Home / Feature Breaking news / राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानविन गर्न सहसचिव बुर्लाकोटी नेतृत्वमा समिति

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानविन गर्न सहसचिव बुर्लाकोटी नेतृत्वमा समिति

काठमाडौँ, २ असार ।

स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकोे अनियमिता छानविन गर्न सहसचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई काम सुरु गरेको मितिले ७ दिन भित्र प्रतिवेदन बुझाउन समयसिमा तोकिएको छ ।

मन्त्रालयले उक्त समितिलाई विभिन्न १८ वटा बुँदामा केन्द्रीत रहेर छानविन अघि बढाउन भनेको छ ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उकपुलपति प्राडा संगिता भण्डारी र उनको समूहले अनियमितता गरेको भन्दै  प्रधानमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तारन्तार उजुरी परेको छ । सोही उजुरी सहित समग्र प्रतिष्ठानको क्षेत्रको बारेमा छानविन गरी प्रतिवेदन समिति बनाइएको हो,’ स्वास्थ्य सचिव रामप्रसाद थपलियाले भने ।

समितिका सदस्यहरुमा मन्त्रालयका लेखा अधिकृत ढुंण्डिराज पौडेल, मन्त्रालयका कानूनका उपसचिव पुष्करराज नेपाल, स्वास्थ्य सेवा विभागका उप स्वास्थ्य प्रशासक डा अर्जुन सापकोटा र मन्त्रालयका उपसचिव बाबुराम खनाल रहेका छन् ।

छानविन के के मा हुँदैछ ?

मन्त्रालयले उजुरीको आधारमा छानविनका क्षेत्रहरु समेत निर्धारण गरेको छ । उसले टोलीलाई अस्पताल प्रतिष्ठानको सञ्चालनको अवस्था के कस्तो रहेको ? प्रतिष्ठानको ऐन अनुसार कार्य भएको वा नभएको ? ऐनमा उल्लेखित पदाधिकारीहरुको अधिकार पदाधिकारीहरुले उपयोग गरेको नगरेको ? मन्त्रालयको निर्देशन कार्यान्वयनको अवस्था, सिनेटले गरेको निर्णयहरुको कार्यान्वयनको अवस्था, उपकरण र औषधि खरीद प्रक्रिया गुणस्तर लगायतका विषयमा छानविन गर्न भनिएको छ ।

यस्तै भुक्तानी हुनुपूर्व क्वालिटी जाँच भएको नभएको ? रकम खर्च हुनुपुर्वको कुन तह अधिकारीहरुको निर्णयबाट भएको ? स्टाफ नर्सको परीक्षा के कुन प्रक्रियाबाट गरिएको, काठमाडौँमा सम्पर्क कार्यालयको आवश्यकता र औचित्यता के ? सम्पर्क कार्यालयमा रहेको पूर्वाधार र सवारी साधन को कसले उपयो गरेको भन्ने बारेमा पनि समितिलाई छानविन गर्न भनिएको छ ।

यसैगरी उपकुलपति लगायतका पदाधिकारीहरुको उपस्थितिको अवस्था, पदाधिकारी तथा कर्मचारीको सेवा सुविधा भुक्तानीको अवस्था, टेण्डर खरीद भुक्तानी गर्दाको प्रक्रिया पुरा गरे नगरेको ? आन्तरिक नियन्त्रण प्रणालिको अवस्था के कस्तो रहेको ? संसदीय समितिले छानवीन गरी उठाएको विषयको संसोधनको अवस्था ?लगायतका विषयमा पनि छानविन गर्न भनेको छ ।

प्रतिष्ठानको उपकुलपतिमा नियुक्ती भए देखि नै प्राडा भण्डारी विवादमा तानिदै आएकी छन् । उनले नियुक्त गरेका रेक्टर रतिन्द्रनाथ श्रेष्ठले अनियमितताको प्रश्न उठाउँदै राजिनामा दिइसकेका छन् ।

उपकुलपति प्राडा भण्डारीले गरेको कार्यको विरोध गर्दै गत माघमा तीन साता भन्दा बढी समय कर्मचारीहरुले आन्दोलन गरेका थिए । त्यसबेला स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको नेतृत्वमा गएको मन्त्रालयको टोलीले माग सम्वोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको थियो । त्यसपछि पनि प्रतिष्ठानका पदाधिकारीहरु आफूलाई नसच्याएको भन्दै उजुरी परिराखेको थियो ।

नेपाली हेल्थ अनलाईटबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*