Home / Feature Breaking news / ५० शहरमा फाेर जी सुरू: यी हुन् शहरहरू

५० शहरमा फाेर जी सुरू: यी हुन् शहरहरू

दाङ, १५ असाेज
सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएकाे छ ।

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गरेकाे हाे ।
टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पु¥याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेकाे हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार हालसम्मको तयारी अनुसार ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ ।
त्यस्ता टावरको संख्या १५० पुगेकाे छ । हरेक दिन एक दर्जन टावरको संख्या थपिएको र दु्रतगतिमा काम भइरहेकाले तोकिए भन्दा बढी स्थानमा सेवा पु¥याउने योजनामा आफूहरु रहेको प्रवक्ता वैद्यको भनाइ छ ।
उनका अनुसार चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ । यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा शुरु हुनेछ ।
यस्तै धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ ।
तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा सेवा सञ्चालन भएकाे छ ।
फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ ।
सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पाेरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भएपनि निर्धारित समयमै काम सकिने देखिएको छ ।
टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ । टावरको फाउन्डेसन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दावी छ ।
गत असार मसान्तको विवरण अनुसार हाल टेलिकमको ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानको आवश्यक परिक्षण गरेको थियो ।

यस्तै टेलिकमले दशैंको अवसरमा आइतबार घटस्थापनादेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ ।

कम्पनीका अनुसार पहिलो पटक फोरजी नेटवर्कमा दर्ता हुने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबि डाटा बोनस पाउने व्यवस्था गरेको छ । दोस्रो र तेस्रो पुस्ताका सीम चलाइरहेका ग्राहकले सामान्य रुमपा नै आफ्नो सीमलाई फोर जी बनाउन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*