Home / Feature Breaking news / चराउन ल्याएका भेडाहरु मर्न थालेपछि किसान समस्यामा

चराउन ल्याएका भेडाहरु मर्न थालेपछि किसान समस्यामा

दाङ, १७ माघ । चिसो समयमा जाडो छल्न रुकुमबाट दाङ ल्याएका भेडाहरु अज्ञात रोगका कारण मर्न थालेपछि किसानहरु समस्यामा परेका छन । चिसो महिना रुकुममा हिउँ पर्ने हुँदा भेडाहरु पाल्न समस्या हुने गरेपछि भेडा र बाख्रा चराउनका लागि रोल्पा हुदै १६ दिन पहिले घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरीमा आईपुगेका किसानहरुका दुई सय बढि भेडाहरु मरेका छन ।

चिसोबाट बचाउनका लागि रुकुमबाट दाङसम्म ल्याईपु¥याएका भेडाहरु मर्न थालेपछि किसानहरु समस्यामा परेका हुन । एक महिनाको समयमा रोल्पा र दाङमा गरेर चार किसान परिवारका करिव दुई सय ५० भेडाहरु मरेको किसान रामकृष्ण पुनले बताएका छन । ‘रोल्पाको माडी भन्ने ठाउँमा आउँदा भेडामा समस्या देखिएको हो, त्यहाँ चिसोका कारण भेडा मरेको होला भन्ने लागेको थियो’,उनले भने,‘नयाँ ठाउँ र जंगलमा भएको कारण उपचार गर्न सकिएन, अहिले ठुलो क्षेती भयो ।’

उनीहरु पूर्वी रुकुमको भुमे गाउँपालिका वडा नं. १ लुकुमबाट दुई महिना पहिले चिसो छल्न पाँच सय भेडाहरु ल्याएर रोल्पा हुँदै दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी जंगलमा आइपुगेका थिए । पाँचपोखरी जंगलमा आईपुगेपछि धेरै भेडाहरु मर्न थालेको अर्का किसान धर्मबहादुर बुढामगर बताए ।

एउटै बगालमा रहेका भेडाहरु मर्न थालेपनि बाख्राहरुमा भने समस्या देखिएको छैन । ‘एउटै बगालमा रहेका बाख्राहरु मरेका छैनन्,तर भेडाहरु भने मुख पाक्ने, छेर्ने र झुङ्ने गर्दै मर्ने गरेका छन’,उनले भने,‘हिउँबाट बचाउनका लागि ल्याइएका भेडाहरु अज्ञात रोगका कारण मर्न थालेपछि हामी समस्यामा परेका छौँ ।’ उनका अनुसार अहिले दैनिक ५ भन्दा बढि भेडाहरु मर्ने गरेका छन । भेडाहरु मर्न थालेपनि नजिकैमा पशुको उपचार चेक जाच गर्ने ठाउँ नहुदा आफुहरुले देखाउन नपाएको बुढामगरले बताए ।

उनका अनुसार चिसो छल्न रुकुमको लुकुमबाट चार घर परिवारले पाँच सय बढि भेडा र बाख्राहरु ल्याएर रोल्पाको जलजला, भनभने, थामा, माडि हुँदै दाङको उत्तर जंगल पाँचपोखरीसम्म आइपुगेका हुन । बैशाख महिनामा रुकुम फर्कने गरि हिडेका उनीहरु भेडा मर्न थालेपछि समस्या परेका हुन । रुकुमबाट पाल्नका लागि सैघाको पाँचपोखरीमा ल्याएका भेडाहरु मर्दा किसानहरु समस्यामा परेको घोराही उपमहानगरपालिका वडा नं. १९का वडा सदस्य जंग रोकाले बताए । भेडा मरेको भएपनि कति भने थाहा नभएको बताए । ‘केही दिन पहिले उक्त ठाउँमा पाल्नका लागि ल्याइएका भेडाहरु मरेका छन’,वडा सदस्य रोकाले भने,‘तर के कारणले कति भेडा मरे भन्ने थाहा हुन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*