Home / Feature Breaking news / नदी कटान क्षेत्रमा ४ हजार बाँसका बिरुवा रोपियो

नदी कटान क्षेत्रमा ४ हजार बाँसका बिरुवा रोपियो

दाङ, असार २९ । नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ४ हजार बाँसका बिरुवा रोपेको छ । बर्षातको समयमा आउने बाढीले जमिन कटान गर्दै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न नदि तटिय क्षेत्रका बिभिन्न पाँच ठाउँमा यो बर्ष ४ हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

लगाइएका बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरुकै सक्रियतामा बाँस रोपण कार्य गरिएको डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । उपभोक्ताहरुले यस बास रोपेर संरक्षण गरे वापत एक बिरुवा एक सय रुपैया समेत दिइएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आज आइतबार घोराहीमा भएको बैठकमा डिभिजनल वन अधिकृत ज्ञवालीले प्रत्येक बर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रबृतिलाई अन्त्य गर्नका लागि यो बर्षदेखि संरक्षणमुखी बृक्षरोपण कार्यक्रम गरिएको बताउनुभयो ।

बर्षभर वन क्षेत्रमा भएका गतिबिधि बारे प्रस्तुत प्रतिवदेनमा बगरलाई बन गराउने अभियान थालिएको उल्लेख गरिएको छ । सो कार्यक्रम अन्र्तगत यो बर्ष मात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करिव ६४ हजार बिरुवा लगाइएको छ । स्थानीय वन समूहकै अगुवाईमा थालिएको बगरलाई वन बनाउने कार्यक्रममा स्थानीयलाई सो कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर एक लाख रुपैया समेत कार्यालयले दिएको छ । दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा,हापुर लगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजाली सहित बृक्षरोपण गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी घोराही र तुल्सीपुर उपमहानगरपालिका सहितका सडकको छेउमा शोभायमान प्रजातिका बिरुवा लगाउने काम पनि यो बर्ष गरिने बैठकमा समितिका सदस्य सचिव डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । गोलमोर, करविन फूल, छतिवन, चाप, कपुर, क्रिसमस ट्रि लगायतका नयाँ प्रजतिका ३ हजार ५ सय बिरुवा रोपी तारबार गर्ने समेत कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै, उत्तरतर्फको जंगलमा यो बर्ष मात्रै ५० हजार जडिबुटि लगाइने भएको छ । बंगलाचुली, बिजौरी, धर्ना लगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन शुरु गरिएको छ ।

पछिल्लो दुइ दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करिव १० हजार हेक्टर वन क्षेत्र बढेको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नदीले कटान गरिएको वन क्षेत्रमा बृक्षरोपण गरी स्थानीयलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत ज्ञवालीको भनाई छ ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङका सभापति जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सर्वपक्षीय सहभातिमा वन गुरुयोजना तयार गरी सोहि आधारमा जिल्लाको वन क्षेत्रको बिकास गरिनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ब्यवस्थित बस्तिबिकास कार्यक्रम र भू—उपयोगको नयाँ नीति बनाइ बनको बिकासमा लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो । कार्यक्रममा बबइ गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेलले वनसँग जोडेर पर्यटन बिकासको कार्य थालिएको भएपनि बनमा के के गर्ने भन्ने स्पष्ट नीति बन्न जरुरी रहेको बताउनुभयो ।

सहायक वन अधिकृत संयोग बस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले गर्नु भएको थियो । कार्यक्रममा कार्यालयले बर्षभर गरेका कार्यक्रमको प्रगति बिवरण सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*