Home / Feature Breaking news / आज महाअष्टमी, दुर्गा भवानीको पूजा गरिँदै
flickr

आज महाअष्टमी, दुर्गा भवानीको पूजा गरिँदै

दाङ, १९ असोज । बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउँछन् । पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् ।

आजै राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

आज दाङको अम्विकेश्वरी मन्दिरसहित काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*