Home / Feature Breaking news / आजपनि निरन्तर वर्षा, शनिवारदेखी माैसममा सुधार

आजपनि निरन्तर वर्षा, शनिवारदेखी माैसममा सुधार

दाङ, ३ माघ

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका कारण आज दाङसहित देशैभरी बदली र वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले नेपालको पश्चिमी, मध्य भूभागमा र पुर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । मौसमविद् वरूण पाैडेलले भने, ‘‘आज दिनभरि देशैभर मौसम बदली भए पनि भोलिदेखि भने विस्तारै सुधार हुनेछ ।’’

आज शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यता, दाङमा पनि अस्ति रातिदेखि लगातार रूपमा झरी भइरहेकाे छ । लगातारकाे वर्षाका कारण चिसाे बढेकाे छ भने, जनजीवन प्रभावित बनेकाे छ ।

उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको र  पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाको दाबी छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका केही स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ ।  उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको जनाइएको छ । भोलि शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने र  पहाडी  भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने जनाइएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइ पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

यस्तै, आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली भइ पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

 आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*