Home / Feature Breaking news / भुइँमा लोकतन्त्र !

भुइँमा लोकतन्त्र !

मन्दिप भट्टराई

नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका संघर्षहरु र आन्दोलनहरु अभुतपुर्व छन् । यी संघर्षका दौरान हजारौ नेपाली छोरा छोरीहरुले सहादत प्राप्त गरे । आमाहरुका काख रित्तिए । छोरा छोरी टुहुरा भए । जनता र नेता संगै संघर्षमा होमिए । लोकतन्त्र प्राप्तिपछीको जनताको स्थिति भने कहालीलाग्दो छ ।

लोकतन्त्र पछी पनि जनताको जीवन स्तरमा केही परिवर्तन आएको छैन । लोकतन्त्र आयो तर सैद्धान्तिक रुपमा मात्र । व्यवहारमा गणतन्त्र स्थापनाको दश वर्ष पछी पनि समाज उस्तै छ । गरिबी उस्तै छ । आम जनता माथिको शोसन उस्तै छ । हामीले खोजेको लोकतन्त्र यस्तो थिएन । हामीले पाएको लोकतन्त्र वास्तवमै अपुरो छ ।

जनतासँग प्रश्न छन् तर नेतासँग उत्तर छैन । यो समयमा महंगी घटेन । राज्यले रोजगारी श्रृजना गरेन । विभिन्न क्षेत्रमा भएका सिण्डिकेटहरु हटेनन् । शिक्षा क्षेत्र नराम्ररी बिगारिएको छ । हिजो पनि जनता सिटामोल खान नपाएर मरिरहेका थिए । आज पनि जनताको हालत उही छ । जनतासँग सहज स्वास्थ्य सुविधा छैन । जनताका कुनै काम परेमा राज्य संयन्त्रले अनेकन दुख दिन्छ । झन्झट दिन्छ । काममा ढिलासुस्ती व्याप्त छ ।

नाकाबन्दी, अभाव, कालोबजारी भैरहेका बेला घरमा चुल्हो नबलिरहेको अवस्थामा पनि जनताले सरकारको विरोध सम्म पनि गरेनन् । आजका नेपालीले देखाएको राष्ट्रभाव अतुलनिय छ । ठिक उल्टो व्यवहार नेताहरु देखाइरहेका छन् । देशमा विदेशी हस्तक्षेप व्याप्त छ ।

विदेशी राष्ट्रप्रमुखको स्वागत गर्ने निहुमा सरकार जनतामाथि अघोषित रुपमा कफ्र्यु लगाउदछ । हाम्रो सार्वभौमिकतामा हिजो भन्दा बढी आज खतरा देखिदै छ । जनताले केहि बेनिफिट प्राप्त गरेका छैनन् । जनता सग मात्र निराशा छ । आज जनतामा नेता प्रति आक्रोस छ । त्यसकारण जनता सग प्रश्न छ– ‘खोइ कहाँ छ लोकतन्त्र ?’

उत्तर पनि जनता सगै छ– ‘खास लोकतन्त्र नेताहरु को खल्तीमा छ ।’ २०६२÷६३ को जनआन्दोलन पछी मात्रै नौ वटा सरकार बने । प्रचन्ड दुई पटक प्रधानमन्त्री बने । यस बीच सयौँ नेताहरु मन्त्री बने । एक हजार दुई सय नेताहरु सांसद बने ५ हजार भन्दा बढी पार्टीका कार्यकर्ताहरुले बिभिन्न निकायमा राजनीतिक नियुक्ति पाए । सँगै लडेका जनता जसका आधारमा नेताहरुले राजनीति गरे । तिनै जनताले भने केहि पाएनन् ।

नेताका छोराछोरीहरु युरोप अमेरिकाका देशहरुमा छन् । गरिबका छोराहरु खाडी मुलुकहरुमा छन् । उनीहरुका छोराले पठाएको रेमिट्यान्सले देश चलेको छ । नेताहरु बिदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जान्छन् । आफ्ना छोराछोरीलाई विदेशमा पढाउछन् । के यसैका लागि जनता लडेका थिए ? यो अत्यन्तै सरल प्रश्नको उत्तर न हाम्रा नेता दिन्छन न हामीले प्राप्त गरि रहेका छौ ।

हाम्रा नेताहरुलाई शक्ति चाहिएको छ तर कति भन्ने उनीहरुलाई नै थाहा छैन । उनीहरु जनता प्रति दायित्वबोध गर्दैनन् र जिम्मेवार हुन् सकिरहेका छैनन् । जब सम्म यो अवस्था रहन्छ तब सम्म हामीले खोजेको लोकतन्त्र स्थापित हुन् सक्दैन ।

जनता जनार्दन हुन् । त्यसै गरि जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् । हामीले बुझेको त्यहि हो । हाम्रा राज्य संचालक त्यो ढंगले सोच्दैनन् । उनीहरु जनतालाई प्रजाको रुपमा ब्यबहार गर्दछन ।

उनीहरु जनतालाई केन्द्रमा राखेर आफ्नो गतिबिधि गर्नु पर्छ भन्ने सोच्दैनन् । आफ्नो अनुकुल काम गर्नु पर्छ र आफ्ना आसेपासे नै महत्वपूर्ण हो भन्ने ठान्छन् । यस्तो लाग्छ हामीले एउटा राजा हटाएर सयौ राजालाई स्थापित गराएका छौ ।

इरफान खान मलाई मन पर्ने कलाकार हुन् । यसै वर्ष उनको एउटा फिल्म आएको छ, मदारी । जसमा उनको छोराको मृत्यु एक कमजोर रुपमा बनाएको नया पुल खसेर किचेर हुन्छ ।

त्यसपछि नायकले भ्रस्ट गृहमन्त्रीको छोराको अपहरण गर्छन । फिल्मको अन्त्य तिर नायक र ति गृहमन्त्रीबीच बहस हुन्छ । गृहमन्त्री भन्छन ‘सरकार भ्रष्ट छ यो साचो होइन, भ्रष्टाचार गर्नको लागि सरकार छ यो साँचो हो ।’ हामि ठ्याक्कै सोहि दृश्य नेपाली राजनीतिमा देखिरहेका छाँै । नेताहरु माथि भ्रस्टाचारको अभियोग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख माथि नै माहाभियोगको प्रस्ताब प्रक्रियामा छ ।

सबै तै चुप, मै चुपको अवस्थामा छन् । जनता दुवै खाले भ्रस्ताचारीलाई कारबाही होस् भन्ने ठान्छन् । हामीलाई थाहा छ, हाम्रा नेताहरुले जेलनेल भोगे, दुख गरे । उनीहरु स्वतन्त्रताको लडाई लडे । विकासको लागि लडे । आफै नेतृत्वमा हुदाँ भने उनीहरु चुकीरहेका छन् । उनीहरु जिम्मेवार हुन्, जनताको लागि लडुन । भुईका जनता त्यहि चाहन्छ्न ।

अन्त्यमा फिल्म मदारीको अर्को महत्वपूर्ण संवाद उल्लेख गर्छु । फिल्ममा गृहमन्त्रीलाइ सोधिएको एक प्रश्न हुन्छ तिमीहरु नेताहरुले के गरौ ? प्रश्नको उत्तर दिने क्रममा उनी भन्छन्– ‘हामी कहिले फेसनेबल भएर हिड्दैनौ, जहिले खादीको लुगा लगाउछौ । भोट माग्छौ । भाषण गर्छौ ।’ हाम्रा नेताहरुले नि यति मात्रै गरे ।

उनीहरुले यति नै दुख गरे र जनताको लागि भने त्यो भन्दा दुख गरेनन् । त्यसकारण जनता मात्र सोध्दछ– ‘खास लोकतन्त्र कहा छ ।’ लोकतन्त्र माथि–माथि मात्र उड्ने हो कि भुइँ सम्म पनि आउने हो । जनता भुइँमा पनि आइपुग्ने लोकतन्त्रको पर्खाइमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*