Home / Feature Breaking news / गंगाजस्तै बिशाल छातीका गंगामणी

गंगाजस्तै बिशाल छातीका गंगामणी

विपुल पोख्रेल

३०—३२ बर्ष अगाडी दाङको प्रतिष्ठित ब्राह्मण परिवारको भान्सा कस्तो थियो होला ? खेतका गह्रा जस्तै गरेर तीन तहमा बाँडिएका हुन्थे भान्साको भागलाई ।

त्यसमध्य सबै भन्दा मथिल्लो गह्रामा घर मुलीले खाना खाने, त्यसपछिका गह्राहरुमा जनैधारीहरुले खाने । त्यो पनि अनिवार्य लुङ्गी÷धोती फेरेर । त्यसपछिको तल्लो गह्रामा जनै नहालेका, लुङ्गी÷धोती नलगाएकाहरु बसेर खाने गर्दथ्यो ।

हैसियत भन्दा मथिल्लो भागमा कोही गयो वा छोयो भने भान्सा छोइन्थ्यो । छोइएको भान्सामा जनैधारीले खाना खादैनथे ।

तिनै ताक हो, गोग्लीको एउटा घरको भान्छामा ‘डाइनिङ टेवल र कुर्सीहरु’ प्रवेश गरे । अनी त्यही टेवलमा सपरिवारले खाना खाने नयाँ अभ्यासको प्रारम्भ भयो । त्यस्तो प्रययोगलाई नरुचाउनेहरु प्रशस्तै थिए, पाहुना पर्न आउने आफन्तले पनि प्रशस्तै बिरोध गरे ।

धेरै पाहुनाहरुले त ‘डाइनिङ टेवल’ बहिस्कार गरे र भान्छाको चुलो छेउमा बसेर खाना पनि खाए । तर घरमुलीले ‘नयाँ सभ्यता र सबैको सहजता’ भनी त्यो नविन अभ्यासलाई निरन्तरता दिए ।

ती घरमुली हुन् गोग्लीका प्रतिष्ठित व्यक्तित्व गंगामणी शर्मा घिमिरे । आज सबै ब्राह्मण परिवारका भन्छामा सहज रुपमा स्वकार्य भैसकेका छन् ‘डाइनिङ टेवल र कुर्सीहरु’ ।

त्यो भन्दा पनि अगाडी तीनै गंगामणी शर्मा घिमिरेले पक्कि शौचालय बनाए । प्यान सहितको शौचालय, त्यो पनि गाँउमा । कति अचम्म परे, कतिले डाहा नै गरे होलान्, कतिले ‘छेउको सिस्ने खोलाको अब के काम ? भन्दै व्यङ्ग्य पनि गरे ।

त्यतिमात्रै हैन, छेउछाउका सुकुम्वासी परिवारका सदस्यहरुले ‘हाम्लाई बस्ने घर छैन, तिम्लाई हग्ने घर ?’ भन्दै आक्रोश पनि पोखे होलान् । आज घरघरमा अनवार्य शौचालय बनाउने जमाना आइसकेको समयमा त्यो प्रशंग सामान्य लाग्ला पनि ।

मेरा बाबाका भाञ्जा, हाम्रा आफन्ती गंगामणी शर्माका यी सन्दर्भहरु मन मस्तिष्कको मथिल्लो भागमा आइरहेका छन् । दूरगामी सोंच राख्नेमात्र हैन कार्यान्वयन गर्ने क्षमताका धनी रहेछन् उनी भन्ने निश्कर्ष निकाल्न यही दुईवटा घटना काफी छन् भन्ने लागि रहेको छ । अहिले उनको स्वर्गवास भएको छ ।

उनका छोराहरुले हिन्दू परम्परा अनुसार १३ दिन काज किरिया गर्दै छन् । यो १३ दिनलाई मृतकको जीवनका सकारात्मक पाटाको स्मरण गर्ने, चर्चा गर्ने र अनुकरणीय कुराहरु ग्रहण गर्ने दिनका रुपमा पनि परिभाषित गर्ने गरिन्छ । १३ दिन भित्रै उनका बारेमा स्मरण गर्दै जाँदा उनी हक्कि परिवर्तनकारी थिए भन्न सकिन्छ ।

त्यतीमात्रै हैन, उनी परिवर्तनका लागि निर्मम बन्ने र परम्पराबादीहरुको निर्मम आलोचना हाँसी हाँसी स्वीकार्ने तर बिचलित नहुने स्वभावका रहेछन् भनी उनका बारेमा भन्न सकिने रहेछ ।

हाँसेरै आलोचनाका कडा बाणहरुलाई निस्तेज पार्ने गंगामणीको अर्को बिशेषता भनेकै हाँसो हो । ठूलो जिउडालका थिए पनि, बोली पनि मोटो र टाठो थियो । मुहारमा मन्दमुस्कान देखिन्थ्यो उनमा ।

कहिले काही मलाई लाग्थ्यो, जवानीमा कस्ता हुँदा हुन् गंगामणी ? यही मुस्कानको तागतले नै सायद उनले भान्छाको परम्परागत साँधहरु भत्काइदिए, बिरोध गर्नेहरुको आक्रोशलाई पनि यही मुस्कानले निस्तेज पारिदिन्थ्यो ।

बडेमानको शरिर अनी मोटो आवाजका कारण उनीसंग पहिलो पटक सात्क्षात्कार गर्ने जो कोही पनि तर्सन्थ्यो होला सायद, उनको मुहारमा निरन्तर मुस्कान नहुँदो हो त ।
मैले उनलाई कोही परवर्तनकारी भनेर वा अरु कुनै बिशेषण तथा बिशेषताले भरिएका भनेर चिनेको होइन । मैले परिवारका एकजना बरिष्ठ आफन्त भनेर नै चिनेको हुँ । आफन्त भनेर चिनेका उनी कुनै ठूलो अभियान र प्रचारको अपेक्षा नगरेरै जीवनलाई सहज बनाउन, सन्तुष्ट बनाउन र गतिशीलतालाई स्वकार्दै अगाडि बढ्नका लागि कट्टर परम्पराका बिपक्षमा उभिने व्यक्ति रहेछन् भन्ने कुरा उनको व्यवहार र उनका आफ्नै परिवारका सदस्यहरुको संगतले बुझ्न सकेको हुँ ।

यसको कारण थियो, उनी परिवर्तनलाई आफ्नो दायित्व ठान्थे, जडताबादी परम्परा तोड्ने कुरालाई प्रचार र आफ्नो अलग पहिचानको बिषय मान्दैनथे ।

आज गोल्लीलाई गाँउ भन्दा नयाँ पुस्ताले पत्याउन गाह्रो मान्ला । तर गोग्ली गाँउ नै हो । गाँउमा परिवर्तनका सूचकहरुको प्रबेश गराउने कुरा साना हिम्मतले संभव थिएन । तर, गंगामणी मार्फत गोग्लीमा त्यो संभव भयो । हरेक गाँउमा गंगामणीहरु जन्मिएर नै परम्पराहरुको अन्त्य र सहज जीवनशैली अपनाउनका लागि यस्ता परिवर्तनहरु संभाव भएका हुन् ।

आफ्ना छोरा नातीहरुसंग साथीको जस्तो सम्बन्ध रुचाउने गंगामणीको अर्को बिशेषता हो । नयाँपुस्ताकाहरुसंग पनि त्यही अनुसारको संबन्ध स्थापित गर्नसक्नु उनको अर्को बिशेषता हो ।

घरमा छोराहरुलाई कडा अनुशासनमा नराखी छाडा छाडेका छन् गंगामणीले भन्ने टिप्पणी पनि सुनिन्थ्यो । तर, गंगामणीले त्यो समाजको (‘छाडा’ लाई सन्तानको स्वतन्त्रता भनेर बुझाउने प्रयास गरे । त्यस्ता टिप्पणीलाई मन्द मुस्कान सहितको आकर्षक अनुहारले परास्त गरिदिए झै लाग्थ्यो ।

छोराहरुलाई बुझन सक्ने भएपछि स्वतन्त्रताको अनुभुती गर्ने अवसर दिने उनको रणनीति सफल नै निक्केको मान्न सकिने भएको छ । चारवटा छोराहरु आआफ्नो क्षेत्र र भूमिकामा सफल देखिएका छन् । आत्मबिश्वासले भरिपूर्ण छन् र नेतृत्व क्षमताका कारण आफ्नो ठाँउ, टोल र छरछिमेकमा सुपरिचित छन् ।

यसको कारण, अनुशासनका नाममा सन्तानको स्वतन्त्रता नखोस्ने र जिज्ञासु चरित्रलाई प्रबद्र्धन गर्ने आदरणीय गंगामणी शर्मा घिमिरेको बिशिष्ट र फरक स्वभाव नै हो । निर्धक्कका साथ यो श्रेय उनलाई दिन सकिन्छ ।

परिवर्तनको प्रवाह आफ्नै भान्छावाट प्रारम्भ गर्नसक्नु, आलोचना र नकारात्मक टिप्पणीलाई कर्मद्वारा निस्तेज पार्न सक्नु, आलोचकहरसंग पनि द्वन्द्व नगरी निरन्तर सम्बन्ध राख्नसक्नु, सबै उमेर समूहका व्यक्तिहरुसंग तदनुकुलको आत्मीय सम्बन्ध स्थापित गर्न सक्नु गंगामणी शर्मा घिमिरेका बिशेषता हुन् ।

यी बिशेषताका धनी उनलाई श्रद्धाञ्जली दिइरहँदा ती गुणहरु ग्रहण गर्न र ती गुणहरुको ठाँउठाँउमा चर्चा गर्न कुनै कन्जुस्याई नगर्ने संकल्प पनि गर्न चाहन्छु । अलविदा मेरा वावाका भाञ्जा, गंगाजस्तै बिशाल छातीका गंगामणी शर्मा घिमिरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*