Home / Feature Breaking news / नयाँ शक्ति र फोरमबीचको एकता सोमबार

नयाँ शक्ति र फोरमबीचको एकता सोमबार

काठमाडौं,२१ बैशाख । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने निश्चित भएको छ।

लामो वर्तापछि दुई पार्टी एक हुने सहमति जुटेको हो । डा भट्टराई र यादवबीच आज शनिवार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ । एकताको घोषणा भने सोमबार हुने बताइएको छ ।

स्रोतका अनुसार एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ भने नेकपामा जस्तै बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको बताइएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो । नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो ।

यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँर्दै आएका छन् । अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई आफैं एकमात्र सांसद छन् ।

यसअघि स्थानीय तहको निर्वाचनका बेला पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, नेतृत्वमा सहमति नहुँदा दुई पार्टीबीचको एकता प्रक्रिया रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*