Home / Feature Breaking news / सभामुख छान्दा प्रधानमन्त्रीले डाडुपन्यु आफ्नै हातमा लिन खोज्नुभयो: हरिबोल गजुरेल

सभामुख छान्दा प्रधानमन्त्रीले डाडुपन्यु आफ्नै हातमा लिन खोज्नुभयो: हरिबोल गजुरेल

हरिबोल गजुरेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले भावी सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै छ। पछिल्लो पटक आइतबारका लागि बोलाइएको बैठक नेकपाका शीर्ष नेताहरूको अनुरोधमा माघ ६ गतेसम्मका लागि रोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर पार्टीबाट भावी सभामुख टुंग्याउन प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न अनुरोध गरेका थिए।

पार्टीबाट सभामुखको उम्मेदवार छान्न ९ दिन बैठक रोकेका नेताहरूबीच भने सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ।

तत्कालै निकास निकाल्नेभन्दा पूर्वएमाले र पूर्वमाओवादी पक्षले आ-आफ्ना अडानलाई यथावत् राख्दै एकअर्कालाई गलाउने रणनीतिमा दुबै पक्ष लागेका छन्।

पूर्वमाओवादी पक्षधर नेताहरूले गतिरोधको मुख्य कारण प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन्।

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री ओलीले डाडुपन्यु आफ्नै हातमा लिन खोज्दा अहिलेको अवस्था आएको तर्क गरे। नेकपामा अहिले पनि पूर्वएमाले र पूर्वमाओवादी पक्ष रहेको र उनीहरूबीच मुख्य विषयमा भागबन्डा हुनुपर्ने उनको भनाइ छ।

‘पार्टी एकता भएपनि प्राविधिक रूपमा दुइटा समूह कायमै छन्। पार्टीको संगठनदेखि मन्त्रीसम्म भागबन्डाकै आधारमा बनाइएको छ,’ सेतोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘सभामख कसले पाउने भनेर बहस गर्ने विषय नै होइन तर अहिले यसलाई विवादको विषय बनाइएको छ। प्रधानमन्त्रीले आफू अनुकूलको व्यक्ति सभामुख बनाउन खोज्दा यस्तो भएको हो। उहाँले डाडुपन्यू सबै आफ्नै हातमा लिन खोज्नुभएको छ।’

दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा प्रतिनिधि सभाको सभामुख माओवादीको भागमा परेको थियो।

पार्टी एकता हुँदा सरकार आलोपालो गर्ने सहमति भएको भए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भएपछि यो सहमति खारेज भएको गजुरेलले बताए।

प्रधानमन्त्रीसँग कार्यकारी अध्यक्ष साटफेर गरेको भन्दै उनले पहिला आफ्नो भागमा परेको सभामुख अहिले छोड्न नमिल्ने बताए।

सतहमा हेर्दा उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिएर बैठक सरेको जस्तो देखिए पनि यथार्थमा सरकारकै कारण संसद अवरुद्ध भएको गजुरेलको भनाइ छ।

‘हुन त उहाँले राजीनामा नदिइकन कुरा मिल्दैन। यसमा प्रधानमन्त्रीकै चासो हुनुपर्ने हो,’ उनले भने, ‘सत्तापक्षकै कारणले संसदमा गतिरोध उत्पन्न हुँदा जनतामा राम्रो सन्देश गएको छैन भने पार्टीमा पनि अन्यौलता देखिएको छ।’

पुस ४ गतेदेखि संसदको हिउदे अधिवेशन सुरु भएपनि अहिलेसम्म संसदको बैठक बस्न सकेको छैन। अधिवेशन आह्वानको सुचना पढ्नका लागि पहिलो बैठक बसेको थियो।

त्यसयता चार पटकसम्म सूचना टासेर संसद बैठक स्थगित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*