Home / Feature Breaking news / धारापानीमा गुरुकुल

धारापानीमा गुरुकुल

दाङ,१ चैत । विश्वकै अग्लो त्रिशुल रहेको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारपानीमा गुरुकुल स्थापना हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नं.५ धारापानीमा रहेको धाममा हिन्दु धार्मिक सस्कारको विकासँगै दक्ष पंण्डित उत्पादन गर्ने गरि एक करोडको लागतमा गुरुकुल निर्माण गर्न थालिएको हो ।

आगामी दुई बर्षभित्र गुरुकुल निर्माण गरि पढाई सञ्चालन गर्ने गरि गुरुकुल निर्माणको तयारी अघि बढाइएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले जानकारी दिएका छन । धारापानीमा गुरुकुल र गौशाला निर्माण गर्ने गरि २०७५ सालको फागुन ११ गतेदेखि १८ गतेसम्म सञ्चालन गरिएको धार्मिक महायज्ञको लक्ष्य अनुसार गुरुकुल निर्माण गर्न थालिएको सचिव आचार्यले जानकारी दिएका छन । उनका अनुसार धार्मिक महायज्ञबाट संकलित रकमबाटै गुरुकुल निर्माणका लागि नक्सांकनको काम सकेर टेण्डर प्रक्रिया सुरु गर्न थालिएको हो ।

करिव ढाई विगाह क्षेत्रफलमा निर्माण गरिन थालिएको गुरुकुलमा विद्यार्थीहरु आवासिय सुविधासहित विद्यार्थीहरुलाई बस्ने र खेल्ने व्यवस्था गरिएको छ । बन्न थालेको नयाँ भवनमा १६ कोठाहरु रहने भएका छन । सम्पुर्ण प्रक्रिया पुरा गरेर समितिले गुरुकुल भवन निर्माणको कामलाई अघि बढाउन थालेको छ । ‘दुई बर्षभित्र गुरुकुल भवन निर्माण गरिसक्ने गरि ठेक्का दिने तयारी भैरहेको छ’,मन्दिर व्यवस्थापन समितिका सचिव आचार्यले भने,‘ भवन निर्माण भएपछि धारपानीमा सस्कारसहितको शिक्षा पढाई हुनेछ ।’ सचिव आचार्यका अनुसार गुरुकुलमा राज्यले तयार गरेको पाठ्यक्रम, नैतिक शिक्षा, सस्कृत विषय पढाई हुने भएको छ ।

त्यस्तै धारापानीमै एक करोडको लगानीमा गौशाला निर्माण गरिने भएको छ । करिव एक सय गौइहरु अट्ने गौशाला निर्माणको समेत तयारी भैरहेको छ । धारापानीमा बैद्धिक गुरुकुल र गौशाला निर्माण गर्ने मुख्य लक्ष्यसहित आयोजना गरिएको धार्मिक महायज्ञमा जग्गासहित सावा तीन करोड रकम संकलन भएको थियो ।

सयौ बर्ष लामो धार्मिक महत्व बोकेका पाण्वेश्वर धार्मिक क्षेत्र करिव ४९ विगाह क्षेत्रफलमा फैलिएको छ । २०७१ सालमा विश्वकै अग्लो त्रिुशल स्थापनासँगै पाण्वेश्वर मन्दिर चर्चामा आएको थियो । त्रिशुल ५५.५ फिट उचाई र ४४ इन्च गोलाई रहेको छ । जुन त्रिशुल विश्वकै सवैभन्दा अग्लो रहेको मन्दिर व्यवस्थापन समितिको दावी छ । त्रिशुलको फाउण्डेशनसहितको तौल १३ हजार तीन सय ८० केजी रहेको छ । त्रिशुलसँगै धारपानीमा कमल पोखरी, शिव सरोवर, ओम सागर, शंङक, १०८ गौमुखी धारा निर्माणसँगै एक हजार आठ जोडी बरपीपल रोप्ने काम सुरु गरिएको छ ।

अहिलेससम्म ५ सय ७६ जोडी बरपीपल रोपिसकेको सचिव आचार्यले जानकारी दिएका छन । पौराणिक इतिहास बोकेको पाण्वेश्वर धार्मिक मन्दिरमा पाँच पाण्डवहरु वनबासका क्रममा तपश्या गरेको विश्वास रहेको छ । अहिले घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको गोरक्ष रतननाथ मन्दिरमा गुरुकुल सञ्चालन हुदै आएको छ । यसै बर्षदेखि सञ्चालन भएको गुरुकुलमा बालबालिकाले पढ्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*