Home / Feature Breaking news / नयाँ स्वरुपमा अम्विकेश्वरी मन्दिर

नयाँ स्वरुपमा अम्विकेश्वरी मन्दिर

लिलाधर वली

दाङ,१४ माघ । जिल्लाकै प्रसिद्ध धार्मिक अम्विकेश्वरी मन्दिरको पुननिर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरमा रहेको मन्दिरको स्वरुप नै परिवर्तन गरेर पहिलेको मन्दिर भन्दा अग्लो र ठुलो आकारमा नयाँ आकर्षक र कलात्मक प्रविधिबाट मन्दिर निर्माण गरिएको हो ।

करिव सय बर्ष पुरानो मन्दिरको पुरातत्व विभागले दुई बर्षको अवधिमा नयाँ स्वरुपको मन्दिर निर्माण गरेको हो । नेपालको पुरानो शैली र प्रविधिको प्रयोग गरेर ढुंगा, चुना, सुर्की र काठबाट मन्दिर निर्माण गरिएको हो । नयाँ निर्माण गरिएको मन्दिरमा पहिले जस्तो सिमेन्ट, गिट्टी, इटा र छडको प्रयोग गरिएको छैन । नेपालको पुरानो सुर्की प्रविधिका माध्यमबाट प्यागोडा शैलीमा नयाँ मन्दिरको निर्माण गरिएको अम्विकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले जानकारी दिएका छन । तीन करोेड ६१ लख ५९ हजार ७ सय १३ रुपैयाको लागतमा प्रकृति÷सानु सुवाल÷पवन जेभीले मन्दिरको पुननिर्माण गरेको हो ।

पहिलेको भन्दा ठूलो र अग्लो गरि नयाँ मन्दिर निर्माण गरिएकाले मन्दिरमा अव पूजापाठका लागि भक्तजन तथा दर्शनार्थीले पहिले जस्तो समस्या भोग्न नपर्ने अध्यक्ष पोख्रेल बताए । ‘पुरानो मन्दिर सानो र साघुरो हुँदा मन्दिरमा पूजापाठमा समस्या हुने गरेको थियो’,अध्यक्ष पोख्रेलले भने,‘अव नयाँ शैलीमा मन्दिर निर्माण गरेकाले भित्र पनि फराकिलो छ, अव पहिले जस्तो समस्या हुनेछैन ।’ उनका अनुसार नयाँ मन्दिर ढुंगा,चुना,सुर्की र काठको प्रयोग गरेर निर्माण गरिएको हो । मन्दिरको छाना तामाको रहेको छ । मन्दिरको छानामा सुनको गजुर समेत राखिएको छ । पहिले २०३० सालमा पुरानो मन्दिर निर्माण गर्दा इटा, ढुङगा, माटो, बालुवा र छडलगायतका बस्तुहरुको प्रयोग गरेर मन्दिर निर्माण गरिएको थियो । मन्दिरलाई आकर्षक बनाउनका लागि भm्याल, ढोका र टुडालहरुमा समेत विभिन्न देवीदेवताका मुर्तिहरु कुदिएको छ ।जसले मन्दिरमा पूजापाठसँगै हेर्नका आउनेहरुका लागि समेत आकर्षण बनेको छ । मन्दिरको मुल ढोकाको अगाडी बाघ राख्ने बाँहेक अन्य सम्पुर्ण काम पुरा भएको समेत बताए ।

उनका अनुसार ३२ फिट उचाई रहेको नयाँ संरचनाको मन्दिर पहिलोको तुलनामा नयाँ मन्दिर भव्य, आकर्षक, कलात्मक देखिने गरेको छ । ‘पहिलेको तुलनामा अहिलेको नयाँ मन्दिर निकै आकर्षण र बुट्टाका कारण कलात्मक बनेको छ’,उनले भने,‘जसले गर्दा अम्विकेश्वरी मन्दिरको थप आकर्षण बढेको छ ।’ मन्दिरभित्र रहेको देवीगर्भ भने पुरानै आकारमा पहिलेकै स्थानमा राखिएको छ । धार्मिक मान्यता अनुसार देवीगर्भलाई सार्न नमिल्ने भएका कारण पुरानै ठाउँमा राखिएको समेत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोख्रेलले बताए ।

जिल्लामा लामो धार्मिक मान्यता बोकेको जिल्लाकै प्रसिद्ध मन्दिर २०३० सालमा निर्माण गरिएको थियो । त्यसभन्दा पहिले उक्त स्थानमा धमिराको देवल आकारमा सानो माटोको मन्दिर रहेको थियो । २०३० सालमा मन्दिर निर्माणसँगै तत्कालिन वडा महारानी रत्नराज्य लक्ष्मी शाहले मन्दिरको उद्घाटन गरेसँगै मन्दिर चर्चामा आएको अध्यक्ष पोख्रेल बताउँछन ।

मन्दिरभित्री भाग साघुरो, छाना चुहिने र पछिल्लो समय मन्दिर जीर्ण बन्दै गएपछि दुई बर्ष २०७४ मागको २९ गते २०७६ माघ मसान्तभित्र मन्दिरको पुननिर्माणको काम सक्ने सम्झौता अनुसार भत्काइएको थियो । मन्दिरको पुननिर्माण पुरातत्व विभागको मापदण्ड अनुसार गरिएको साइट इन्चार्ज इन्जिनियर पे्रमराज पोख्रेलले जानकारी दिएका छन ।

मन्दिर निर्माण भएको ४४ बर्षपछि मन्दिर व्यवस्थापन समितिको पहलमा नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागले मन्दिरको पुननिर्माणको काम गरेको हो । भक्तपुरका दश जना मिस्त्रीहरुले करिव दुई बर्षको अवधिमा मन्दिरको पुननिर्माणको काम सम्पन्न गरेको समेत इन्जिनियर पोख्रेलले जानकारी दिए ।

स्वस्थानी ब्रतकथाका आधारमा भगवान शिवले सतिदेवीको शरिर बोकेर हिड्दा उक्त स्थानमा सतिदेवीको दाहिने कान पतन भएको धार्मिक विश्वास रहेको छ । मन्दिरमा शुद्ध मनले पूजापाठ गरे इच्छा गरेको फल प्राप्त गरिने धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*