Home / Feature Breaking news / ‘विप्लव’ काे गाँउभरि प्रहरीकाे छापा: आधुनिक हरियार र सैन्य शिविर

‘विप्लव’ काे गाँउभरि प्रहरीकाे छापा: आधुनिक हरियार र सैन्य शिविर

खिलानाथ ढकाल

काडमाडाैैँ, २३ फागुन

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-९, सुन्दरी डाँडा गाउँ। प्रहरीले बिहीबार बिहान ‘स्वीप अपरेसन’ चलाएको यो गाउँमा छ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को घर।

सुरक्षा निगरानीले पछि परेको यो क्षेत्रमा चन्द नेतृत्वको माओवादीले सैन्य शिविर चलाउने गरेको थियो।

लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बिहीबार बिहान विप्लवको गाउँभरि अपरेसन चलाएको छ।

सुन्दरी डाँडामा विप्लवको घर छ तर, उनी र परिवार त्यहाँ बस्दैनन्। उनका आफन्तमात्रै बस्छन्।

कपिलवस्तु प्रहरीका अनुसार जंगल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको थियो।

कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युत पुडासैनी आफैं खटिएको यो टोलीले विप्लवको घर तथा गाउँ आफ्नो नियन्त्रणमा लिएर छापा मारेको थियो।

पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीका अनुसार छापा मार्ने क्रममा आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद भएका छन्।

प्रहरीले विप्लवको गाउँमा अपरेसन गर्ने क्रममा शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरेको छ।

पुडासैनीका अनुसार हतियारसहित फेला पारेपछि रोकालाई पक्रन खोजिएको थियो। तर, उनी भागेपछि नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो।

पुडासैनीले भने, ‘बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन्।’ उनलाई उपचारका लागि बुटवल लगिएको छ।

विप्लवको गाउँमा छापा मार्न नेपाल प्रहरी र सशस्त्रका डेढ सय प्रहरी सुन्दरी डाँडा पुगेका थिए। त्यहाँ प्रहरीको अपरेसन केही समय जारी  रहने डिआइजी अधिकारीले सेतोपाटीलाई बताए।

‘प्रहरीले आफ्नो काम गरिरहेको छ, आधुनिक तथा अटोमेटिक हतियार बरामद भएकाले सर्च र स्वीप अपरेसन चलिरहन्छ,’ उनले भने।

रोकाको घरबाट एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजीन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस,  थप म्यागजिन १ थान र  विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद भएको कपिलवस्तु प्रहरीका उपरीक्षक पुडासैनीले बताए।

एसएमजी नेपाली सेना र सशस्त्र प्रहरीले बोक्ने आधुनिक स्वचालित हतियार हो। प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार नेपाल प्रहरीसँग यो हतियार छ तर यो विशेष कार्यदलसँग मात्रै। प्रहरीले यो हतियार युद्धमा प्रयोग गरेको थिएन, छैन।

यसले स्वचालित अवस्थामा प्रतिमिनेट पाँच सय गोली फायर गर्छ।

अर्धस्वचालित अवस्थामा ३४ राउन्ड फायर गर्ने यो हतियारले दुई सय मिटर क्षेत्रसम्म असर गर्छ।

दोस्रो विश्वयुद्धका बेला ब्रिटिशमा निर्माण भएको एसएमजी दर्जनौं मुलुकमा भएका ठूला युद्धमा प्रयोग भएको हतियार हो। नेपाली सेनाले यो हतियार दस वर्षे माओवादी सशस्त्र युद्धताका नेपाल भित्र्याएको थियो।

विप्लवको गाउँबाट बरामद हतियार सेनाबाट लुटिएको हुन सक्ने आशंका गरिएको छ।

‘हतियारको नम्बर खोजी भइरहेको छ, कहाँबाट हराएको हो अनुसन्धान गरिरहेका छौं,’ पाँच नम्बर प्रदेश प्रहरी स्रोतले भन्यो, ‘खासगरी यो हतियार सेनाले बढी प्रयोग गर्ने गरेको हुनाले युद्धका बेला लुटिएको हो कि भन्ने आशंका छ।’

पक्राउ परेका रोका विप्लव माओवादीको कुन तहका नेता–कार्यकर्ता हुन्, खुलिनसकेको प्रहरी उपरीक्षक पुडासैनीले बताए।

प्रहरीका अनुसार उनी कम्पनी कमाण्डर हुन सक्छन्। आधुनिक हतियारसहित पक्राउ परेकाले रोका युद्ध प्रशिक्षणमा क्रियाशील हुनसक्ने प्रहरीको आशंका छ।

गाउँमा छापा मार्ने क्रममा कम्पनी आधारभूत सैन्य लेखिएको तुल पनि भेटिएको छ। त्यही आधारमा विप्लवले त्यहाँ सैन्य शिविर चलाइएको अनुमान गरेको छ।

विप्लव माओवादीले पछिल्लो समय कपिलवस्तुमा एनसेलका आधा दर्जन टावर जलाएको थियो। गाउँपालिकाको गाडी तथा एक्साभेटर पनि जलाएको थियो।

प्रहरीका अनुसार ध्वंसात्मक गतिविधि साथै विप्लवले कपिलवस्तु, बुटवल, दाङलगायत जिल्लामा चन्दा उठाउने क्रम तीव्र पारेको थियो। स्थानीय तहको हरेक विकास निर्माण कामबाट जबरजस्ती चन्दा मागिरहेको थियो।

सुन्दरी डाँडा आसपास दाङ, अर्घाखाँची जिल्ला पर्छन्। यी जिल्लामा विप्लव माओवादीको गतिविधि निकै आक्रामक छ।

रोल्पाको साबिक इरिवाङ गाविसमा २०२४ साल फागुन ११ गते चन्दको जन्म भएको थियो। लाहुरे परिवारका चन्द २०४६ सालमा बिहे गरी कपिलवस्तु बसाइँ सरेका थिए, त्यहाँ उनीहरूको पुर्ख्यौली जमिन थियो।

यही ठाउँमा बसाइँ सरेपछि विप्लव पढाइका सिलसिलामा काठमाडौं आएका थिए। नेपाल ल क्याम्पस पढ्दापढ्दै २०४८ सालमा राजनीतिमा प्रवेश गरेका थिए। २०५२ सालमा माओवादीले थालेको सशस्त्र युद्धमा सुरूदेखि नै होमिएका थिए।

राजनीतिमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरी दस वर्षे सशस्त्र युद्ध चलाएका चन्दले अहिले आफ्नै पार्टी खोलेका छन्। उनको पार्टी लगभग ‘भूमिगत’ छ, देशभर बम आतंक, निजी सम्पत्ति ध्वस्त र चन्दा आतंक तीव्र पारिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*