Home / Feature Breaking news / महिलाले धानेको गाउँ…

महिलाले धानेको गाउँ…

लिलाधर वली

दाङ,२४ चैत । घोराही उपमहानगरपालिका वडा नं. ५ बसेरी खोला निवासी ओमसरी घर्ति छोराछोरीसँगै घरमा छिन । उनका श्रीमान काम गर्न भक्तपुरमा गएका छन । घरमा आम्दानीको कुनै श्रोत नभएपछि दुईचार पैसा कमाउने आशामा श्रीमान तिहार मानेर भक्तपुर इट्टा भट्टमा काम गर्न गएका हुन ।

हातमा कुनै सिप नभएका र गाउँघरमा काम नपाइने भएपछि गाउँमा केही युवासँगै उनी भक्तपुर पुगेका छन । भक्तपुरमा इटा बनाउने,बोक्ने लगायतका काम गर्छन । त्यहीवाट कमाएर ल्याएको पैसाले छोराछोरीलाई पढाउनेदेखि घरको लागि आवश्यक सरसामान किन्ने गरेको श्रीमति ओमसरी बताउँछिन । ‘घरमा बाखा पालेकी छु, त्यही बेचेपछि दुईचार पैसा आउँछ’,ओमसरी भन्छीन,‘त्यतीमा मात्र घर व्यवहार चलाउन पुग्दैन ।’ गाउँमा थोरै जमिन तँ छ ,तर पानी नहुदाँ केही उत्पादन नहुने गरेको उनको भनाई रहेको छ ।

पुरुषहरु गाउँमा नभएपछि घरदेखि गाउँमा हुने सामाजिक कार्य समेत महिलाहरुले गर्नुपर्ने बाध्यता रहेको छ । ‘गाउँमा प्राय बालबालिका र वृद्ध पुरुषहरु हुनुहुन्छ’,उनले भनिन्,‘त्यहाँहरुले काम गर्न सक्ने अवस्था हुदैन । त्यसैले गाउँमा सामुहिक रुपमा गर्नुपर्ने विकास निर्माणका काम समेत महिलाले गर्नुपर्छ ।’

बर्षादको समयमा मकै र त्यसपछि तोरीसम्म हुने तर त्यसपछि केही अन्नपात नहुने गरेको उनी बताउँछिन । सुख्खा सिजनसँगै खेतवारी बाझो नहुने भएपछि बाहिर काममा जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
त्यस्तै बबिता बुढाका श्रीमान पनि रोजगारीका लागि छिमेकी देश भारत गएका छन । गाउँघरमा रोजगारी नहुने र घरमा बस्दा परिवार पाल्नलाई समस्या हुनेभएपछि श्रीमान कमाउन गएको बविता बताउँछिन । ‘गाउँमा केही गरम भने वातावरण छैन’,बविताले भनिन्,‘घर व्यवहार चलाउनकै लागि पनि बाहिर कमाउन जानपर्ने बाध्यता रहेको छ ।’ नाममा उपमहानगरपालिका भएपनि भौगालिक रुपमा विकट क्षेत्र भएकाले केही गर्न सक्ने अवस्था छैन । उनका अनुसार सामान्य तरकारी गरम भनेपनि गाउँमा सिचाईको व्यवस्था छैन ।

उत्पादन गरेको केही बस्तु बेच्न जाउँ भनेपनि घण्टौ हिड्नुपर्ने बाध्यता स्थानीयलाई रहेको छ ।

गाउँमा आयआर्जनको कुनै श्रोत नभएपछि ओमसरी र बविताका जस्तै अहिले धेरै महिलाहरुका श्रीमनहरु बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय तुलसीराम पुन बताउँछन । गाउँघरमा रोजगारी विकल्प केही नभएको र परिवारको पेटपाल्नकालागि पैसा चाहिने भएकाले गाउँमा करिव ४० बढि युवाहरु अहिले खाडीमुलकदेखि जिल्लाका बाहिरका विभिन्न शहरमा रहेको उनी बताउँछन । बसेरी, गुरुङखुट्टीलगायतका गाउँमा रहेका ५५ बढि घरका ४० बढि पुरुषहरु रोजगारीका सिलसिलामा बाहिर गएका छन । बैदेशिक रोजगारीका कारण गाउँमा युवाहरु नै भेटिन छोडेका छन ।
फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*