Home / Feature Breaking news / तुलसीपुर उपमहानगरमा “स्मार्ट छोरी”

तुलसीपुर उपमहानगरमा “स्मार्ट छोरी”

तुलसीपुर, ६ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौरमा रहेको गुरुजजुर माविको चौरभरी लाइनमा लागेर किशोरीहरु उभिएका थिए । १४ देखि १६ वर्ष उमेरका किशोरीहरुले आफुमाथि आपद आइपर्दा कसरी जोगिने भन्ने वारेमा विभिन्न तरिकाहरु सिकिरहेका थिए । “पछाडिबाट कसैले च्याप्प समात्न आयो भने हातको जोर्नीमा समात्ने” प्रशिक्षक निरज न्यौपानेले उनीहरुलाई विभिन्न उपाय सिकाइरहेका थिए । “मानसिक रुपमा घटनाको सामना गर्न सक्छु भन्ने सोच राख्नुहोला” उनले उपाय सुझाए । उनले सिकाइरहदा किशोरीहरु निकै सजगताका साथमा शरिर चलायमान वनाइरहेका थिए ।

“निकै टाढा जंगलबाट विद्यालय आउनुपर्दा डरलाग्थ्यो तर यो तालिम पश्चात केही आत्मविश्वास पलाएको छ ” ९ कक्षामा पढ्ने सुनिता केसीले वताइन् । हरेक दिन २ घण्टा हिडेर विद्यालय आउने केसीले अरुलाई पनि यस्तो सीपको वारेमा सिकाउने जानकारी दिइन् ।

यस्तै कक्षा ९ मै पढ्ने सविना डाँगीले सानो सानो कुरामा हुने गरेको तनाव कसरी व्यवस्थापन गर्ने भन्ने वारेमा जानकारी पाएको वताइन् । “साथीहरुले या घरमा बाआमाले केही भन्दा सानो सानो कुरामा पनि तनाव हुन्थ्यो अव त्यसलाई कसरी कम गर्ने भन्ने वारेमा जानकारी पाइयो ” डाँगीले भनिन् ।

महिला हिंसा र वलत्कारका घटनाबाट कसरी जोगिने भनेर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको प्रतिरक्षाका लागि स्मार्ट छोरी कार्यक्रम अगाडि वढाएको छ । “छोरीहरुलाई जटिल अवस्थामा कसरी प्रतिरक्षा गरेर उम्कने भन्ने वारेमा सिकाइएको छ ” उपप्रमुख माया शर्माले वताइन् । तुलसीपुर उपमहानगरका विभिन्न विद्यालयमा सञ्चालन गर्न लागिएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, पोषण, नेतृत्व, सुरक्षाका साथै वालअधिकारका वारेमा समेत जानकारी गराइने उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले वताए । दाहालका अनुसार हरेक विद्यालयमा २ दिन विभिन्न विषयमा अभिमुखिकरणका साथै शारिरीक प्रतिरक्षा तालिम समेत दिइने छ ।
महाशाख प्रमुख दाहालले विभिन्न विद्यालयमा गएर किशोरीहरुलाई स्मार्ट छोरीका वारेमा तालिम मात्रै नदिएर उनीहरुलाई नै प्रशिक्षक वनाउने योजनामा उपमहानगरपालिकाले काम अगाडि वढाएको जानकारी दिए । “किशोरीहरुमा आत्मविश्वास वढाउनका लागि यो तालिम निकै उपयोगी हुनेछ” उनले वताए ।

कार्यक्रममा प्रतिरक्षा तालिम दिदै प्रशिक्षक निरज न्यौपानेले सामान्य उपाय लगाएपनि ठूला भन्दा ठूला जोखिमबाट मुक्त हुन सकिने वताए । “मानसिक रुपमा जस्तो सुकै जोखिम पनि सामना गर्न सक्छु भन्ने सोच हुनु नै विभिन्न जटिलताबाट जोगिने पहिलो उपाय हो ” न्यौपानेले वताए ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख माया शर्माले किशोरीहरुको सर्वाङ्गिण विकासका लागि तालिम निकै उपयोगी भएको वताइन् । उनले स्मार्ट छोरी कार्यक्रम मार्फत किशोरीहरुमा आत्मविश्वासको वृद्धि हुने वताइन् ।
प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले वित्तिय साक्षरताका वारेमा जानकारी दिदै आर्थिक रुपमा समृद्ध वनाउनका लागि पैसा कसरी जोगाउँने भन्ने वारेमा जानकारी हुनुपर्ने वताए ।

पत्रकार दुर्गाालाल केसीले कुनै पनि घटना सानो भनेर हेलचक्राइ गर्दा ठूला घटना निम्तिने भएकाले सामान्य घटना हुँदा पनि कानुनी उपचार खोज्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण राना, विद्यालयका प्रधानाध्यापक विष्णुकुमार आचार्य लगायतकाले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*