाउन रुपन्देहीको बुटवल धागो कारखाना, भैरहवाको भीम अस्पताल र देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस तोकिएको छ । त्यसैगरी बाँकेमा क्यान्सर रोग अस्पताल र नेपाल प्रहरीको अस्पतालमा तथा दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पतालमा आइसोलेसनयुक्त अस्पताल बनाउने प्रदेश सरकारको तयारी छ । आइसोलेसन तथा ट्रिटमेन्ट अस्पताल निर्माणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टिम रहने छन् ।

बुटवल धागो कारखानामा निर्मित एक सय शय्याको अस्पताल भने शनिबारबाटै सञ्चालनमा ल्याउने तयारी छ ।

लकडाउनको विश्लेषण गर्ने जिम्मेवारी तोकियो

यस्तै सरकारले सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । टीमका सदस्यहरुमा सामाजिक विकास मन्त्रालयका सचिव, सम्वन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेण्ट छन् ।

कोरोना संक्रमणको कारण कुनै क्षेत्र लकडाउन गर्नुपर्ने अवस्थाको विश्लेषण गर्न र सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निर्णय लिने जिम्मेवारी पनि बैठकले सीडीओहरुलाई दिएको छ ।

पोखरेलले बजारमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीहरुको संयोजकत्वमा बजार अनुगमन समूह बनाई नियमित अनुगमन गर्न पनि निर्देशन दिएका छन् ।

त्यस्तै प्रदेश सरकारले भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक काम बाहेक नेपाल प्रवेशमा रोक लगाउने र भारतबाट नेपाल भित्रिने सवारी साधनलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्र आउने व्यवस्था गर्न भनेको छ ।

सीमा नाकामा अत्यावश्यक बाहेक सबै आवत–जावत बन्द गर्न भारतीय समकक्षीसँग सहकार्य गर्ने, सरकारी कार्यालयमा हुने भिडलाई कम गर्ने उपाय अबलम्बन गर्ने, बजार अनुगमनलाई तीव्र्रता दिने, एम्बुलेन्सहरुको रेकर्ड राख्ने, बिरामीको उपचार गर्न आनाकानी गर्ने अस्पताल र डाक्टरहरूको रेकर्ड राख्ने लगायतका  काम गर्न मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अस्पतालमा आएका सम्भावित संक्रमित बिरामी र उनीहरुलाई आइसोलेसनमा पठाएको तथ्यांक अद्यावधिक गर्नेलगायत निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै अंगहरुलाई सतर्क रहन निर्देशन दिएका छन् । उनले कोरोनासँग सम्बन्धित सूचना सम्प्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*