Home / Feature Breaking news / भ्रमण वर्ष २०२०ः के गर्दैछ तुलसीपुर उपमहानगर ?

भ्रमण वर्ष २०२०ः के गर्दैछ तुलसीपुर उपमहानगर ?

कार्तिक,१७ दाङ । सरकारले ठूलो संख्यामा पर्यटक भित्रायाउनका लागि सञ्चालन गर्न लागेको भ्रमण वर्ष २०२० अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजना अगाडि वढाएको छ ।
आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउने लक्ष्य अनुरुप उपमहानगरपालिकाले होमस्टे सञ्चालनदेखि पर्यटन मार्ग निर्माण सम्मको काम अगाडि वढाउन लागेको हो । ‘तुलसीपुरमा विभिन्न खालका पर्यटक भित्र्याउने लक्ष्य अनुसार हामीले काम अगाडि वढाएका छौ’,नगरप्रमुख घनश्याम पाण्डेले भने । उनका अनुसार पहिलो चरणमा प्रचार प्रसारलाई अगाडि वढाइएको छ भने दोस्रो चरणमा पर्यटकीय केन्द्रहरुलाई सुविधा सम्पन्न वनाउन लागिएको छ ।

उपमहानगरपालिकाले पर्यटक वर्षलाई लक्षित गरेर यसैवर्ष उपमहानगरपालिका भित्रका विभिन्न ठाउँमा होमस्टे सञ्चालनलाई अगाडि वढाएको छ । वडा नम्वर १९को छिल्लीकोट,४ को चमेरे गुफा, ८ को वटोलपुर, ७ को राप्ती शान्ती उद्यान र वडा नम्वर ४ को राम्री धामा लगायतका ठाउँमा होमस्टे सञ्चालनको तयारी गरेको छ । होमस्टे सञ्चालनका लागि विभिन्न ठाउँका होमस्टेहरुको अवलोकन भइसकेको र तालिम दिने काम अगाडि वढेको पर्यटक शाखा अधिकृत यशोदा वलीले वताइन् । उनले साँस्कृतिक पहिचान सहित सञ्चालन हुने होमस्टेलाई उपमहानगरपालिकाले सहयोग गर्ने समेत जानकारी दिइन् ।

उपमहानगरपालिकाले पर्यटन वर्षलाई लक्षित गरेर मुख्य पर्यटकीय गन्तव्य समेत तय गरेको छ । चमेरे गुफा, राप्ती शान्ती उद्यान, छिल्लीकोट, सुईकोट लगायतका विभिन्न स्थानको पहिचान गरेको छ । पहिचान गरिएका ठाउँहरुमा पर्यटकीय आकर्षण वढाउनका लागि पूर्वाधार निर्माणदेखि प्रचार प्रसारको कामलाई उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । “तुलसीपुरमा पर्यटकीय स्थलहरु रहेका छन् भन्ने सोचको विकासका लागि काम गरिरहेका छौ” नगरप्रमुख पाण्डेले भने ।

सबै पर्यटकीय केन्द्रहरुको आआफ्नै खालको विशेषता हुने भएकाले तुलसीपुरमा आन्तरिक पर्यटकको संख्या वढेर उपमहानगरपालिकाको दावि छ । अहिले अत्याधिक पर्यटकको आगमन हुने राप्ती शान्ती उद्यान, चमेरे गुफा र छिल्लीकोटलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि वढाइएको छ । राप्ती शान्ती उद्यानभित्र आकर्षक पदमार्ग वनाउनका लागि उपमहानगरपालिकाले ५० लाख दिएको छ भने छिल्लीकोटमा सिढीका साथै भ्युटावर निर्माण अगाडि वढेको छ । नगरप्रवक्ता सुर्यवहादुर डाँगीका अनुसार चमेरे गुफा जाने मार्ग कालोपत्रे गर्ने काम अगाडि वढेको छ । गुफालाई आकर्षक वनाउनका लागि गुरुयोजना समेत निर्माण गरिसकिएको वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण रानाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय गुफा हेर्न टाढा टाढाबाट आउने क्रम रहेको छ ।

यसैविच उपमहानगरपालिकाले अन्य पर्यटकीय क्षेत्रलाई समेत समेटेर काम अगाडि वढाएको छ । संस्कृत वाङ्गमयको केन्द्रका रुपमा रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्विय दर्शनको केन्द्रका रुपमा विकास गरेर पर्यटक भित्र्याउने लक्ष्य पनि उपमहानगरले लिएको छ । तुलसीपुरभित्र मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेका अन्य ठाउँहरुमा सुइकोट, थर्कोट,गौरीगाउँ ताल, हात्तिढुँगा,दंगिशरण दरवार, राधाकृष्ण मन्दिर, कालिका मन्दिर लगायतका रहेको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*