Home / Feature Breaking news / प्रदेश राजधानी दाङमा राख्न दाङवासीको सुझाव

प्रदेश राजधानी दाङमा राख्न दाङवासीको सुझाव

दाङ, १३ फागुन । दाङवासीले प्रदेश नम्बर ५ को स्थायी राजधानी प्रदेशको मध्ये भागमा राख्न सुझाव दिने भएका छन् । सोमवार जिल्ला स्थित राजनीतिक दल, जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख÷प्रतिनिधि, नागरिक समाज, जिल्लाका उद्योग वाणिज्य संघहरु, सामुदायिक वन उपभोक्ता महासंघ, पत्रकार समेत जिल्लाका अगुवाहरुको सर्वक्षीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर ५ को मध्ये भागमा पर्ने सामाजिक सुरक्षाका दृष्ट्रिले सुरक्षित, वातावरणीय हिसाबले सन्तुलित र सार्वजनिक जग्गाको उपलब्धता आदिको आधारमा दाङ देउखुरीको कुनै पनि स्थानमा प्रदेश राजधानी तोक्न सुझाव दिने निर्णय गरेको छ । बैठकमा प्रदेशको नाम स्वर्गद्वारी, राप्ती, थारुवान–मगरात लगायतका सुझाव दिन सकिने छलफल भएको थियो ।

बैठकका सह भागीहरुले प्रदेश राजधानीका लागि दाङ सबै हिसाबले अनुकूल रहेको धारणा राखेका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवं प्रदेश सभा सार्वजनिक लेखा समिति सभापति डिल्ली चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश मामिला तथा कानून समिति सभापति दामा शर्मा, प्रदेश सदस्यहरु इन्द्रजीत चौधरी, अमरबहादुर डाँगी, रेवतीरमण शर्मा, अर्जुनकुमार श्रेष्ठ र धमकली चौधरी, जिल्ला समन्वय समितीका उप प्रमुख श्रीधर पौडेल , नेकपाका कार्यदल सदस्यद्वय टीकाराम खड्का र तुलसीराम पुन ‘सुवास’, नेकाका सचिव शंकरप्रसाद डाँगी र क्षेत्रीय सभापति भूपबहादुर डाँगी, राजमोका अध्यक्ष गणेश आचार्य, नागरिक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठलगायतले प्रदेश राजधानी सवैलाई पायक पर्ने स्थानमा राख्नुपर्ने सुझाव दिएका थिए ।

संघका पूर्व अध्यक्षहरु माधवप्रसाद शर्मा, रामदयाल गुप्ता, मधुसूदन वैद्य, भरत बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भुपेन्द्र सुवेदी, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष नरेन्द्र केसीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचि नरेश कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*