Home / Feature Breaking news / पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार

पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार

काठमाडौं,१४ फागुन । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यसको सुनुवाई नहुने देखिएपछि बहिस्कार गरेको बताइएको छ ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आफूहरुले बैठकमा सर्वसम्मत रुपमा पार्टीको अनुशासन समिति गठन गरिनुपर्ने माग अघि सारेको तर सभापतिले त्यसमा सुनुवाई नगर्ने देखिएपछि बैठकस्थलबाट बाहिरिएको जानकारी दिए ।

पार्टीका एक नेताका अनुसार बैठक बहिस्कार गर्नेमा पौडेल, सिटौला र केसीसहित नेताहरु प्रकाशमान सिंह, प्रदीप पौडेल, रामशरण महत लगायतका पौडेल र सिटौलापक्षीय नेताहरु रहेका छन् ।

उनीहरुले बहुमतको आधारमा निर्णय गरेर पार्टी बन्न नसक्ने भन्दै सहमतिको आधारमा अनुशासन समिति लगायतका अन्य निर्णयहरु गरिनुपर्ने माग गरेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन समिति र अनुशासन समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले मंगलबार बोलाइएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको जनाएका छन् ।

मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रिय कार्य समिति बैठक स्थगित गरिएको उनको दावी छ ।

आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रिय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि काँग्रेस केन्द्रिय कार्य समितिको मंगलबारको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाएको बताइएको छ ।

प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रिय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए ।

पार्टीको औंपचारिक कार्यक्रमलाई ध्यानमा राखेर अव बस्ने केन्द्रीय कार्य समिति बैठकको टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ ।

काँग्रेस नेता प्रदीप पौडेलले पार्टीका पछिल्ला निर्णयले सभापति शेरबहादुर देउवाको प्रतिबद्धतामाथि विश्वास गर्न नसकिने अवस्था आएको बताए ।

गत पुसमा सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले महासमिति सदस्य र जिल्ला सभापतिहरूको मागबमोजिम महाधिवेशन प्रतिनिधि हुन तलैबाट चुनाव जितेर आउनुपर्ने र एक व्यक्ति एक पटक मात्रै आरक्षण कोटामा पर्नुपर्ने विषय विधानमा समेट्ने प्रतिबद्धता जनाएका थिए ।

तर, सो प्रतिबद्धताविपरीत आइतबार बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पुरानै व्यवस्था कायम गर्दैै विधान पारित गरेपछि काँग्रेसभित्रको आन्तरिक विवाद महाधिवेशन नजिकिँदै गर्दा थप पेचिलो बनेको छ ।

नेता पौडेलले विधानमा असहमति रहेका विषयलाई देशव्यापी रूपमा बहसका रूपमा लैजाने बताए ।

सिटौला, केसी, बलबहादुर केसी, रामशरण महत, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, गगन थापा, धनराज गुरुङलगायतले विवाद समाधान नगरी बहुमतबाट विधान पारित गरेकोमा आइतबारको बैठकमा फरक मत राखेका थिए ।

महासमिति बैठकको भावनाविपरीत केन्द्रीय समितिले बहुमतबाट विधान पारित गरेको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*