Home / Feature Breaking news / दिनदिनै तिम्रो मुख हेर्न पाउँ…
20190830_165412

दिनदिनै तिम्रो मुख हेर्न पाउँ…

विपुल पोख्रेल
लाग्थ्यो मेरा बाजस्तो कोही छैनन् । बीच–बीचमा लाग्यो मेरा बा त्यत्ति धेरै कुरा बुझ्दैनन् । आजभोलि लाग्दै छ, मेरा बा जति कुरा बुझेका सायदै कोही थिए होला । यस्तो अनुभूति चालिस कटेका धेरै व्यक्तिहरुमा भएको पाइन्छ ।
वास्तवमा मलाई पनि यस्तै अनुभूति हुन्छ । जब म सानो थिएँ, ठूलो भनेको मेरो बा मात्रै हुनुहुन्छ जस्तो लाग्थ्यो । मलाई लाग्ने मात्र होइन वा साच्चिकै महान् हुनुहुन्थ्यो । उहाँ नभएको भए म हुँदैनथिएँ । यो साश्वत कुरा हो ।
उहाँ भएका कारण म हुनु एउटा प्रक्रिया हो । व्यक्तिको जन्मलाई म यो प्रक्रियाभन्दा ठूलो कुरा मान्दैन । तर म अहिले जुन अवस्थामा छु त्यसका लागि मेरा बाले अनुकूलको वातावरण नबनाइदिएको भए पूर्णरुपमा असम्भव थियो । त्यसैले बासँगको मेरो सम्बन्ध जन्मने प्रक्रियामा मात्र सीमित छ भने भने म पूर्णरुपमा गलत हुन्छु ।
एउटा घटना याद आउँछ, मेरो छोरा पूर्व प्राइमरी स्कूलमा जान्थ्यो । स्कूल लैजाँदा उसलाई फकाउँदै बोकेर पु¥याउनु पथ्र्यो । स्कूलमा उसलाई छोडेर आउँदा ऊ निकै रुन्थ्यो । तर उसलाई स्कूलमा छोड्ने मेरो दायित्व हुँथ्यो । म स्कूलका शिक्षकहरुका अगाडि रुँदै गरेको छोरोलाई छाडेर निर्दयीझैं गेटबाट फर्कन्थेँ ।
छोरोजस्तो आवाज आउने गरी त कहिल्यै रोइन तर हरेक दिन स्कूल गेटभित्र छोराको जति आँसु झथ्र्यो गेट बाहिर मेरो त्योभन्दा धेरै आँसु झथ्र्यो । मेरो त्यो आँसु जसरी छोराले देखेन र त्यो आँसु झर्दा छोराप्रतिको मेरो भाव जसरी उसले अनुभूति गर्न सकेन मैले मेरा बाको आँसु र भाव पनि त्यसैगरी अनुभूति गर्न सकेन ।
मेरो बाले मेरा लागि, मसँगको स्पर्षबाट अलिकति टाढा हुनुपर्दा पनि आँसु झार्थे होलान् अनि गहिरो भावमा डुबेर एकान्तप्रेमी हुन्थे होलान् । हेरिडिटी भन्छन् नि ! सायद छोरालाई स्कूल छोड्दा त्यही हेरिडिटी ममा देखिएको होला । मलाई नदेखाएर मसँगको सामिप्यताबाट एकैछिन् टाढा हुनुपर्दा मेरा बाले पनि निकै आँसु झारे होलान् ।
आज म बाका सामू कति छुँ ? उनको सामिप्यमा कति छु ? हिसाबकिताब कसले राख्ला र ? तर उनले अहिले पनि मलाई त्यसैगरी खोज्दा हुन् । आँसु झार्छन् कि झार्दैनन् थाहा छैन । किनभने म उनको उमेरमा पुगेको छैन र मेरो छोरो मेरो उमेरमा पुगेको छैन । म मेरो बाको अहिलेको उमेरमा पुगेँ भने मलाई पक्कै थाहा हुनेछ उनी आजकाल मसँग टाढा हुँदा आँसु झार्छन् कि झार्दैनन् भनेर । शुक्रवार बाको मुख हेर्ने दिन । विहानै बाको कोठामा छिरेँ ।
उनले नुहाएर कपडा फेर्दै थिए । दुवै खुट्टामा साष्टाङ्ग दण्डवत् गरेँ । ‘स्वास्थ्यको ख्याल गरेस्’ – वहुमूल्य आशीर्वाद प्राप्त गरें । मेरो उमेर र सारा विषदीयुक्त खाद्यान्नले बजार छपक्कै ढाकेको बेला स्वास्थ्यको ख्याल गरेस् भन्ने आशीर्वादभन्दा वहुमूल्य आशीर्वाद केही छैन भन्ने तर्कमा खासै विमति कसैको नरहला । तर मलाई मेरो बाको वाणी नै वहुमूल्य लाग्छ । त्यसकारण पनि त्यो आशीर्वाद मेरा लागि अझै धेरै वहुमूल्य थियो । बाको अनुहार झक्क उज्यालो देखियो, विहान ।
आसिर्वचन प्रदान गर्दा एउटा कान्ति झल्किरहेको थियो, बामा । हो त्यही कान्ति हेर्छन् क्या हो सायद कुसे औंसी अर्थात् बाको मुख हेर्ने दिनमा । शुक्रवार मैले त्यो कान्ति आफ्नो आँखाबाट हेरेको मात्र होइन आफ्नो मन र मस्तिष्कमा प्रवेश पनि गराएको छु । साच्चै बाको मुख हेर्ने दिन एउटा अनौठो प्रेरणा मस्तिष्कमा प्रवेश गर्ने रहेछ । यसै कारण पूर्वीय दर्शनका विद्वान्हरुले यो दिनको महत्वलाई दर्शाउन पात्रोमा एउटा फरकखाले चिह्न लगाई सबैलाई स्मरण गराउने प्रचलन बसालेका थिए होलान् । अँ ! अर्को एउटा प्रसंग पनि स्मरणमा आयो । पूर्व प्राइमरीमा पढ्दै गर्दा मेरो छोराले एक दिन घरमा आएर लाडे स्वरमा ‘सयौं थुंगा फूलका हामी …’ सुनायो ।
मैले छोरालाई काखमा लिएँ । फेरि भन त भनें । ऊ अझ उत्साहित हुँदै मेरो काखमा बसेर ठूल्ठूलो स्वरमा राष्ट्रिय गान गाउन थाल्यो । मेरा आँखाबाट बर्रर्रर आँसु झरे । किन झरे अहिलेसम्म थाहा छैन । थाहा पाउन मन पनि छैन । आँसु झारेर ठीक गरे कि गलत गरेँ त्यो पनि थाहा छैन । तर आँसु झरे । एउटा बाबुका आँसु छोराको प्रत्येक नयाँ सिकाईमा झर्छन् क्यारे ! यही कुराको अनुभूति अलिक पछि चाहिँ भएकै हो । मैले पनि यो उमेरसम्म आउँदा बाले छोराले सिकोस् भन्ने चाहेका धेरै कुराहरु सिकें हुँला । सायद त्यतिबेला बाका पनि आँसु झरे कि ? त्यस्तै अर्को डर पनि लाग्छ ।
कतिपय छोराले नसिकोस् भन्ने कुराहरु पनि सिके कि ? सायद त्यतिबेला पनि बाका आँसु झरे कि ? ती दुवै आँसुका फरक कति धेरै छ ? मलाई लाग्छ यो फरक पनि कुनै साहित्य वा दर्शन पढेर अथवा विज्ञानको प्रयोगशालामा केमिकलहरु मिसाएर थाहा पाइँदैन । वीजगणित, अंकगणित र रेखागणितको गहिराईमा डुब्दा पनि यो दूरी भेटिएलाजस्तो मलाई लाग्दैन । यो दूरी, म मेरो बाको उमेरमा पुगेँ भने र मेरो छोरा अहिलेको उमेरमा पुग्यो भने आफै भेटिन्छ होला । नभेटिन पनि सक्छ । त्यसो त शुक्रवारको मेरो बुबाको अनुहारको कान्तिले मलाई ठूलो गोरवानुभूति गरायो ।
मलाई लाग्छ माथि भनेझैं दोस्रो कारणले मेरा बाको आँसु झरेको छैन र मेरा सम्पूर्ण प्रयास त्यो कारणले बाको आँसु झर्न नदिनेमै केन्द्रित हुनेछन् । शुक्रवारको वहुमूल्य आशीर्वचनपछिको संकल्प हो, मेरो । यति धेरै महत्व रहेछ बाको मुख हेर्ने दिनको । म बच्चै थिएँ । सायद सबै बच्चाको चाहना त्यही हुन्छ होला । आमासँग घरमा र भान्सामा रमाउने अनि बासँग बाको बूढीऔंला समाएर गाउँ टोल र बजार डुल्ने । मेरो चाहना पनि त्यतिबेला त्यस्तै हुन्थ्यो । औंला पकडेर गाउँ, टोल, बजार हिड्दै गर्दा मेरा बालाई कति जनाले नमस्ते गर्छन् भनेर गन्ती गर्थें ।
बाको अर्को हातको बूढी औंला समाएर हिड्ने मेरो दाइले पनि यो गिन्तीमा सघाउँथे । आज त यति जनाले मेरा बालाई नमस्ते गरे ! बेलुका घरमा प्रमुख समाचारका रुपमा हामी सुनाउँथ्यौं । नमस्ते किन गर्छन् बा भनेर सोध्दा मुसुक्क मुस्कुराएर भन्थे –‘अरुको पक्षमा बोलिदिने, सहयोग लिने होइन दिने कुरा हो भन्ने मान्यता राख्ने जोकोहीलाई पनि नमस्ते गर्छन्, मान्छेहरु ।’ ठ्याक्कै शब्द यिनै हुन् कि होइनन् थाहा छैन । तर आशय चाहिँ यही हो । म मेरो दाइ अनि भाइका लागि यो कुरा जीवनको एउटा मूलमन्त्र हुन पुगेको छ । जीवन जिउने कला हुनपुगेको छ ।
जीवनको सार्थकता बुझ्ने मन्त्र हुन पुगेको छ । तिनै जीवन जिउने कला सिकाउने बाको मुख हेर्न एक दिन मात्र ! यो त साह्रै ठूलो गल्ती त होइन हाम्रा पूर्वजहरुको ? तर पूर्वजले सुरु गरेको यो परम्परामा म सीमित हुन सक्दैन । हरके दिन, हरेक क्षण, हरेक पल म बालाई स्पर्ष गर्न चाहन्छु, महशुस गर्न चाहन्छु, सत्संग गर्न चाहन्छु अनि अमूल्य आशीर्वचनहरुले सिंचित भइरहन चाहन्छु । मेरा बा मैले दिनदिनै तिम्रो मुख हेर्न पाउँ … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*