Home / Feature Breaking news / ‘प्रधानमन्त्री, मन्त्रीको भनाइ मैले प्रतिपक्षीलाई बढी ‘लिभरेज’ दिएँ भन्नेछ’

‘प्रधानमन्त्री, मन्त्रीको भनाइ मैले प्रतिपक्षीलाई बढी ‘लिभरेज’ दिएँ भन्नेछ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद सरकारको छाया बनेको आरोप लगाइरहेको छ। प्रतिनिधि सभाबाट हुने कतिपय रूलिङ र संसदीय समितिले दिने निर्देशनसमेत सरकारले मान्न छाडेको छ। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि संसद सञ्चालन प्रभावकारी ढंगले गर्न नसकेको आरोप छ।

यी लगायत समसामयिक विषयमा मनोज सत्यालले सभामुख महरासँग गरेको कुराकानी:

प्रश्न : संसदको भूमिका सरकारको काम कारबाहीको लेखाजोखा र च्यालेन्ज गर्ने हो। तर प्रमुख प्रतपक्षी दलले संसद सरकारको निर्देशन मान्ने थलो बनेको आरोप लगाएको छ नि?

सभामुख : त्यो आरोप मात्रै हो। एकातिर प्रमुख प्रतिपक्षी दलले सरकारको छाया बन्यो भन्ने गरेको छ अर्कातिर सरकारले प्रमुख प्रतिपक्षी दलतिर लाग्यो भन्ने छ। त्यसकारण संसद अहिले ठीक ठाउँ छ जस्तो लाग्छ। यो आरोप एकातिर मात्र हुँदैन। एकातिरबाट एउटा आरोप र अर्कोतिरबाट अर्को आरोप लागिरहेकै हुन्छ। कतिपय कुरा सरकारलाई जुन निर्देशन दिएका छौँ, ती पूरा हुन बाँकी छन्। तर सरकारले गर्दैनौँ भनेको छैन। केही समयपछि सरकारले केही अध्ययन गरेर गर्न पनि सक्छ।

प्रश्न : तपाईं पहिला सर्लाही घटनामा संसदीय छानबिन समित गठन गर्न मान्नुभयो। प्रतिपक्षी दलले सरकारी दबाबमा फेरि पछि हट्नुभयो भनिरहेकको छ। ‍अझ बाढी पहिरोको विषयमा छलफल गर्नुको साटो प्रतिपक्षलाई नसोधी बैठक एक साता स्थगित गर्नुभयो?

सभामुख : पहिलो त छानबिनको त्यो विषयमा संसदीय अध्ययन तथा सुझाव कार्यदलमा विचाराधीन छ। त्यसले छलफल गरिराखेको छ। त्यो विषयमा कुनै टीकाटिप्पणी गर्न आवश्यक छैन। एक ढंगले त्यो विषय हल भयो।

अर्को बाढी पहिरो गएका बेला सूचना टाँसेर एक साता बैठक स्थगित भयो। अरू कारणले होइन, तराई/मधेशमा सांसदले जिल्ला जानुपर्‍यो भन्नुभयो। जिल्लामा जानु पर्ने भएकाले सारेको हो। पार्टीगत रूपमा सल्लाह नभएको हो। तर सांसदहरूको अनुरोधमा गरेको हो।

प्रश्न : तर प्रतिपक्षले त सिलसिलेवार रूपमा तपाईंको भूमिकामा प्रश्न उठाएको छ। प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख साझा हुन नसकेको आरोप लगाएका छन्। प्रधानमन्त्रीसँग प्रश्नोत्तर समेत गर्न दिनुभएन। तपाईंप्रति प्रतिपक्ष आक्रामक हुनुको कारण तपाईंकै भूमिका प्रमुख कारण होइन?

सभामुख : भूमिकामा प्रश्न उठाएर सुझाव दिने एउटा पक्ष होला। तर मैले भनिसकेँ सभामुख सत्तापक्षको होइन। सभामुख प्रतिपक्षको पनि होइन। सभामुखले सबैलाई सन्तुलित गर्ने भूमिका हुन्छ। तर उहाँहरूले आफ्नो इच्छा, राजनीति र अजेण्डाअनुसारै हुनुपर्छ भन्ने ठान्नुभएको हो भने त्यो गलत कुरा हो।

प्रश्न : तर तपाईंले प्रतिपक्षलाई अलिक दबाबमा राखेको देखिन्छ नि। चिकित्सा शिक्षा विधेयकमा पनि प्रतिपक्षको नाराबाजी बेवास्ता गर्नुभयो?

सभामुख: त्यो कुरा धेरै पहिलेको हो। त्यतिबेला उहाँहरू समितिमा सहमतिमा आउनुभएको थियो। अर्थात् असहमति लेख्नु भएको छ, प्रक्रियामा हस्ताक्षर गर्नुभएको छ । त्यस्तोमा हामी अर्को प्रक्रियामा जान मिल्दैन। कि त समितिमा उहाँहरूले बहिस्कार गरेको भए फरक हुन्थ्यो। संसदमा एउटा प्रक्रिया पालना गर्ने अर्को नगर्ने भन्न मिल्दैन।

प्रश्न : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले ‘सभामुखले फट्याइँ’ गरे भन्नुभएको छ। कांग्रेस सांसद गगन थापाले सभामुख मन्त्रीको आदेशमा काम गर्नुहुन्छ भन्नुभएको छ। यो सिलसिलेबार रूपमा तपाईंप्रति भएको टिप्पणीको कारण के हो?

सभामुख : म फेरि पनि भन्छु- प्रधानमन्त्री, मन्त्रीको भनाइ मैले प्रतिपक्षीलाई बढी ‘लिभरेज’ (बढी महत्व) दिएँ भन्नेछ। यो बुझ्नु भयो भने ठीक ठाउँमा छु भन्ने लाग्छ। ‍अनि सत्तापक्षले लगाएको आरोप आरोप नहुने। प्रतिपक्षीले लगाएको मात्र आरोप हुने भन्ने लाग्दैन।

प्रश्न : ठीक हो, सत्तापक्षले पनि तपाईंलाई आरोप लगाएको छ। त्यो प्रक्रियाका विषयमा छ। सत्तापक्षले नियमापत्ती गर्न समयमा दिनु भएन भन्ने आरोप छ। प्रधानमन्त्रीले बोलेको कुरा समेत दबाबमा मेटाउनुभयो भन्ने छ।

सभामुख : त्यो त प्रक्रियामा छ। मैले जे भनेको छु, मैले प्रक्रियालाई पालना गर्छु।

प्रश्न : हो यसलाई सत्तापक्षको दबाब मान्न सकिन्न?

सभामुख : यो कसैको दबाब होइन। त्यो मेरो निर्णय हो। मैले उपर्युक्त समयमा निर्णय लिन्छु।

प्रश्न : प्रक्रियामा पनि तपाईं अलमलिएको देखिनुहुन्छ। भाषामा समेत छेरबहादुर देउवा र करप्रसाद ओलीजस्ता शब्द प्रयोग भएका छन् नि?

सभामुख : ती कतिपय कुरा संसदमा भएका रेकर्डबाट हटाउने गरेका छौँ। संसद सञ्चालनमा कतिपय कमजोरी हुन सक्छ। ती प्राविधिक कुरा हुन्। त्यसलाई ठूलो विषयका रूपमा लिनपर्छ जस्तो लाग्दैन।

प्रश्न : अर्को विषयमा जाऊँ, संसदीय समितिका पछिल्ला निर्देशन सरकारले कार्यान्वयन गर्न छाडेको छ। वाइड बडी छानबिनको निर्णय सत्तापक्षले बेवास्ता गर्‍यो। संसदमा सभामुखले दोहोर्‍याएर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न रूलिङ गर्नुभयो। त्यो पनि भएको छैन। तपाईंलाई लाग्दैन सरकार अटेरी हुँदै गयो?

सभामुख : मैले अघि भनिसकेँ। सरकारले कतिपय विषय उपयुक्त समयमा कार्यान्वयन गर्छु भनेकै छ। केही समय लाग्ला। हामीले त्यसलाई प्रतिक्षा गर्छौँ। कतिपय कुरा भएका छन्, केही भएका छैनन्। तर यसलाई नेगेटिभ रूपमा मात्र हेर्नुहुन्न, पोजेटिभ रूपमा पनि हेर्नुपर्छ। कतिपयले प्रश्नोत्तरमा भाग लिइरहेका छन्। जवाफ दिइरहेका छन्। काम पनि भएका छन्। काम भएका कुरालाई भएकै भन्नुपर्छ। केही मन्त्री र मन्त्रालयको गतिविधि राम्रो भएको छ। केही विषयमा उपयुक्त समयमा जवाफ दिन्छौँ भन्नुभएको छ। त्यसलाई मान्नुपर्छ।

प्रश्न : तपाईंले निर्देशन कार्यान्वयनबारे मन्त्री, प्रधानमन्त्रीसँग कुरा गर्नुभएको छ?

सभामुख : मैले सबैसँग कुरा गर्छु। सरकारसँग, प्रधानमन्त्रीसँग, प्रमुख प्रतिपक्षी दलको नेतासँग परामर्श गर्छु। सबैसँग परामर्श लिएर निर्णय लिने गरेको छु।

प्रश्न : संसदमा शुन्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ किन आउँदैन?

सभामुख : शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ आएको छैन। धेरै विषय पनि उठ्ने गरेका छन्। धेरै विषय भएकाले केही मन्त्रीरुले जवाफ दिन सुरू गरेका छन्। मैले पनि जवाफ दिने प्रक्रिया सुरु गर्नुपर्छ भनेर पटक पटक भनेको छु। पहिलेभन्दा सुधार आउन खोजेको देखेको छु। तर भनेको जस्तो सबै विषयमा छिटो गर्नुपर्छ भन्ने कुरा सही हो। मलाई पनि यो लागेको छ। मैले मन्त्रीहरूलाई बोल्नुपर्‍यो। जवाफ दिनुपर्‍यो भनेको पनि छु।

प्रश्न : तपाईंले प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुरु त गराउनुभयो। तर बीचमा प्रश्न गर्ने विषयमै विवाद भयो। त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन सकेको छैन नि?

सभामुख : प्रधानमन्त्रीले एकपटक त प्रश्नोत्तरमा जवाफ दिनुभयो। त्यसपछि प्रश्नोत्तर कार्यक्रम राख्ने योजना छ। अहिले उहाँको स्वास्थ्य अवस्थालाई ध्यान दिएर रोकिएको हो। उहाँको परामर्श लिएर बाँकी प्रश्नोत्तर गर्न सकिन्छ।

प्रश्न : केही संघीय संसद सचिवालयको व्यवस्थापनसँग सम्बन्धित कुरा गरौँ। सचिवालयले नयाँ गाडीहरू खरिद गरेको छ। तर गाडीहरु हुँदाहुँदै किन नयाँ गाडी किन्नुपरेको?

सभामुख : संसदीय समितिका १६ जना सभापतिको गाडी राम्रो कन्डिसनमा थिएन। त्यो कण्डिसनमा नभएकाले सभापतिहरुका लागि नयाँ गाडि खरिद गरिएको हो।

प्रश्न : खरिद गरिएका नयाँ गाडीमा पूराना पाटपुर्जा परेको र अनियमितता भएको भन्ने आरोप छ नि?

सभामुख : हो। हामीले समिति सभापतिहरूसँग बैठक गर्‍यौँ। र केही पूराना र अलिकति केही त्यहाँ अनियमितता भएको देखिन्छ। हामीले स्पष्ट छानबिन गर्न पाँच सदस्यीय समिति बनाएका छौं। छानबिन समितिको रिपोर्ट के आउँछ हेर्छौँ। अनियमितता र बदमासी भएको भए कारबाही हुन्छ।

प्रश्न : हामी दुई सदनात्मक व्यवस्था कार्यान्वयनको चरणमा छौँ। कानुनहरूमा परिमार्जन गर्न कत्तिको सहयोग मिलेको छ?

सभामुख : राम्रो भएको छ। कतिपय प्रतिनिधि सभाबाट भएका प्रक्रियागत, विषयगत र प्राविधिक कुराहरू राष्ट्रिय सभाले सच्याउने गरेको छ। राष्ट्रिय सभाबाट आउने कुरा पनि प्रतिनिधिसभाले सच्याउने गरेको छ। एक अर्काका परिपुरककका रूपमा भूमिका खेलिराखेको छ। एउटा कानुन दुबै हाउसबाट टुंगिन छिटोमा दुई महिना लागिरहेको छ। अझ लामो भयो भने त धेरै लाग्ने अवस्था छ। त्यो प्रक्रियामा एक अर्काका परिपुरकको रूपमा भूमिका खेलका छौँ।

प्रश्न : सभामुखका रूपमा केही चुनौती देख्नुभएको छ?

सभामुख : चुनौती त छ। संसद भनेको जनताको प्रतिनिधिहरूको सार्वभौमसत्ता प्रयोग गर्ने थलो हो। अभिव्यक्तिको केन्द्रीकरण हुन्छ। देशका सबै दलहरू छन्। त्यसैले यो राजनीतिको केन्द्रबिन्दु हो। यो ठीक हुँदा राष्ट्रिय राजनीति ठीक ढंगले जान्छ। त्यो कायम गर्न सबैभन्दा ठूलो भूमिका खेल्ने चुनौती छ। राष्ट्रका लागि सरकारको भूमिका, प्रतिपक्ष र अन्य दलहरूको भूमिकाले असर पारिरहेको हुन्छ। त्यो असरलाई ठीक ढंगले सम्बोधन भयो कि भएन भन्ने चुनौती आइराख्छ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*