Home / Feature Breaking news / प्रावि बसेरी खोलाका विद्यार्थीको पीडाः पानी पिउन खोला, सौच गर्न जंगल

प्रावि बसेरी खोलाका विद्यार्थीको पीडाः पानी पिउन खोला, सौच गर्न जंगल

लिलाधर वली
दाङ,११ चैत । जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको लामो समय भैसक्दा समेत दाङको एक विद्यालयका विद्यार्थीहरु जंगलमा सौच गर्न बाध्य रहेका छन ।
घोराही उपमहानगरपालिका वडा नं. ५ को बसेरी खोलामा रहेको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमा पानीको व्यवस्था नहुदाँ विद्यालय नजिकै रहेको जंगलमा दिशा पिसावसँगै खोलाको पानी पिउन बाध्य छन । कक्षा ४ सम्म पढाई हुने विद्यालयमा खानेपानीको सहजता लागि निर्माण गरिएको पानी ट्याङकीमा पानी आउने पाईप बुझिएपछि विगत छ महिनादेखि विद्यार्थीहरुले खोलामा जरुवा खनेर पानी पिउन बाध्य भएका छन ।

विद्यालयमा पानीको व्यवस्था नहुँदा विद्यार्थीहरुले दिशा पिसाव समेत जंगलमा गर्ने गरेका छन । विद्यालयमा पिउनका लागि पानी व्यवस्था नहुँदा करिव १५देखि २० मिनेट लगाएर खोलामा खनिएको जरुवावाट ल्याउनुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक इन्द्रिरा खड्काले बताइन । ‘विद्यालयमा खानेपानीको सुविधाको लागि ट्याङकी छ, तर पाईप बुझिएका कारण अहिले पानी आउँदैन,’ विद्यालयकी प्रध्यानाध्यापक खड्काले भनिन,‘ ट्याङकीमा पानी आउन छोडेपछि विद्यार्थीसँगै शिक्षकहरु पनि खोलाकै पानी पिउन थालेका छौँ ।’ विद्यालयसँग आर्थिक श्रोत नहुदाँ विग्रिएको खानेपानीको पाइप बनाउन समेत नसकिएको बताइन ।

पानीको पाइप विग्रिएपछि विद्यार्थीसँगै शिक्षकहरुले समेत समस्या भोग्नु परेको बताइन ।
२७ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा पानी पर्दा पानी पिउनलाई समेत समस्या हुने गरेको छ । पानी परेपछि खोलामा आउने भलका कारण जरुवा पुरिने वा पानी धुुमिलिने समस्या कारण झन समस्या हुने गरेको प्रअ खड्काले बताइन ।

उनका अनुसार विद्यालयमा पानीको व्यवस्था नहुँदा विद्यार्थीले जंगलमा दिशा पिसाव गर्ने गरेका छन । ‘विद्यालयमा विद्यार्थीलाई पिउनलाई पानी छैन । सौचालयमा झन समस्या रहेको छ’, प्रधानाध्यापक खड्काले भनिन्,‘ विद्यालयमा पानीको व्यवस्था नहुदा विद्यार्थी जंगलमा दिशा पिसाव गर्ने गरेको बताइन ।’ विद्यालयमा एउटा सौचालय भएपनि पानी नहुँदा समस्या रहेको उनको भनाई छ ।

विद्यालयमा शिक्षक–विद्यार्थीहरको सहजताको लागि बिग्रिएको खानेपानी ट्याङकी निर्माणमा व्यवस्थापन समितिले समेत पहल थालेको छैन । जसले गर्दा विद्यार्थीलाई विद्यालय आएको समयमा पिउन पिउनलाई सँगै दिशापिसाव गर्न समस्या हुने गरेको छ ।

तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम पुनले स्थानीय नजुट्दा विग्रिएको खानेपानी ट्याङकीको पाइप बनाउन नसकिएको बताए । बिग्रिएको खानेपानीको पाईप एक्लै बनाउन नसकिने र गाउँलेहरुलाई बोलाउँदा कोही नजुट्ने समस्या कारण ट्याङकीमा पानी आउन छोडेको लामो समय भैसक्दा पनि मर्मत हुन नसकेको बताए । विद्यालयको आर्थिक श्रोत नहुदाँ सात बर्ष पहिले निर्माण भएको दुई कोठे पक्की भवनको अहिलेसम्म झ्याल ढोका निर्माण हुन नसकेको बताए ।

भवनका झ्याल ढोका नहुदाँ विद्यार्थी बस्ने खोलका रातको समयमा गाई आएर बस्ने र फोहर गरिदिने गरेको बताए । सात बर्ष पहिले निर्माण भएको भवनमा झ्याल ढोकाका लागि आफुले तत्कालिन शिक्षा कार्यालय, गाविसलाई पटक पटक अनुरोध गरेपनि कतैवाट सुनुवाई नभएको अध्यक्ष पुन बताउछन ।

स्थानीय तहवाट जनप्रतिनिधि आएपछि वडावाट थोरै भएपनि बजेट सहयोग हुदाँ विद्यालयको पुरानो भवनको कोठा पलास्टार गरिएको उनको भनाई रहेको छ । विद्यालयको विकासका लागि वडाको तर्फवाट आफुले सक्दो सहयोग गरेको वडाध्यक्ष बिष्णुमणी दाहालले बताए । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरवृद्धिका लागि आफुले वडाका तर्फवाट प्रत्येक बर्ष बजेट बिनियोजन गर्ने गरेपछि भौगोलिक विकतटाका कारण विकासमा समस्या भएको वडाध्यक्ष दाहालले बताए ।

२०५२ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा ४ सम्म पढाई हुने गरेको छ । उक्त विद्यालयमा बसेरी खोला, शिदुरे, गुरुङखुट्टीलगायतका गाउँका बालबालिकाले पढ्ने गरेका छन । विद्यालय शिशु कक्षामा ७ जना, १ कक्षामा ६ जना, २ कक्षामा ६ जना, ३ कक्षमा ५ जना र ४ कक्षामा ४ जना विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*