Home / Feature Breaking news / तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैनः प्रधानमन्त्री

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैनः प्रधानमन्त्री

विराटनगर,३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताएका हुन् ।

‘‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।

उनले विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह समेत गरे । ‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहाँ दर्ता भएको थियो र दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘बम पड्काएर उद्यमी, व्यवसायी र जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले संविधान र कानुन विपरित, लुटपाट र आतंकका गतिविधि गर्न छुट नदिने चेतावनी दिदै भने, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो । गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’

फरक प्रशंगमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उनले भने ‘पुनर्गठन हुँदैन ।’

गत साता मात्रै नेकपाका अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डले विराटनगर नै पुगेर मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने बताएका थिए । उनले भनेका थिए ‘ यो अधिकार प्रधानमन्त्रीको हो, उहाँले चाहे मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*